+
+

‘लण्डन टु पेरिस’को छायांकन रोकिंदा साम्राज्ञीको कमब्याकमा अन्योल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १३:२२

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहका लागि सन् २०२३ मिश्रित रह्यो । ‘नांगो गाउँ’बाहेक उनी अभिनित दुई फिल्म ‘ह्यारीकी प्यारी’ र ‘तिम्रो मेरो साथ’ चलेनन् । तर पनि साम्राज्ञीलाई नयाँ वर्ष २०२४ राम्रो हुने आशा छ ।

नयाँ वर्ष २०२४ को शुभकामना दिन हट् तस्वीर सार्वजनिक गर्दै साम्राज्ञीले लेखेकी छन्, ‘यो राम्रो वर्ष हुनेछ ।’

बितेको वर्ष साम्राज्ञीका लागि निकै चुनौतीपूर्ण रह्यो । उनले काम गरिरहेको ‘लण्डन टु पेरिस’को छायांकन रोकियो । निर्देशक र प्राविधिकले फ्रान्सको भिसा नपाउँदा सुटिङ अघि बढेन ।

७५ प्रतिशत छायांकन भइसकेको यो फिल्मको बाँकी भाग पेरिसमा गर्ने योजना थियो । निर्देशक घनश्याम लामिछानेले माघको अन्त्यबाट बाँकी छायांकन पेरिसमै हुने बताएका छन् । यसका लागि भिसा प्रक्रिया पुनः थाल्ने उनको भनाइ छ ।

सोही वर्ष साम्राज्ञीलाई लिएर निर्देशक मिलन चाम्सले एक फिल्मको घोषणा गरे । निर्देशक प्रवेश पौडेलले पनि आना शर्मा र साम्राज्ञीलाई लिएर फिल्म बनाउने बताए । साम्राज्ञीको अर्को एक फिल्म इटालीमा छायांकन हुने चर्चा थियो । यी तीनै फिल्मको काम अघि बढ्न सकेन ।

एकातिर बक्स अफिस नतिजा, अर्कोतिर बन्दै गरेको फिल्म रोकिनु र घोषित फिल्म पनि अघि नबढ्नुको मनोवैज्ञानिक दबाबमा साम्राज्ञीको सन् २०२३ गुज्रियो । तर पनि उनले सामाजिक सञ्जालमार्फत दर्शकसँग अन्तरक्रिया गर्ने र फोटो सेयर गर्ने कार्यलाई निरन्तरता दिइरहेकी थिइन् ।

सोही मेसोमा साम्राज्ञी नयाँ वर्षप्रति आशावादी छिन् । उनी लेख्छिन्, ‘यो वर्ष पक्कै पनि राम्रो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?