+
+

तथ्यांक कार्यालयको निष्कर्ष : शहरको जनसंख्या २७ प्रतिशत मात्र

अच्युत पुरी अच्युत पुरी
२०८० पुष १७ गते २०:०१

१७ पुस, काठमाडौं । सरकारले राजनीतिक रुपमा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका घोषणा गरेका क्षेत्र भित्र पनि ठूलो जनसंख्या अझै पनि ग्रामिण परिवेश र शहरोन्मुख अवस्थामा मात्र रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार कुल जनसंख्याको २७ प्रतिशत जनसंख्यामात्र अर्धघना, घना र शहरी केन्द्रमा बस्ने देखिएको छ । प्रशासनिक रुपमा विभाजित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई शहरी क्षेत्रका रुपमा मानिन्छ ।

२०७८ सालको जनगणनाले महानगर, उपमहानगर र नगरपालिकाभित्र ६६.१७ प्रतिशत र गाउँपालिकामा ३३.८३ प्रतिशत मानिस बस्ने देखाएको छ । यसले ६६.१७ प्रतिशत मानिस शहरमा बस्छन् भन्ने भाष्य बनेको थियो । तर, यसले वास्तविक शहर र गाउँमा बस्ने जनसंख्याको उचित प्रतिविम्बित गर्न नसकेको भन्दै कार्यालयले शहरीकरणलाई पुनः परिभाषित गरेको छ । सोहीआधारमा प्रतिवेदन सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिए ।

अर्धशहरी र शहरोन्मुख नगरपालिकाका धेरै मानिस ग्रामिण परिवेशमा बस्ने र यो शहरको परिभाषा भित्र नपर्ने भन्दै कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी स्थानीयकरण र पुनः परिभाषित गरिएको उनले जानकारी दिए । यसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत कार्यालयको छ ।

नतिजाले के देखायो ?

ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अनुसार देशभर ‘ज्यादै न्यून जनघनत्व’को ग्रामिण क्षेत्रमा ६ लाख ८७ हजार ९२२ जना मानिस बस्छन् । यो २.३८ प्रतिशत हो । ‘न्यून जनघनत्व’को ग्रामिण क्षेत्रमा ८६ लाख २९ हजार ३६९ जना मानिस बस्छन् । यो कुल जनसंख्याको २९.८३ प्रतिशत हो । ‘ग्रामिण क्षेत्र’मा २ लाख ८३ हजार १०२ जना मानिस बस्छन् । यो ०.९८ प्रतिशत हो । ‘शहरोन्मुख क्षेत्र’मा ३९.७४ प्रतिशत अर्थातः १ करोड १४ लाख ९६ हजार ३७५ जना मानिस बस्छन् । यस प्रकार ग्रामिण र शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत ७२.९३ प्रतिशत रहेको छ ।

अर्धघना, घना शहरी र शहरी केन्द्रमा क्रमशः ३.४१, ६.८१ र १६.८४ प्रतिशत जनसंख्या बसोबास गर्ने अध्ययनले देखाएको छ । यस प्रकार नेपालको शहरी क्षेत्रमा २७ प्रतिशत मात्र जनसंख्याको बसोबास गर्ने पाइएको छ ।

नगरपालिकाभित्र धेरै ग्रामिण र शहरोन्मुख परिवेश

२०७८ सालको जनगणनाको नतिजा अनुसार नगरपालिका भित्र १२ सय ८५ वडा शहरोन्मुख परिवेश रहेको क्षेत्रमा छन् । १२ सय ४४ वडा ग्रामिण क्षेत्रमा छन् । ५ सय ९१ वडा मात्र शहरी क्षेत्रमा रहेका छन् । यो प्रतिशतका हिसावले क्रमशः ४६, २५.४ र २८.४ प्रतिशत हो । यसका आधारमा नगरपालिकालाई राजनीतिक रुपमा शहर भनिए पनि जनसंख्याको ठूलो हिस्सा शहरोन्मुख वा ग्रामिण परिवेशमै रहेको कार्यालयको विश्लेषण छ ।

उपमहानगरपालिका भित्र ५३ प्रतिशत मात्र जनसंख्या शहरमा र ३९ प्रतिशत जनसंख्या शहरोन्मुख विशेषतामा रहेको पाइएको छ । महानगरपालिका भित्र ८०.७ प्रतिशत शहरी, १७ प्रतिशत जनसंख्या शहरोन्मुख र २.३ प्रतिशत परिवेश ग्रामिण नै रहेको समेत अध्ययनले देखाएको छ । यो तुलनाबाट नगरपालिका भए पनि बसोबास क्षेत्रको मूख्य विशेषता अझै पनि शहरोन्मुख र ग्रामिण परिवेश मै रहेको देखाएको छ ।

गाउँपालिकाभित्र पनि छन् शहर

सरकारले राजनीतिक रुपमा गाउँ भनेर तोकेका गाउँपालिकाभित्र १३९ वडा (५.९ प्रतिशत) मा भने शहर पर्छ । ६६४ वडा (३६.१ प्रतिशत) क्षेत्र शहरोन्मुख र २४१२ वडा (५८ प्रतिशत)मा भने ग्रामिण जनसंख्याको बसोबास रहेको छ । शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिका भित्र वडाको संख्या धेरै (३६८५) छ । यसमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै जनसंख्या रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७०/७१ सम्म नेपालमा नगरपालिकाको संख्या ५८ रहेकोमा राज्य पुनर्संरचनापछि नगरपालिका थप गरी अहिले २९३ वटा बन्न पुग्यो । यसले नगरवासीको जनसंख्या १७ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुग्यो । तर, यसभित्र कति जनसंख्या ग्रामिण परिवेशमै बसोबास छ भन्ने तथ्यांक यसअघि थिएन । ग्रामिण परिवेश रहेका नगरपालिकामा जनघनत्व कम रहेको र उनीहरु कृषिकर्ममा निर्भर रहेको समेत अध्ययनको निष्कर्ष छ ।

जिल्लागत आधारमा के देखियो ?

जिल्लागत हिसावले काठमाडौं जिल्लामा सबैभन्दा धेरै ९३.५१ प्रतिशत जनसंख्या शहरमा बसोबास गर्छन् । शहरी जनसंख्या सबैभन्दा कम भएका जिल्लामा संखुवासभा, तेह्रथुम, मनाङ र मुस्ताङ, रुकुम पूर्व, डोल्पा र हुम्ला रहेका छन् ।

प्रदेशगत हिसावले धेरै शहरी जनसंख्या मधेष प्रदेशका रहेको छ । जहाँ ९७१ वडाहरु शहरोन्मुख रहेका छन् । बागमती प्रदेशमा ४४९ वटा वडाहरु शहरी रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका ७५ वडा मात्र शहरी विशेषताका रहेको अध्ययनले देखाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?