+
+
प्रविधि :

अब काठबाट बन्नेछ स्मार्टफोनको डिस्प्ले !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:५३

काठमाडौं । धेरै खालका डिभाइसको डिस्प्लेका लागि काँच वा प्लास्टिकको प्रयोग हुने गरेको छ । तर भविष्यमा एउटा तेश्रो वस्तुको पनि यसमा प्रयोग सकिने सम्भावना देखिएको छ ।

भविष्यमा तपाइँको स्मार्टफोनको स्क्रिन अर्थात् डिस्प्ले काठबाट बनेको पदार्थले तयार हुनेछ। वैज्ञानिकहरुले एउटा पारदर्शी काठ निर्माणमा काम गरिरहेका छन् जसको प्रयोग भविष्यमा स्मार्टफोन लगायतका विद्युतीय उपकरणहरुको डिस्प्ले बनाउनमा प्रयोग गर्न सकिनेछ ।

साइन्टिफिक अमेरिकनमा प्रकाशित एक रिपोर्टमा स्विडेनस्थित केटिएच रोयल इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ता लार्स बर्गलुण्ड तथा अमेरिकास्थित मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले पारदर्शी काठका बारेमा गरेको अनुसन्धानको विवरण दिइएको छ । पारदर्शी काठका विषयमा वर्षौँदेखिको अनुसन्धान पश्चात् भविष्यमा यसलाई विभिन्न काममा उपयोग गर्न सकिने आशाजनक वस्तुका रुपमा हेर्न थालिएको छ ।

के कुनै काठ पारदर्शी हुनसक्छ ? यो हामीलाई झ्वाट्ट विश्वास नलाग्ने कुरा हो । आखिर काठलाई कसरी पारदर्शी बनाउने ?

काठलाई पारदर्शी बनाउने प्रक्रियामा काठबाट लिग्निन नामक पदार्थलाई हटाइन्छ । गुँदजस्तो यो पदार्थले काठमा ट्युबजस्ता कोशिकाहरुलाई बाँधेको हुन्छ जुन पूरै रुखमा पानी तथा पोषक तत्वलाई एकसाथ पूराउँछ र रुखलाई खैरो रंग प्रदान गर्न मद्दत गर्दछ ।

काठको रंग हटाउनका लागि शोधकर्ताहरुले ब्लिच गरेर लिग्निन हटाइदिए र पारदर्शी बनाउनका लागि यसमा एपोक्सी रोल भरिदिए ।

मेरिल्याण्ड विश्वविद्यालयमा शोधकर्ता बर्गलुण्ड र प्रमुख वैज्ञानिक लियांगबिंगका अनुसार पादर्शी काठको मिलिमिटर मोटो पत्रबाट ८० देखि ९० प्रतिशत सम्म प्रकाश छिर्न सक्दछ । जब त्यो पत्र एक सेन्टिमिर मोटो हुन्छ, तब त्यसबाट प्रकाश छिर्न मुस्किल पर्दछ ।

दबाबका कारण काठ कति छिटो भाँचिन्छ भन्ने कुरा आँकलन गर्न गरिएको परीक्षणका क्रममा पारदर्शी काठ प्लेक्सीग्लास भन्दा ३ गुणा तथा काँचभन्दा १० गुणा धेरै बलियो हुने गरेको पाइयो ।

पातलो भएका कारणले गर्दा पारदर्शी काठलाई प्लास्टिक तथा काँचको विकल्पको रुपमा हेरिएको छ । त्यसैले आगामी दिनमा स्मार्टफोन, कम्प्युटर तथा अन्य उपकरणका स्क्रिनमा प्लास्टिक वा काँचको साटो यहीँ पारदर्शी काठको प्रयोग हुने आशा गरिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?