+
+

बलिउड फिल्ममा कस्तो पर्नेछ एआईको असर ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:४५

काठमाडौं । जति छिटो समय परिवर्तन हुँदैछ, विज्ञान र प्रविधि पनि त्यही गतिमा परिवर्तन भइरहेका छन् । फिल्ममा पनि नयाँ प्रविधिको प्रयोग भइरहेको छ । परिवर्तनशील समयसँगै भारतीय फिल्म उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगको चर्चा छ तर बलिउडमा एआईको सहि प्रयोग कहाँनेर हुन्छ ?

एआईले हलिउडमा हलचल मच्चाएको छ । पटकथा लेखकले त्यहाँ लामो हडताल गरे तर हजारौं मानिस काम गर्ने भारतीय फिल्म उद्योगमा यो मुद्दाको धेरै चर्चा भएन । केही बलिउड निर्माता अहिले एआई सिर्जित जोखिमलाई न्यूनीकरण गर्दैछन्, जबकी अन्य केहीले यसलाई गम्भीरताका साथ विचार गर्न आवश्यक ठान्छन् ।

प्रख्यात निर्देशक शेखर कपुरको डेब्यू फिल्म मासूम (१९८३)मा एक महिलाको कथा चित्रण गरिएको छ जसले विवाहेत्तर सम्बन्धबाट जन्मेको आफ्नो पतिको बच्चालाई स्वीकार गर्छिन् ।

यस फिल्मले बदनामी र सामाजिक बन्धनसँग जोडिएका जटिलतालाई गहिरोरुपमा प्रस्तुत गर्छ । तर, यो संवेदनाले भरिपूर्ण फिल्मको श्रृंखलाको लागि शेखर कपुरले एआई टुल च्याटजीपीटी प्रयोग गर्ने निर्णय गरे । निर्देशक कपुर भन्छन्, ‘एआई उपकरणले कथामा प्रस्तुत नैतिक जटिलतालाई कसरी बुझ्न सक्यो भनेर म छक्क छु ।’

उनी भन्छन्, ‘एआईले तयार पारेको स्क्रिप्टले कसरी बच्चा हुर्कन्छ र बुबाप्रतिको आक्रोश पोख्छ र यहाँ पहिलो फिल्मबाट नै सम्बन्धमा परिवर्तन आएको देखिन्छ ।’ उनी एआईसँगको भविष्य निकै अराजक हुने देख्छन् किनभने पटकथा लेखकले त्यसलाई लेख्न केही साता लगाउँछ, मेसिन लर्निङ प्रणालीले केही सेकेण्डमै त्यसलाई पुरा गर्छ ।

एआईबारे कुराकानी कहिलेदेखि सुरु हुन्छ ?

सन् २०१९ मा जारी गरिएको डेलोइटको प्रतिवेदन अनुसार हरेक वर्ष निर्माण हुने फिल्मको हिसाबले भारतमा विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग छ जहाँ करिब साढे आठ लाख मानिस काम गर्छन् ।

एआई उपकरण अझै उन्नत हुँदै जाँदा, रश्मिका मन्दाना र आलिया भट्टजस्ता लोकप्रिय भारतीय स्टारको डीप–फेक भिडियोले इन्टरनेट भरिएको छ । तिनको प्रयोगले आर्थिक र नैतिक दुवै प्रश्न उठिरहेका छन् ।

टिभी र फिल्म निर्माणमा एआईको प्रयोग यस वर्ष हलिउडमा अभिनेता र पटकथा लेखकको हडतालको मुख्य मुद्दामध्ये एक थियो, जसले हलिउडलाई धेरै महिना ठप्प पा¥यो ।

प्रोड्युसर गिल्ड अफ इन्डियाका पूर्वअध्यक्ष सिद्धार्थ रोय कपुर भन्छन्, ‘अहिलेसम्म भारतमा एआईको प्रयोगको बारेमा कुनै व्यवस्थित कुराकानी सुरु भएको छैन । अब समय आएको छ किनभने एआई उपकरण स्मार्ट हुँदै गएका छन् ।’

उनी भन्छन्, ‘हामी आज जहाँ छौं, एआईसँग अबको तीन देखि छ महिनामा अवस्था पूर्णतया फरक हुनेछ ।’

एआईको मामिलामा भारत कहाँ छ ?

रेड चिलीजमा भीएफएक्स चलाउने ह्यारी हिंगोरानी र केतन यादवलाई लाग्छ, एआई अझै त्यो ठाउँबाट टाढा छ जहाँ बटन थिच्दा सबै तयार हुन्छ । रेड चिलीज भीएफएक्स बलिउड सुपरस्टार शाहरुख खानले दुई दशकअघि सुरु गरेका थिए ।

सिद्धार्थ रोय कपुर भन्छन्– अब बलिउडमा एआईबारे चर्चा सुरु गर्नु जरुरी भैसकेको छ ।

यो वर्ष रेड चिलीज स्टुडियोले शाहरुखका दुई फिल्म ‘जवान’ र ‘पठान’को भिजुअल इफेक्टको जिम्मेवारी लिएको थियो । यी दुबै फिल्म बक्स अफिसमा सर्वाधिक हिट भएका थिए ।

यादव र हिंगोरानी भन्छन्, ‘उनीहरूले आइडियाका लागि एआई उपकरण प्रयोग गरिरहेका छन्, तर उनीहरूलाई लाग्छ कि फोरके रिजोल्युसनमा मोशन पिक्चरसँग प्रतिस्पर्धा गर्न अझै धेरै टाढा छ ।’

