+
+
सन्दर्भः १ जनवरी :

टोपी दिवस किन ?

सबै पहिरनको उत्तिकै महत्व छ त्यसैले जगेर्ना गर्नुपर्छ । तर बनिसकेको पहिचानलाई यथावत राखेर अरुलाई पनि स्थापित गराउन प्रयास गर्नुपर्छ । विभिन्न जातीय र सामुदायिक टोपीहरुको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।

रामजी बलामी रामजी बलामी
२०८० पुष १६ गते ७:४५

पुस १६ गते (जनवरी १) मा ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छौं । बितेको १० वर्षमा हामीले अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर हामीले दश वर्ष पार गर्यौं । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् । जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ र सहज ढंगले त्यसलाई प्रष्ट पार्दै अघि बढ्नुपर्छ ।

सर्वप्रथमको यसको सुरुआतको विषयमा कुरा गरौं । कुनै बेला नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा बनेको टोपी ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने संकेत देखियो । नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो । तसर्थ यही भावलाई लक्षित गर्दै टोपी दिवसको सुरुवात भएको हो ।

पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस फेसबुकमा सीमित रह्यो । पहिलो वर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सीमित यो अभियानले दोश्रो वर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो ।

यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ-आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थाले । दुई वर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो । त्यसपछि सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले सडकमार्फत पनि टोपी दिवस मनाउन थाल्यो । अहिले देश विदेशका विभिन्न सहर र गाउँहरुमा आ-आफ्नै तरिकाले टोपी दिवस मनाउँदै आएका छन् ।

पछिल्लो केही वर्ष यता नेपाली टोपी युवापुस्ताको नजरमा पर्न थालेको छ । यो एकदमै सकारात्मक र खुसीको कुरा हो । टोपी दिवसमा आम नेपालीले देखाएको चासो, विद्यालयहरुको औपचारिक पोशाकमा समावेश, विभिन्न सभा समारोहको दृश्य लगायतले टोपीको बढ्दो क्रेज छर्लंग पार्छ । अचेल वैवाहिक समारोहमा सुट पाइन्ट भन्दा दौरासुरुवाल टोपी लगाउनेहरुको जमात बाक्लो छ । काठमाडौंसहित आधा दर्जन बढी विद्यालय कलेजहरुले टोपीलाई औपचारिक पोशाकमा समावेश गरेका छन् । सभा समारोह लगायतका औपचारिक कार्यक्रममा सहभागीहरुले पनि टोपीलाई गर्वका साथ लगाउने गरेका छन् । दौरा सुरुवाल त्यागेकाहरुले पनि टोपीलाई गर्वका साथ लगाएका छन् । यो भन्दा खुसीको कुरा के होला र ।

नेपालमा थुप्रै जातीय तथा सांस्कृतिक टोपीहरु प्रचलनमा छन् । त्यसका साथै थुप्रै मौसमी र फेसनेवल टोपीहरु भित्रिरहेका छन् । विशेषतः कालोटोपी, भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको छ । विगतदेखि नै विश्व समुदायले पनि यही टोपीलाई नेपाली टोपी भनेर बुझ्दै मान्दै आएका छन् ।

नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्धेश्यसहित अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाइरहँदा हामीमाथि थुप्रै प्रश्नहरु बारम्बार आउने गरेका छन् । टोपी लगाउँदैमा राष्ट्रवादी भइन्छ र ? आधुनिक युगमा पनि टोपीबाटै चिनाउन खोज्नु सही हो र ? विदेशी मितिमा नेपाली टोपी दिवस मनाउनुको के अर्थ ? स्वाङका लागि मात्रै टोपी लगाउनुको के अर्थ ? पुरुषले लगाउने टोपी महिलाले किन लगाए ? लगायतका आलोचनात्मक जिज्ञासाहरु पैदा भएका छन् ।

टोपी लगाउदैमा वा नलगाउँदैमा राष्ट्रवादी हुने, नहुने भन्ने हुँदै होइन । हो चाहिँ के भन्दा नेपाली टोपीले नेपालप्रतिको सम्मान चाहिँ बढ्छ । विश्व समुदायमाझ नेपालीपनको पहिचान दिलाउँछ । राष्ट्रवादी र राष्ट्रघाटी काम भनेको टोपी, कट्टु, धोती, चोलोले गर्ने होइन व्यक्तिको सोच र ब्यवहारले गर्ने हो ।

