+
+

चार दशकपछि खुलेको रहस्य, अमेरिकी राजदूत नै क्युबाको जासुस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १४:५७

बोलिभियाका लागि पूर्व अमेरिकी राजदूत म्यानुअल रोचा हालसालै पक्राउ परे । अमेरिकी विदेश मन्त्रालयमा काम गर्ने उनलाई अमेरिकी सरकारले गम्भीर आरोप लगाउँदै पक्राउ गरेको हो ।

चार दशक अमेरिकी विदेश मन्त्रायलमा काम गरेका उनले क्युबाका लागि जासुसी गरेको आरोप सरकारले लगाएको हो । कम्युनिस्ट शासन रहेको क्युबाले शताब्दी यता गर्दै आएको सबैभन्दा ठूलो जासुसी काण्डका रुपमा यसलाई लिइएको छ ।

अमेरिकी सरकारका महान्यायाधिवक्ता मेरिक अर्लाण्डको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘विदेशी एजेन्टको अमेरिकी सरकारको उच्चतम तहमा पहुँच र लामो समयसम्मको घुसपैठ यो नै पहिलो हो ।’

पक्राउ परेका म्यानुअल रोचाले आफ्नो बचाउमा कुनै निवेदन हालसम्म गरेका छैनन् । उनी पक्राउ परेसँगै अमेरिकी कुटनीतिज्ञ तथा जासुसी संयन्त्रका अधिकारीहरु उनले लामो समयसम्म आफुलाई बचाउन सकेकोप्रति आश्चर्यमा छन् । यस्तै रुढीवादी अमेरिकीको छवि बनाएका रोचाले क्युबाली क्रान्ति प्रति राखेको गहिरो निष्ठाप्रति समेत केही पर्यवेक्षकहरु चकित छन् ।

एक गुप्त एफबीआई एजेन्टले प्रस्तुत गरेको प्रमाणमा रोचाले अमेरिकालाई शत्रुका रुपमा प्रस्तुत गरेको भेटिएको छ । यस्तै, क्युबाका नेता फिडेल क्यास्ट्रोको प्रशंसा गर्नुका साथै आफ्नो द्वैध पहिचान दशकौँसम्म लुकाउन सफल भएको उल्लेख छ ।

यो प्रकरण सतहमा आएपछि सबैभन्दा चकित केन्द्रीय जासुसी संयन्त्र अन्तर्गतको प्रतिजासुसी संयन्त्रका पूर्व प्रमुख जेम्स ओल्सन परेका छन् । उनीसँग क्युबाको जासुसी संयन्त्रको अनुभव समेत थियो । ‘उनीहरुसँग काम गरेको अनुभवका हिसाबमा उनीहरुलाई आक्रामक खुफिया सेवाका रुपमा जान्दथेँ । तर उनीहरु निकै कुटिल र निकै गुप्त रुपमा आफ्नो लक्ष्य प्राप्ति क्षमतावान् समेत भएछन्’, उनले बीबीसीसँग भनेका छन् ।

रोचाअघि उनीहरुले धेरै अमेरिकीलाई प्रयोग गरेर आफ्नो लागि जासुसी गराएको र यो क्युबाको परम्परागत शैली रहेको ओल्सन बताउँछन् ।

‘उनीहरुले रक्षा संयन्त्रमा काम ग्ने अना मोन्टीलाई १६ वर्षसम्म आफ्नो लागि जासुसी गर्न लगाए । यस्तै विदेश विभागमा कार्यरत वाल्टर किन्डल माइर्सका दम्पतीलाईसम्म प्रयोग गरे । आफ्नो हितका खातिर उनीहरुले धेरै अमेरिकीलाई प्रयोग गरेका छन्’, ओल्सनले भनेका छन् ।

बर्लिनको पर्खाल ढलेसँगै क्युबाको जासुसी संयन्त्र डीजीआई कमजोर बनेको अमेरिकी भ्रम थियो । तर यथार्थमा त्यस्तो नरहेको ओल्सन बताउँछन् । उनीहरु विगतको भन्दा निकै आधुनिक र तगडा भएको उनको मूल्याकंन छ । ‘केबीजीले उनीहरुलाई पहिलेको भन्दा कम पैसा दिन्छ होला तर उनीहरु निकै तगडा भएका छन् । जासुसी क्षमतालाई उनीहरुले निकै प्रभावकारी बनाएका छन् । घुसपैठ र प्रतिरोधका मामिलामा क्युबाली जासुसी संयन्त्रलाई रुसको केजीबीलाई निकै पछि पारेका छन्’, आफ्नो मूल्यांकनबारे ओल्सनले बीबीसीसँग भनेका छन् ।  ‌

