+
+

कांग्रेस–माओवादी छलफल : राष्ट्रियसभामा एमालेलाई के गर्ने ?

एमाले उपमहासचिव भन्छन् : केही सांसदका लागि सत्तासँग मोलतोल गर्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:३२

१७ पुस, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पछिल्ला दिनमा भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर सम्वादमा छन् ।

शीर्ष नेताहरुले आफूहरुबीच भएको छलफल शान्ति प्रक्रियाका बाँकी विषय कसरी टुंग्याउने भनेर केन्द्रित भएको बताएका छन् ।

तर तीन नेताको सम्वाद यतिमा मात्र सीमित छैन । पछिल्लो भेटहरुमा राष्ट्रिय सभाको आसन्न निर्वाचनका विषयमा पनि छलफल भएको नेताहरु बताउँछन् । छलफलहरुमा प्रमुख प्रतिपक्षी एमाले नेताहरुले मिलेर जाने होइन भन्ने प्रश्न गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा पनि त्यसमा धेरै नकारात्मक छैनन् ।

सत्ता गठबन्धनले मिलेर चुनाव लड्दा ११ माघमा हुने राष्ट्रियसभाको १९ वटै सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ । यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।

तर प्रधानमन्त्री प्रचण्ड एमालेलाई धेरै पर धकेल्ने पक्षमा छैनन् । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन साथ खोजेका उनी एमालेलाई समेटेर जान सकारात्मक छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे गत हप्ता भएको छलफलमा उनले सबै विषयमा सहमति गरेर अघि बढ्न आफू तयार रहेको बताएका थिए ।

नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेलाई साथ लिएर जाऊँ भन्दा कांगेस सभापति देउवाले नाइ भन्ने अवस्था छैन । किनकी उनी प्रचण्डलाई चिढ्याउन चाहन्नन् ।

त्यसैले कांग्रेस र माओवादीको शीर्ष तहमा राष्ट्रियसभामा एमालेलाई भाग दिने कि नदिने भनेर छलफल सुरुवात भएको स्रोतको दाबी छ । त्यही कारण सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रियसभाको सिट बाँडफाँट हुन सकेको छैन ।

मंगलबार कांग्रेस र माओवादीका दुबै दलका शीर्ष नेताहरुबीच राष्ट्रियसभा निर्वाचनबारे नै छलफल भएको थियो । तर सिट बाँडफाटँबारे कुनै निर्णय भएन ।

बैठकमा राष्ट्रियसभामा रिक्त हुन लागेका सिट र प्रदेशअनुुसार दलहरुको मतभारबारे छलफल भयो र अरु दलहरुलाई कसरी समेट्ने भनेर थप छलफल गर्ने समझदारी गरेर नेताहरु उठेका छन् । ‘सत्ता गठबन्धनमा आवद्ध चार दलबाहेक अरु दल मात्र होइन, एमालेलाई के गर्ने भन्ने पनि छलफलको एजेण्डा छ’, स्रोतले भन्यो ।

यसबारे शीर्ष नेताहरुले थप छलफल गरेपछि मात्र सिट बाँडफाँट हुने एक नेताले बताए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने केही सांसदका लागि सत्तासँग मोलतोल नगर्ने बताउँछन् । एमालेले राष्ट्रियसभामा मिलेर जानुपर्छ भनेर कुनै प्रस्ताव नराखेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘हामीले कुनै आग्रह गरेका छैनौं, गर्दैनौं पनि ।’ जबजब कांग्रेससँग केही मिल्दैन, त्यो बेला माओवादी केन्द्रका नेताहरुले यस्ता गलत प्रचार गर्ने गरेको उनको आरोप छ ।

सिटौलालाई माओवादीको समर्थन !

सत्तारुढ दलरुबीच सिट भागवण्डा नभएपनि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने पक्का जस्तै भएको छ ।

झापा–३ बाट प्रतिनिधिसभा निर्वाचन हारेका सिटौला राष्ट्रियसभामा आएर अध्यक्ष हुन चाहन्छन् । कांग्रेसमा कोशी प्रदेशको अन्यतर्फ रिक्त हुने सिटमा उम्मेदवार बन्न चाहने नेताहरुको लामो लिस्ट छ । प्रतिनिधिसभामा टिकट नपाएका डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुले पनि राष्ट्रियसभामा जान चाहेका छन् ।

तर कांग्रेस सभापति देउवाले नै सिटौलालाई अघि बढाउन संकेत गरेका छन् । आफूलाई पार्टी सभापति बनाउन साथ दिएका पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभामा पु¥याउने मात्र होइन, अध्यक्ष बनाएर गुन तिर्ने देउवाको चाहना छ ।

नेताहरुका अनुसार पछिल्ला छलफलहरुमा त माओवादी नेताहरुले समेत सिटौलालाई समर्थन देखाउन थालेका छन् ।

एक नेताका अनुसार सिटौलालाई अघि सारे राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई छाड्नसक्ने, नभए आफूहरुको पनि दाबी रहने माओवादी नेताहरुले बताउन थालेका छन् ।

‘प्रधानमन्त्री छाडेपछि हामीसँग कुनै पनि संवैधानिक पद रहन्न’ माओवादी नेताहरुले भनेका छन्, ‘कृष्ण सिटौलाबाहेक अरु आउने हो भने हाम्रो दाबी रहन्छ ।’

निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?