+
+

विश्वकप र लिग टु शृंखलामा केन्द्रित क्रिकेट क्यालेण्डर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष १९ गते १८:२२

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार वर्ष २०२४ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्यालेण्डर सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रियतर्फ नेपालले आफैं आयोजना गर्ने, विदेश भ्रमण गर्ने प्रतियोगिता र सिरिजहरु गरेर करिब ३०-३५ वटा प्रतियोगिता हुने क्यानका सचिव पारस खड्काले बताएका छन् ।

‘जनवरी १ देखि डिसेम्बर ३१ सम्मका लागि १२ महिनाभर अन्तर्राष्ट्रिय र राष्ट्रिय क्यालेण्डर प्रस्तुत गरेका छौं,’ क्यालेण्डर सार्वजनिक कार्यक्रममा उनले भने, ‘यसमा करिब ३०-३५ अन्तर्राष्ट्रिय प्रतियोगिता छन् ।’  उनका अनुसार यसबाहेक अन्य प्रतियोगिता लागि खुल्ला विन्डो समेत रहेको छ ।

८ वर्षपछि टी-२० विश्वकपमा छनोट भएको नेपालले २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा गएर टी-२० विश्वकप खेल्दैछ ।

यू-१९ क्रिकेट टिमले पनि ८ वर्षपछि नै यू-१९ विश्वकप खेल्दैछ । यू-१९ विश्वकप पनि नेपालले यसै वर्ष खेल्दैछ । यो प्रतियोगिता जनवरी-फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुनेछ ।

आईसीसीको नयाँ क्रिकेट साइकल अन्तर्गत हुने आईसीसी क्रिकेट विश्वकप लिग टु २०२४-२०२७ पनि यसै वर्ष सुरु हुनेछ । त्यो साइकलको पहिलो सिरिजनै नेपालमा आयोजना हुनेछ । जसमा नेदरल्याण्ड्स र नामिबिया पनि आउनेछन् ।

यसबाहेक राष्ट्रिय टिम, नेपाल ए टिम, महिला टिम र उमेर समूहको टिमले विभिन्न प्रतियोगिताहरु खेल्नेछ । जसले गर्दा २०२४ भर नै नेपाली क्रिकेटको व्यस्त खेल तालिका छ ।

यू-१९ विश्वकप खेल्न नेपाली टिम दक्षिण अफ्रिका गएपछि यो वर्षको नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुनेछ । यू-१९ को अर्को प्रतियोगिता अक्टोबरमा यू-१९ एसिया कप छ ।

क्यानको नेतृत्व आएपछि पहिलो बोर्ड बैठकले नै वार्षिक क्यालेण्डर बनाउने गरी कमिटी गठन गरेको र त्यही कमिटीले क्यालेण्डर तयार पारेको क्यानका सचिव पारसले बताए ।

लिग टु का तीन सिरिज

क्यानका क्रिकेट म्यानेजर विनोद दासले नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितालाई नै ध्यान दिएर क्यालेण्डर तयार पारेको बताए ।

‘पहिलो हाम्रो लिग टु ओडीआई साइकल छ । दोस्रो टी-२० विश्वकप र तेस्रो भनेको बाइलाटरल सिरिजहरु छन् । यसमै रहेर क्यालेण्डर तय गरिएको छ’, दासले भने, ‘त्यसमा यो वर्ष नेपालले लिग टु का तीन वटा सिरिज खेल्नेछ ।’ पहिलो सिरिज नेपालले घरेलु मैदानमै खेल्ने छ भने दुई वटा सिरिज नेपालले अन्य देशमा गएर खेल्नुपर्नेछ ।

नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु को सिरिज फेब्रुअरी १७ देखि काठमाडौंमा हुनेछ । जहाँ नेपालले दुवै टिमसँग दुई-दुई ओडीआई खेल्नेछ ।