सन् २९८७ मा क्युबाली जासुस फ्लोरेन्सियो अस्पिलागाले भियनामा रहेको अमेरिकी दूतावास पुगेर सनसनी बयान दिए । त्यसले फिडेल क्यास्ट्रोको जासुसी संयन्त्रको क्षमताका कारण अमेरिकी जासुसी संयन्त्र त्रसित बनेको बजेको ओल्सनको स्मरण छ ।

‘क्युबाली डीजीआईले ३८ वटा डबल एजेन्ट नियुक्त गरेको र क्युबामाथि जासुसी गर्न नियुक्त भएका सबैले क्युबाको जासुसी गर्ने बयान ती व्यक्तिले दिए । हामी निकै जिल्ल भएका थियौँ’, उनले स्मरणमा भनेका छन् ।

उनीहरुले अमेरिकी जासुसी संयन्त्रलाई असफल बनाएको ओल्सन बताउँछन् । ‘उनीहरु हामीविरुद्ध निकै खरो उत्रिएकाले व्यक्तिगत रुपमा म उनीहरुप्रति निकै रुष्ट छु’, ओल्सनले भनेका छन् ।

उच्च कुटनीतिज्ञका हैसियतमा म्यानुअल रोचासँग गोप्य कागजात र संवेदनशील जासुसी सूचनाको पहुँच गतिलो थियो । अमेरिकी सरकारले अहिले रोचाले कति मात्रामा सूचना चुहाए भनेर अनुसन्धान गरिरहेको छ । रोचाको पक्राउप्रति क्युबाले हालसम्म कुनै प्रतिक्रिया भने जनाएको छैन ।

क्युबाको जासुसी नीति प्रष्ट छ । अमेरिकाविरुद्ध जासुसीका निम्ति हदैसम्म अघि बढ्न ऊ तयार छ । ६० वर्षयता हरेक अमेरिकी प्रशासनविरुद्ध उसले सफल रुपमा जासुसी गरिरहेको छ ।

क्युबाको प्रख्यात जासुसी थिए जिराडो हर्नान्डिज । सन् १९९० मा फ्लोरिडामा क्यास्ट्रोविरुद्ध बनिरहेको अमेरिकी समुहमा घुसपैठ गर्न उनी सफल भए ।  सन् १९८८ मा पक्राउन परेसँगै उनी १६ वर्ष जेल बसे । पछि ओबामा कालमा हभाना कैदी अदल बदल हुँदा उनी छुटेका थिए । हभानाबाट एक अन्तर्वातामा उनले भनेका थिए, ‘अमेरिकाले क्यास्ट्रो विरोधी सशस्त्र समूहलाई आफ्नो मुलुकबाट निर्वाध रुपमा गतिविधि सञ्चालन गर्न दिएको थियो । क्युबाका निम्ति त्यही घुसपैठ गरेर जासुसी गर्नुको अर्को विकल्प थिएन ।’

क्युबा र अमेरिकाबीचको द्वपक्षीय सम्बन्धमा खटपट आइरहनुको मुख्य कारणनै डीजीआईको काम रहेको उनको भनाइ छ । ‘यदि कसैले अझै पनि क्युबाविरुद्ध गद्धारी गर्ने सोच्छ भने राष्ट्रभक्त क्युबाका जासुसहरुले आफ्नो मुलुकको रक्षाका निम्ति सबै सूचना अझैपनि उपलब्ध गराउनेछन्’, हर्नान्डिजले बीबीसीसँग भनेका छन् ।

म्यानुअल रोचाविरुद्ध मुद्दा चलिरहेको सम्बन्धमा क्युबाको राष्ट्रिय परिषद्का सदस्य जिर्राडो हर्नान्डिजले प्रतिक्रिया दिएका छन् । उनले यत्तिमात्रै भनेका छन्, ‘मैले पनि समाचारमा सुनेको हुँ ।’

यद्यपि उनी वैचारिक धारमा अडिग रहेका जासुसहरुबाट कुरा फुत्काउन असंभव हुनेमा उनी विश्वस्त छन् । ‘पैसा र नाफाका लागि नभएर विचारधारालाई माया गरेर काम गर्नेहरुले सधैँ उत्कृष्ट काम गर्नेछन्’,  उनी भन्छन् ।

यसको प्रतिवादमा ओल्सन भन्छन्, ‘म्यानुअल रोचा गद्दार हुन् उनले राष्ट्रलाइ धोका दिए । मलाई लाग्दैन कि अब उनले धर्तीको उज्यालो देख्न पाउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?