+
+
विश्व गौतमसँग फेसन संवाद :

‘दक्ष फेसन डिजाइनरलाई ग्लोबल मार्केटको ढोका सधैं खुला छ’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:५२

काठमाडौं । फेसन डिजाइनिङलाई नेपाली समाजमा आकर्षक पेसाका रूपमा लिन थालिएको छ । फेसनेबल र डिजाइन गरिएका कपडा खोज्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

विश्व बजारमा जस्तो शैली चलेको छ, त्यही शैलीलाई पछ्याउनु नै फेसन भनेर भनिन्छ । तर यी सबै परिभाषा र बुझाइ आफैंमा पूर्ण छैनन् । वास्तवमा फेसन के हो ? नेपालमा यसको सम्भावना कस्तो छ लगायत विषयमा केन्द्रित रहेर फेसन डिजाइनर विश्व गौतमसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानी :

नेपालमा फेसन डिजाइनिङ पढाउने कलेजहरू छन्, यसप्रति युवाहरूको आकर्षण पनि उत्तिकै छ, तर यसमा करिअर चाहि कस्तो छ ?

केही वर्षयता नेपालमा फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरूको संख्या बढिरहेको छ । नाम र दाम पनि सँगै कमाउन सकिने क्षेत्र भएकाले धेरै यसमा आकर्षित छन् ।

आफूले राम्रो गर्न सके जुन क्षेत्रमा पनि अवसर छ । फेसन डिजाइनिङ मात्र होइन, कुनै पनि विषयमा करिअर कस्तो छ र कस्तो बनाउने भन्ने कुरा व्यक्तिमा भर पर्छ । विश्वमा नयाँ डिजाइनहरू आइरहने हुनाले त्यसैअनुसार आफूले गर्न सकिने हुँदा यो क्षेत्रमा भविष्य उज्ज्वल छ ।

फेसन पढेकाहरूले नेपालमा उद्यमशीलता गर्नुका साथै ग्लोबल मार्केटमा पनि जान सजिलो हुन्छ । पहिले फेसन भनेपछि सेलिब्रेटीहरुले मात्र गर्ने भन्ने थियो । तर पछिल्लो समय फेसनको परिभाषा परिवर्तन भएको छ- हरेक व्यक्तिले लगाउने कपडा फेसन हो ।

फेसन डिजाइनिङ गरेकाले नेपालमा के कस्तो क्षेत्रमा काम पाउँछन् ?

दक्ष डिजाइनरलाई विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरू प्रशस्त मात्रामा छन् । एक्पोर्ट हाउसेज, गार्मेन्ट स्टोर, टेक्सटाइल उद्योग, लेदर कम्पनी, कस्टम डिजाइनिङ, पर्सनल स्ट्याइलिङ, बुटिक, फेसन सो, ज्वेलरी उद्योग, मिडिया, कोरियोग्राफर लगायत विभिन्न क्षेत्रमा विभिन्न पदमा रही काम गर्न सक्छन् । त्यस्तै बुटिक, फेसन स्टोरमा लगानी गरी स्वरोजगार पनि बन्न सकिन्छ ।

ब्राइडल फेसन वा खास विशेष समारोहका लागि मात्र पहिरन डिजाइन गर्ने काममा सीमित होलान् नि हाम्रा डिजाइनरहरू ?

नेपालको सन्दर्भमा त ब्राइडल र विशेष समारोहको लागि पहिरन डिजाइन गर्ने काममा अलि बढी अवसर छ । विशेष अवसरका लागि डिजाइनर कपडा लगाउने चलन नेपालीहरूमा बढी छ । त्यसैले नेपाली फेसन डिजाइनरहरू त्यस्तै प्रकारको डिजाइन बढी गर्छन् ।

नेपाली डिजाइनरहरू दैनिक रूपमा लगाइने लुगाहरूको डिजाइनमा गइसकेका छैनन् । कच्चा पदार्थ सबै अन्य देशबाट ल्याएर कपडा बनाउनुपर्ने भएकोले त्यसको मूल्य बाहिरबाट आएको रेडिमेट कपडा भन्दा महंगो पर्न जान्छ । त्यसैले पनि डिजाइनरहरू विशेष समारोहको पहिरन डिजाइनमा सीमित हुनु भएको हो । तर यहाँ नै कच्चा पदार्थ पाइने अवस्था सिर्जना हुन्छ भने दैनिक रूपमा लगाइने लुगाहरूको डिजाइनमा झन् धेरै अवसर छन् ।

हाम्रो जस्तो फेसनको सानो बजार भएको ठाउँमा यसको सम्भावना कस्तो छ ?