ढाका टोपीलाई एकल जातीय अर्थात क्षेत्री बाहुन र पहाडी समुदायको मात्रै पहिचानका रुपमा रहेको भन्दै आलोचना हुँदै आएको छ । तर वास्तवमा यो टोपी हरेक समुदायले लगाउँदै आएका छन् ।  खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ-आफ्नै सामुदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजका बेला ढाका टोपी नै लगाउने गरेका छन् । पूर्व राष्ट्रपति रामवरण यादवले कहिल्यै टोपी छुटाउनु भएन । दौरा सुरुवाल बहिस्कार गर्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोपी छुटाउनु भएन । हाल उहाँले दौरा सुरुवाल टोपीलाई ससम्मान पहिरिरहनु भएको छ । ब्राह्मण, क्षेत्री, जनजाति, मधेसी, दलित, तराई, पहाड, हिमाल सबैतिर लगाइने टोपी एकल जातीय भन्ने हो भने कुन चाहिँ पहिरन बहुजातीय त ? भन्ने प्रश्न पनि उब्जिएला नि ।

अर्को कुरा टोपीको बनोटले नै हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतविदहरुले बताउँदै आएका छन् । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा लिइन्छ । धेरैले धोती न टोपी भन्दै हाम्रो अभियानलाई ब्यंग्य गरिरहेका पनि छन् । दुबैको आ-आफ्नै महत्व छ त्यसकारण यो व्यंग्य पटक्कै सान्दर्भिक लाग्दैन किनभने टोपी शिरमा लगाउने पहिरन हुन् भने धोती शरीरमा । अर्को कुरा धोती र बख्खु मौसम र भूगोलमा आधारित पहिरन हो भने टोपी सदाबहार पहिरन हो । निम्न आर्थिक अवस्थाका नागरिकदेखि उपल्लो तहका नागरिकसम्म, घर बस्नदेखि अन्तराष्ट्रिय सभा समारोहसम्म नेपाली टोपी उपस्थिति उत्तिकै छ ।

नेपाली टोपी दिवस किन अंग्रेजी नयाँ वर्षमा मनाउन थालियो भन्ने धेरैको जिज्ञासा हुने गरेको छ । जुन स्वभाविक पनि लाग्छ ।

मान्छेको चिनारी दुई किसिमले हुन्छ । व्यक्तित्व र पहिरन । जब कोही मानिस देख्छौं, भेट्छौं लगत्तै हाम्रो ध्यान उसको व्यक्तित्व र राष्ट्रियतातर्फ जान्छ । उसले लगाएको पहिरन र बोल्ने भाषामा हाम्रो ध्यान केन्द्रित हुन्छ । व्यक्ति चिनिनु भन्दा पनि व्यक्तिले राष्ट्र चिनाउनु ठूलो कुरा हो । विश्व समुदायमाझ उपस्थित हुँदा जो कोही व्यक्तिले आफ्नो राष्ट्रियता झल्किने पहिरन लगाउनुको खास कारण पनि यही नै हो । संयुक्त राष्टसंघलगायत विश्वका विभिन्न मञ्चहरुमा विभिन्न देशका प्रतिनिधिहरुले लगाउने पहिरन यसैको उदाहरण हुन् । नेपालका तर्फबाट सामेल हुने अधिकारीहरुले पनि दौरा सुरुवाल, सारी चोलो लगाएका हुन्छन् । दौरा सुरुवाल नलगाउँदा पनि टोपी लगाएका हुन्छन् । किनभने विश्वमञ्चमा नेपाललाई चिनाउने भनेकै नेपाली टोपीले हो । विशेषगरी ढाकाटोपी र भादगाउँले टोपीलाई नेपाली टोपीका रुपमा विश्व समुदायले चिन्दै आएका छन् । के टोपीले जति अरु कुनै पहिरनले नेपालीलाई चिनाउँछ ?

मेरो आशय अरु पहिरनप्रति घृणाभाव होइन । सबै पहिरनको उत्तिकै महत्व छ त्यसैले जगेर्ना गर्नुपर्छ । तर बनिसकेको पहिचानलाई यथावत राखेर अरुलाई पनि स्थापित गराउन प्रयास गर्नुपर्छ । विभिन्न जातीय र सामुदायिक टोपीहरुको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।

टोपी अभियानसँगै उठेको अर्को सवाल हो– ‘छोरीले टोपी लगाउन हुने कि नहुने ?’ । हुन त पहिलेदेखि नै टोपी पुरुषले मात्रै लगाउँदै आएको पहिरन हो । तर समानता र स्वतन्त्रताको कुरा गरिरहँदा महिलाले टोपी लगाउन हुने कि नहुने भनेर संकुचित सोच राख्नु सान्दर्भिक देखिदैन । सर्ट, पाइन्ट, मोटरबाइक, क्याप पनि पहिले पुरुषले मात्रै लगाउथे/चलाउथे तर पछिल्लो समय यी उत्पादनहरु कसरी महिलामैत्री बने त ? पहिरन भन्ने कुरा चलनचल्तीले निर्धारण गर्ने कुरा हुन् । अर्को कुरा महिलाको रुचि अनुसारका टोपी पनि त उत्पादन गर्न सकिन्छ । कुनै पनि कुरामा बानी नपर्दासम्म मात्र हो बानी परेपछि सबै कुरा सहज हुँदै जान्छ । अर्को कुरा नेपाली पहिचानको प्रवर्द्धन गर्ने कुरामा महिला र पुरुष भनेर संकुचित सोच राख्न हुँदैन ।

