+
+

प्रधानमन्त्रीलाई सिटौलाले भने : धोकाधडीको राजनीति यहीं टुंगिने नठान्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १६:०८

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ । उनले प्रचण्डलाई भनेका छन्, ‘पार्टीलाई धोका त भयो भयो, तपाईंका कारण मलाई पनि धोका भयो ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको उनको गुनासो छ ।

आफूहरुलाई कांग्रेस गठबन्धनलाई निरन्तरता दिने भन्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने गरेको भन्दै सिटौलाले भने, ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४÷५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ?

चुपचाप सिटौलाको आक्रोश सुनेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्नुमा पुरानै कारण दिए । उनले अघिल्लो गठबन्धनको सरकारबाट नागरिकले परिणामको अपेक्षा गरेपनि त्यस अनुसार हुन नसकेको बताएका छलफलमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले लामो भूमिका बाँधेर गठबन्धन कायम राख्न नसक्नुमा यो भयो, त्यो भयो भन्दै कांग्रेसले पारेका अप्ठ्यारो सुनाएका थिए । त्यसपछि सिटौला ‘तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?