नेपालमा दिनदिनै फेसनको स्कोप बढ्दै गएको छ । सबैले लुगा लगाउनैपर्छ । त्यसमा पनि राम्रो चाहिन्छ । त्यसैले पनि फेसन डिजाइनरले नयाँ–नयाँ क्रियसन पस्किन सक्यो भने स्कोप राम्रो छ ।

विश्वमा नयाँ–नयाँ पहिरनका डिजाइन आइरहन्छन्, त्यहीअनुसार गर्न सक्यो भने यो क्षेत्रमा उज्ज्वल भविष्य छ । अहिलेको जेनेरेसन फेसनप्रति एकदमै धेरै सचेत छन् । उनीहरूले आफ्नो परिवारको अन्य सदस्यलाई पनि फेसनेबल बनाउन चाहन्छन्, जसले गर्दा यसको भविष्य नेपालमा राम्रो छ र राम्रो हुँदै गइरहेको छ ।

अलि सरल भाषामा भनिदिनुहोस् न, खासमा फेसन डिजाइनिङ भनेको हो ? यो कसका लागि गरिन्छ ?

फेसन डिजाइन भनेको शरीर सुहाउँदो पहिरन बनाउने कला हो । सेलिब्रेटी र उच्च वर्गका व्यक्तिले डिजाइनर कपडा बढी लगाउने भएकाले फेसन डिजाइनिङ भनेको उनीहरूका लागि मात्र हो भन्ने एउटा बुझाइ छ । तर फेसन डिजाइनिङ सबै मानिसका लागि हो । आम मानिसले जुन कपडा लगाइरहेका हुन्छन् त्यो कपडा पनि कुनै डिजाइनरले नै डिजाइन गरेका हुन्छन् । फेसन उद्योगमा प्रख्यात डिजाइनरहरूले तयार पारेको योजना अनुसार कपडा उत्पादन गरेर बजारमा पठाइन्छ । त्यसैले फेसन डिजाइनिङ सबैको लागि हो ।

फेसन डिजाइनरको मुख्य काम चाहि के हो ?

फेसन डिजाइनरको मुख्य काम भनेको आफ्नो सिर्जनात्मक क्षमता देखाउनु हो । कुनै पनि व्यक्तिको वर्ण, उचाइ र शारीरिक बनावटअनुरूप पहिरनको परिकल्पना गर्नु हो ।

नेपालमा अहिले पनि पोख्त डिजाइनरहरू त्यति भेटिदैन भनिन्छ यसलाई कसरी लिनुहुन्छ ?

नेपालमा चर्चित र पोख्त डिजाइनरहरू खासै छैनन् । किनकि नेपालको फेसन बजार साँघुरो  छ । सानो प्लेटफर्म भएको ठाउँबाट ठूलो प्लाटफर्म खोज्न डिजाइनहरू पलायन हुन बाध्य छन् ।

नेपालमा फेसन उद्योगहरू एकदमै कम छन् । जसले गर्दा म जागिर खान्छु भन्नेहरूको लागि गाह्रो छ । नेपालमा हुँदा कामको अभावले नै मैले पनि आफ्नै व्यवसाय सुरु गरें । आफ्नो व्यवसायलाई विश्वभर फैलाउन अमेरिका गए । त्यसरी नै अन्य पोख्त डिजाइनहरू अवसरको खोजीमा अन्य देश गएका कारण नेपालमा पोख्त डिजाइनर नभेटिएको हुन सक्छ ।

मेरो सन्दर्भमा भने अमेरिका बस्ने भए पनि मैले नेपालमा रोजगारीको अवसर सिर्जना गरेको छु । २०० जना कामदार मेरो फेसन उद्योगसँग जोडिनुभएको छ । मैले विश्वभर पठाउने डिजाइनर कपडा नेपालमा नै तयार हुन्छन् ।

नेपाली डिजाइनले प्लाटफर्म नपाएको हो कि आफू नै कमजोर भएर हो ?

उपभोक्ताहरूको झुकाव कतातिर छ ? बजारको माग कस्तो छ ? उनीहरूको मन पर्ने–नपर्ने, रुचि, आवश्यकता बुझेर पहिरनको डिजाइन गर्ने डिजाइनरको लागि नेपाल मात्र होइन, विश्वभरि नै अवसर छ । त्यसैले फेसन डिजाइनिङमा रुचि छ, यो काम गरेर खुसी मिल्छ भने त्यो क्षेत्रमा उसले राम्रो प्रगति गर्न सक्छ ।

नेपालमा प्लाटफर्म छैन भनेर चिन्ता लिनु पर्दैन, सीप भएकाहरू ग्लोबल मार्केटमा सजिलै जान सक्छन् । हातमा सीप भएपछि विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?