त्यसपछि नेपालले सेप्टेम्बरमा क्यानडा गएर लिग टु खेल्ने तालिका छ । जसमा नेपाल, क्यानडा र ओमानले खेल्नेछन् । यस्तै अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्याण्डबीचको लिग सिरिज अमेरिकामा हुने तालिका छ ।

नेपालले तीनवटै लिग टु सिरिजअघि तयारी स्वरुप द्विपक्षीय तथा त्रिदेशीय सिरिजहरु खेल्ने तालिका छ ।

घरेलु मैदानमा हुने पहिलो लिग टु सिरिज अघि नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज आयोजना गर्ने छ ।

यस्तै सेप्टेम्बरमा क्यानडामा हुने लिग टु सिरिजअघि जुलाई/अगष्टमा क्यानडासँग चार खेलको ओडीआई सिरिज खेल्नेछ । यस्तै नेपाल, क्यानडा र ओमानसहित टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि नेपालले क्यानडामै खेल्नेछ ।

यस्तै अक्टोबरमा हुने लिग टु अगाडि पनि नेपालले अमेरिका र स्कटल्याण्डसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने उल्लेख छ ।

लिग टु र त्यसको लागि हुने तयारी सिरिज बाहेक पनि क्यानले अन्य अन्तर्राष्ट्रिय सिरिजहरु पनि प्रस्ताव गरेको छ । तर कुन देशसँग हुने भन्ने टुङ्गो लागिसकेको छैन ।

टी-२० विश्वकपका लागि एक महिना विदेशमा तयारी 

क्यानले टी-२० विश्वकपलाई विशेष ध्यान दिने तयारी गरेको छ । ८ वर्षपछि खेल्न लागेको टी-२० विश्वकप आगामी जुन ४ देखि ३० सम्म अमेरिका र वेष्ट इन्डिजमा हुनेछ ।

जसमा कूल २० टिम सहभागी हुनेछन् । विश्वकपको समूह विभाजन हुन बाँकी छ । यद्यपी नेपालले कम्तीमा दुई ठूला टेष्ट राष्ट्रसँग खेल्ने पक्का छ । किनभने पाँच-पाँच टिमको चार समूह हुनेछ ।

त्यसका लागि नेपालले अमेरिका/वेष्ट इन्डिजमै गएर एक महिना लामो तयारी गर्ने छ । ‘मे महिना हामीले विश्वकपका लागि भनेर छुट्याएका छौं । त्यसमा विदेशमै गएर एक महिना हाई परफरमेन्स क्याम्प हुनेछ’, पूर्व कप्तानसमेत रहेका क्यानका सचिव पारसले भने ।

टी-२० विश्वकपलाई नै केन्द्रित गरेर आगामी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले घरेलु मैदानमै नेदरल्याण्ड्स र नामिबियासँग टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने क्यालेण्डरमा उल्लेख छ ।

मार्च ६ देखि १२ सम्म हङकङमा चार देश सम्मिलित क्वाड्रागुलर टी-२० आई सिरिज गर्ने प्रस्ताव पनि रहेको सचिव पारसले जानकारी दिए ।

टी-२० विश्वकप नेपालको लागि राम्रो अवसर हुने क्रिकेट म्यानेजर दासले बताए । ‘त्यहाँ गएर हामीले राम्रो प्रदर्शन गर्न सके टेष्ट टिमलाई नेपाल बोलाउन पनि सकिन्छ । त्यसैको लागि हामीले एक महिना तयारी पनि गर्नेछौं । टी-२० क्रिकेटमा पनि केन्द्रित गरेका छौं ।’

नेपाल ए टिम बनाइने, आयरल्याण्ड ए टिमसँग सिरिज हुने

क्यानले यसवर्ष नेपाल ए टिम पनि बनाउने छ । नेपाल ए टिम बन्ने भएपछि अब सिनियर टिम र त्यसको क्याम्पमा पर्ने बाहेकका खेलाडीले पनि अवसर पाउने छन् ।

