+
+

राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ८:२०

२२ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो ।

प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर पुस २२ गते (आज) अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

२०७२ को संविधान जारीपछि पहिलोपल्ट ०७४ माघमा राष्ट्रिय सभा गठन भएको थियो । संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यकबाट प्रतिनिधित्व हुनेगरी ५६ जना निर्वाचनबाट चुनिएका थिए । एक महिलासहित ३ जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पुरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु विदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

फागुन २० गते ककसको कार्यकाल सकिँदैछ ?

आगामी फागुन २० गते ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहितका सदस्यहरु विदा हुँदैछन् । तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट विदा हुनेछन् ।

एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट विदा हुँदैछन् ।

यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।

नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं  (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।

यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।

बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै विदा हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?