यसै सन्दर्भमा एउटा ऐतिहासिक प्रसंग पनि जोड्नु उपयुक्त हुन्छ । भनिन्छ, त्यतिबेला जंग बहादुर राणाकी बहिनी डम्बर कुमारीले नेपाली टोपीको डिजाइन गरेकी थिइन् । उनले रिसाएका आफ्ना दाजुलाई फकाउन कलात्मक टोपी बनाएर लगाइदिएको बताइन्छ । बंगलादेशबाट कपडा आएको भए पनि अहिलेको ढाकाटोपी नेपालमा नै पहिलो पटक बनेको इतिहास पढ्न पाइन्छ । यस मानेमा एउटी नेपाली चेलीको उत्पादन गरेको ढाका टोपी अर्को नेपाली चेलीले लगाउनु अस्वभाविक हो जस्तो लाग्दैन ।

नेपाली टोपी दिवस किन अंग्रेजी नयाँ वर्षमा मनाउन थालियो भन्ने धेरैको जिज्ञासा हुने गरेको छ । जुन स्वभाविक पनि लाग्छ ।

पछिल्लो पुस्ताले आँखा चिम्लेर पश्चिमेली संस्कृतिको सिको गर्न थालेका छन । हामीले यो दिन टोपी दिवस नमनाए पनि न्यू इयर त मनाउँछन् नै । त्यसैले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यो दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको हो । यसको मतलव अंग्रेजी नयाँ वर्षको प्रवर्द्धन गर्न वा यसको विरोधमा नेपाली टोपी दिवस मनाउन थालिएको होइन ।

वितेको १० वर्षको अनुभवले के भन्छ भने जनवरी १ अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा रुपमा चिनिन थालेका छन् । त्यसो त कहिल्यै टोपी नलगाउनेहरुले समेत यो दिन नेपाली टोपीमा सजिएर ‘ह्याप्पी नेपाली टोपी डे’ भन्दै सोसल मिडियामा फोटो अप्लोड गर्न थालेका छन् । यदि यो दिन टोपी दिवस हुन्नथ्यो भने ‘ह्याप्पी न्यू इयर’ भन्दै घुमफिरका अरु नै कुनै फोटो अप्लोड हुन्थे होला सायद । यो अभियन्ताहरुका लागि मात्रै होइन समग्र नेपाल र नेपालीको गर्वको कुरा हो । यसले एकातिर नयाँ पुस्तालाई नेपाली टोपी चिनाउने अवसर दिलाएको छ भने अर्कोतिर नेपाली पहिचानको जगेर्ना पनि भएको छ ।

नेपाली टोपी दिवसको तात्पर्य झट्ट हेर्दा पहिचानका कुरा जस्तो मात्रै लागे पनि टोपीको प्रवर्द्धन हुनु भनेको आर्थिक विकासको एउटा पाटो पनि हो । नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न सके यसलाई निर्यात गरेर आम्दानी गर्न सकिन्छ । नेपाल आउने पर्यटकले नेपालको चिनोस्वरुप टोपी किनेर लैजाने छन् । नेपाली सामान निर्यात हुनु भनेको कुनै एउटा जाति र समुदायलाई मात्रै फाइदा हुने होइन । टोपी दिवससँगै टोपीको प्रवर्दधन पश्चात खस्किएको टोपीको व्यापार समेत उकालो लागेको समाचारहरु हरेक वर्ष सार्वजनिक भइरहेका छन् ।

टोपीको इतिहासको कुरा गर्दा यसको सम्बन्ध कैलाश पर्वतसँग पनि जोडिन्छ । इतिहासकार कमलमणि दीक्षितको एक आलेखमा उल्लेख भए अनुसार कवि मोतीराम भट्टले लगाए जस्तो कार्चोपी टोपी टर्कीबाट नेपाल भित्रिएको हुनसक्ने आंकलन गरिएको छ । यो टोपी राणाकालमा सुब्बा वा सो भन्दा माथिल्लो दर्जाका अधिकारीले मात्रै लगाउन पाउँथे । कतिपयले भने मुसलमान समुदायको प्रवेशसँगै नेपाली टोपीको उदय भएको पनि बताउने गरेका छन् । कतिपयले भने उपत्यकाका नेवार समुदायले टोपी बनाउने धागो ‘धाका’ ढाका र ‘टोप्ली’ टोपीबाट ढाकाटोपी हुन पुगेको पनि बताउने गरेका छन् । अतः नेपाली टोपीको साइ्नो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

कतै टोपी लगाइदिएर त कतै आफ्नो टोपी फुकालेर एकअर्कालाई सम्मान गर्ने हाम्रो परम्परागत सांस्कृतिक चलन रहि आएको छ । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?