+
+

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरले नै ठोक्यो ताल्चा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते २१:११

२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई रोक्न महानगरपालिकाले कार्यकक्षमै ताल्चा लगाइदिएको छ ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गर्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए ।

उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन नसकिन्जेल कार्यालयमा हाजीर नहुन अधिकारीलाई भनेका थिए । तर, उनी विदा छोट्याएर सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताल्चा लगाउन निर्देशन दिएको हो ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका हुन् ।

तर, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले काठमाडौं महानगर स्वामित्वको राष्ट्रिय सभागृहमा रहेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकारी उपस्थित भएर ‘ब्याक डेट’मा निर्णयहरु गरेको जानकारी मेयरको सचिवालयमा पुगेको थियो । छानबिन नसकिँदै अधिकारी काममा फर्किने चर्चा चलेपछि उनको कार्याकक्षमा तालाबन्दी गरिएको हो ।

मेयर शाहले अब अधिकारीलाई प्रमख प्रशासकीय अधिकृतका रुपमा काम लगाउन नसकिने बताइसकेका छन् । संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नतोकिन्जेल बिदामा बस्न अधिकारीलाई दबाव दिएका छन् ।

तर, अधिकारीले प्रतिरोध गरेर कार्यालय आउने बुझेपछि उनलाई रोक्ने रणनीतिमा महानगरको राजनीतिक नेतृत्व अग्रसर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?