निर्देशक गुहान सेनियाप्पन यो विचारलाई चुनौती दिने अभियानमा छन् । उनले आगामी तमिल फिल्म ‘वेपन’ निर्देशन गर्दैछन्, जुन भारतको पहिलो फिचर फिल्म हुन गइरहेको छ जसमा साढे दुई मिनेटको सिक्वेन्स एआईसँग पूर्ण रूपमा बनाइनेछ ।

उनी भन्छन्, ‘हामी एउटा सुपरहुमन क्यारेक्टरको कथामा काम गरिरहेका छौं जसमा धेरै एक्सन सिक्वेन्स छन् र म कथालाई नयाँ ढंगले देखाउन चाहन्छु ।’ यसको मुख्य अभिनेता सत्यराजको तस्वीरलाई उनको युवा संस्करण सिर्जना गर्न प्रयोग गरिएको छ ।

‘लाइभ एक्शनको लागि एआई प्रयोग गर्नु सस्तो विकल्प हो’ सेनियाप्पन भन्छन् ।

एआई जेनेरेटेड विज्ञापन अभियान

बलिउड स्टारमध्ये, शाहरुख खान सन् २०२१ मा एआई परीक्षण गर्ने पहिलो स्टारमध्ये एक थिए । उनले आफ्नो अनुहार र आवाज एक विज्ञापन अभियानमा दिए । यसमा डीप-फेक टेक्नोलोजी प्रयोग गरिएको थियो ।

यो अभियान क्याडबरीले सुरु गरेको हो । यसमा साना व्यवसायीलाई कोरोना महामारीको समयमा आफ्नो स्टोरको प्रवद्र्धन गर्न र बिक्री बढाउन शाहरुख खानको आवाज र तस्वीर प्रयोग गर्ने सुविधा दिइएको थियो ।

यो अभियानले मात्रै भारतमा ३ लाख नयाँ विज्ञापन उत्पादन गरेको यो अभियानको पछाडि रहेको कम्पनी ओग्लिभी इन्डियाका सुकेश नायक बताउँछन् ।

एजेन्सीले शाहरुखको टोलीसँग नियन्त्रित रूपमा काम गर्‍यो र चयन गरिएका व्यवसायलाई मात्र उनीहरूको अभियान प्रयोग गर्न दर्ता गर्न अनुमति दिइने सुनिश्चित गरियो ।

भारतमा अझै पनि एआईको प्रयोगको सम्बन्धमा कुनै खास नियम वा कानून छैन ।

यसवर्ष, बलिउड अभिनेता अनिल कपुरले आफ्नो समानता, तस्वीर, नाम र आवाज र अन्य चीजको सुरक्षाको लागि कानूनी लडाई जितेका छन् । कपुरले यो निर्णयलाई प्रगतिशील र अन्य कलाकारका लागि पनि राम्रो भएको बताए ।

उनले भेराइटी म्यागजिनसँग भने, ‘जहाँसम्म मेरो तस्वीर, आवाज, मोर्फिङ, जीआइएफ र गहिरो फेकको मुद्दा छ, यदि यस्तो भयो भने म सीधै अदालतको आदेश र प्रतिबन्ध पठाउन सक्छु र उनीहरूले त्यो सामग्री हटाउनुपर्छ ।’

मान्छे र एआईमा कुन उत्कृष्ट ?

तर, एआईको अर्को पक्ष पनि छ ।

केही विशेषज्ञ विश्वास गर्छन् कि एआईले फिल्म निर्माणका केही पक्षलाई सजिलो र छिटो बनाउन सक्छ, यद्यपि अन्यले चाहिँ एआईका आफ्नै जोखिम रहेको बताउँछन् ।

रेड चिलीज भीएफएक्सकी शिल्पा हिंगोरानी केही प्रक्रिया सरल बनाउन एआईको सम्भाव्यताप्रति उत्साहित छिन् । उनी भन्छिन्- ग्राहकको लागि नमूना उत्पादन गर्न फ्रेम अनुसार काम गर्न धेरै समय लाग्छ ।

केतन यादव भन्छन्, ‘समय घटाउने कुनै पनि तरिकाले पक्कै पनि काम सहज हुन्छ र समय कम हुन्छ ।’

आफ्नो फिल्म ‘वेपन’ मा एआईमा धेरै निर्भरताको बाबजुद, सेनियाप्पन भन्छन्, ‘यदि हामीसँग बजेट र समय भएको भए, हामी लाइभ एक्शनमा जाने थियौं ।’

उनी भन्छन्, ‘एआई धेरै सुन्दर छ तर यो लाइभ एक्सन वा एनिमेसन जस्तो होइन किनभने यसमा न त मानिसले अभिनय गर्छ न त स्केच बनाउँछ ।’

शेखर कपुरले च्याटजिपिटसँगको प्रारम्भिक आकर्षणपछि त्यस्तै महसुस गरे । उनी भन्छन्, ‘मैले आफैलाई सोधें एआई र ममध्ये को स्मार्ट हो र मैले जवाफ पाएँ – म आफै ।

उनी भन्छन्, ‘एआईको आफ्नै कुनै नैतिकता छैन, यसले हामीले दिने डेटा प्रयोग गर्छ । यसले कुनै रहस्य सिर्जना गर्न सक्दैन, न त डर वा माया महसुस गर्न सक्छ ।’ तर, यसले फिल्म निर्माणको सम्पूर्ण प्रक्रियालाई सहज बनाउन सकिने उनको भनाइ छ ।

उनका अनुसार यदि सबैसँग यस्तो उपकरण हुन्थ्यो भने पदानुक्रम समाप्त हुनेछ र सबैसँग कथा सुनाउने क्षमता हुनेछ ।

बीबीसीबाट अनूदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?