+
+

आँचल शर्मालाई लिएर फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १२:३६

काठमाडौं । आँचल शर्मा र सहयोगराज अधिकारीलाई शीर्ष भूमिकामा लिएर सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । बिहीबार फिल्म घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।

‘इन्द्रेणी खोज्दै जाँदा’पछि सहाराको यो दोस्रो कथानक फिल्म हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ ।

निर्माता अभिमन्यू दीक्षितले फेब्रुअरी वा मार्चदेखि पोखरा उपत्यकामा फिल्म सुटिङ हुने बताए । पारिवारिक र महिला प्रधान कथावस्तुमा फिल्म बन्ने उनले जनाए ।

फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । यो फिल्मले यसअघि विश्वप्रसिद्ध महोत्सवको फिल्म बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा फिल्म पिचिङ भइसकेको छ ।

आउँदो जनवरीमा ढाका फिल्म फेस्टिभलको मार्केट र ल्याबमा फिल्म पेश हुँदैछ । फिल्मको पटकथा सहारा स्वयंले लेखेकी हुन् । कास्टिङको हिसाबले सहयोगराजको यो डेब्यु फिल्म हुनेछ । उनी टेलिभिजनको पृष्ठभूमिबाट फिल्ममा आएका हुन् ।

गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माणमा सहकार्य गरेका छन् । यी ब्यानरले यसअघि छोटो फिल्म र सिरिजमा काम गरिसकेका छन् । फेस्टिभल र हललाई लक्ष्य राखेर फिल्म बनाउन लागिएको निर्माता दीक्षितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?