क्यानले सार्वजनिक गरेको क्यालेण्डरमा मार्च १९ देखि अप्रिल ३० सम्म आयरल्याण्डको ए टिमसँग एकदिवसीय र टी-२० सिरिज खेल्ने उल्लेख छ ।

नेपालमै हुने उक्त सिरिजमा ५ एकदिवसीय र ३ टी-२० खेल हुनेछन् ।

अबदेखि राष्ट्रिय टिमबाहेक पनि बाँकी खेलाडीहरुलाई समेटेर नेपाल ए टिम बनाइने सचिव पारसले जानकारी दिए । त्यसमा यू-१९ टिम र राष्ट्रिय टिमको बीचमा रहेका खेलाडीलाई समेटिनेछ ।

यस्तै फेब्रअरी ५ देखि मार्च २५ भित्र क्यानडासँग पनि नेपाल ए टिमको एकदिवसीय सिरिज खेल्ने प्रस्ताव छ । तर यसको निर्णय भए हुन बाँकी छ ।

क्रिकेट म्यानेजर दासले अब नेपालले विश्वकप खेल्ने भएकोले त्यसका लागि राम्रोसँग तयारी गर्न ए टिम पनि आवश्यक भएको बताए । ‘हामी विश्वकप खेल्दैछौँ । त्यसका लागि राम्रो टिम बनाउनुपर्ने भएकोले नेपाल ए टिम पनि आवश्यक छ । त्यसैले ए टिम बनाउने तयारी गरेका हौं ।’

टेष्ट राष्ट्रको ए टिमसँग खेल्ने प्रस्ताव

ओडीआई मान्यता भएको र टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले टेष्ट राष्ट्रसँग पनि खेल्ने प्रयास गर्दैछ ।

टेष्ट राष्ट्रलाई नेपालमा बोलाएर खेलाउने/विदेशमा गएर खेल्न तत्काल सम्भव नभएकाले यसवर्ष टेष्ट राष्ट्रको ए टिमसँग भए पनि खेल्नका लागि नेपालले प्रस्ताव गरेको छ । क्यान सचिव पारस खड्काले विभिन्न कारणले नेपालले टेष्ट राष्ट्रलाई बोलाउन नसकेको बताए ।

आगामी मार्च २० देखि अप्रिल ५ सम्म नेपालले बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टिमसँग टी-२० खेल्नका लागि प्रस्ताव गरेको छ । तीनवटै देशको क्रिकेट बोर्डलाई यसबारे जानकारी गराएको सचिव पारसले जानकारी दिए ।

महिला क्रिकेटलाई अवसर

२०२४ मा नेपालको महिला क्रिकेटले पनि धेरै अवसर पाउने छ । क्यानले सार्वजनिक गरेको क्यालेण्डर अनुसार महिलाको सिनियर र जुनियर गरेर यो वर्ष ७ वटा प्रतियोगिता हुने छन् । जसमा तीन प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुँदा चार प्रतियोगिता भने प्रस्तावित छ ।

आगामी फेब्रुअरी ८ देखि १९ सम्म मलेसियामा एसीसी महिला प्रिमियर कप हुँदैछ ।

आगामी सेप्टेम्बरमा एसीसी महिला एसिया कप हुनेछ । महिला एसिया कप नेपालमै हुने तय छ । युएईमा नोभेम्बरमा नेपालले आईसीसी महिला यू-१९ विश्वकप छनोट खेल्नेछ ।

यस बाहेक क्यानले अप्रिल/मे मा र डिसेम्बरमा नेपालमै महिलाको द्विपक्षीय सिरिज प्रस्ताव गरेको छ । यस्तै जुन/जुलाई र सेप्टेम्बरमा पनि महिला सिरिजको प्रस्ताव छ । तर कुन कुन टिमसँग खेल्ने तय भएको छैन ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?