+
+

एमालेलाई डा. शेखरको व्यंग्य : केन्द्र र सबै प्रदेश सरकारमा आए भए भैगो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ९:३६

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा सहमति गर्ने सत्ता गठबन्धन र एमालेको प्रयासमा प्रश्न उठाएका छन् ।

हिजो कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन धरापमा पर्यो भन्नेहरु नै राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको उनले बताएका छन् ।

यसको सुरुवात एमालेलाई तीन संसदीय समितिको सभापति दिएर सुरु भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कारण प्रष्ट छ, सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विधिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’

उनले एमालेमाथि पनि प्रश्न गरेका छन् । एकदुई सिटका लागि जे पनि मान्ने हो भने केन्द्र र सबै प्रदेश सरकारमा आउन एमालेलाई आग्रह गरेका छन् । कोइरालाले लेखेका छन्, ‘किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको मनोनयन दर्ताको दिन नजिकिंदै गर्दा सत्ता गठबन्धनका दलहरु सिट बाँडफाँटको गृहकार्यमा छन् ।

२० फागुनमा कार्यकाल सकिन लागेका २० सदस्यहरुमध्ये राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यही पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

राष्ट्रिय सभामा नेकपा एमालेले पनि भाग खोजेपछि सत्ता गठबन्धनभित्र कति सिट दिने भन्ने छलफल जारी छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शून्य नबनाउन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका थिए ।

एमालेलाई राष्ट्रिय सभामा सिट छुट्याउन सत्ता गठबन्धन सकारात्मक देखिए पनि कति सिट दिने भन्ने टुंगो लागिसकेको छैन । सिट बाँडफाँटको टुंगो बिहीबारको गठबन्धन बैठकले लगाउने नेताहरुले बताएका छन् । यस्तो स्थितिमा कोइरालाले प्रश्न गरेका हुन् ।

कोइरालाले टीआरसी विधेयकमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र मानवअधिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको अधिनमा रहेका द्वन्द्वपीडितहरुले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक टुंग्याउनुपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?