+
+

उम्मेदवारी दर्तापछि सिटौलाले भने- राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते ११:४६

२३ पुस, काठमाडौं । राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन् । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताए ।

सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

यदि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।

सिटौलाले भने, ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक छ । सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु मैले ।’

उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमती भए पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरु भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भरमग्दुर प्रयास गर्छौं । संयुक्त रुपले एकताबद्ध भएर अगाडि जान्छौं ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले पार्टीका उम्मेदवार छनौट प्रक्रियाप्रति असहमति जनाएका थिए । थापाले विधि मिचिएको भन्दै दुई बुँदे फरक मत लेखे भने शर्माले मौखिक रुपमा ६ बुँदे विमती राखेका थिए ।

पत्रकारहरुले त्यही विषयमा सिटौलासँग जिज्ञासा राखेका थिए । उनले आफ्नो नाममा पहिल्यै सर्वसहमति भएपछि आइतबार नै गाडी चढेर विराटनगर आएको र सोमबार बिहान उम्मेदवारी दर्ता गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?