+
+
डिग्री माइला :

अभिभावकको स्नेहमा डिग्रीको आडम्बर

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८१ वैशाख ४ गते १७:३६

म अभिभावकको स्नेह खोज्दै छट्पटाउँछु, बेलाबखत । घरको अभिभावक, घरको मूल खाँबो जस्तै दरिलो सहारा हो नि ! डिग्री माइलालाई बुबाले हरेक पटक शहर जाँदा थमाएको नोट त्यही घरको दरिलो खाँबाको प्रतीक हैन त ?! मेरी आमाले पनि मलाई काठमाडौं जाने बेला हरेक पटक थैलीमा जतनसँग राखेको पैसा खर्च दिएर पठाउनुहुन्थ्यो ।

….

मलाई दयाहाङ राईको चलचित्रले कताकता तानिहाल्छ । दयाहाङको शारीरिक बनोट भन्दा पनि अभिनयको चमक र कथासँगको सामीप्यताले कुनै हलमा दयाहाङको पोष्टर टाँगिएको देखियो कि पाइलाको गन्तव्य त्यही हलतिर भइजान्छ । देशभरिकै अधिकांश हलमा लागेको ‘डिग्री माइला’ यो पटक मैले आफ्नै जन्मथलो चरिकोटको हलमा हेर्ने अवसर प्राप्त गरें; पत्रकार गोकर्ण भण्डारीको आग्रहमा ।

अभिभावक अर्थात् बुबा–आमा ! यी यस्ता पात्र हुन् जसले समग्रमा आफ्नो सन्तानको लागि संसारको रमितालाई खोकिला भित्र बन्द गरेर पसिना बगाइरहेका हुन्छन् । ‘डिग्री माइला’मा डिल्लीराम भुजेल उर्फ डिग्री माइला (दयाहाङ राई) को बुबा (माओत्से गुरुङ) ले छोराको खुशीको लागि आफ्नो पसिनाको मूल्य गाँठो पारेको नोट थमाइदिएको दृश्यले नेपाली ग्रामीण परिवेशको एउटा सत्यलाई उजागर मात्र गरेको छैन अभिभावकको त्यही महानतालाई आत्मसात् समेत गरेको छ ।

‘डिग्री माइला’को कथाले मलाई मेरी आमाले खसी–बोका र रक्सी बिक्री गरेर जम्मा गरेको पैसाले पढाएको विगत सम्झाएको छ । मेरो माइला मामा डा. गोपालकृष्ण श्रेष्ठले राजधानीबाट घर आएको बेला आमा (मेरो मावलीको बज्यै) लाई खर्च दिंदा त्यही पैसा जतन गरेर मामा काठमाडौं फर्कने बेला हातमा राखिदिएको विगत सम्झाएको छ । अर्थात् अभिभावकको स्नेहको तह र मूल्यको ख्याल गराएको छ ।

‘डिग्री माइला’ले ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था देखाएको छ । अभिमान, घमण्ड र हठले आफैंलाई नोक्सानी हुने तथ्य देखाएको छ र शैक्षिक क्षेत्रमा हुने गरेको राजनीति, धोकाधडी र लापरवाही देखाएको छ ।

शिक्षाले मानिसलाई लचक, सहज र सरल बनाउनुपर्छ । उसको ज्ञान, विवेक र योजना समग्रमा उसको परिवेश र समाजको लागि उपयोगी र उपलब्धिमूलक हुनुपर्छ तर के डिल्लीराम भुजेल उर्फ डिग्री माइलाले अंग्रेजी विषयमा गरेको डिग्री उसको परिवेश र समाजको लागि उपलब्धिमूलक बन्न सक्यो त ?

डिग्री माइलाले आफ्नो प्रेमिका (आँचल शर्मा) को प्राप्तिको लागि आफ्नो डिग्रीलाई माध्यम बनाउन खोज्नु र डिग्री माइलाको प्रेमिकाको बुबा (प्रकाश घिमिरे) ले गाउँको शैक्षिक लथालिङ्ग भन्दा जातीय आडम्बर ठूलो ठान्नु पनि हाम्रै समाजको विसङ्गति हो भन्न हिच्किचाउनुपर्ने अवस्था छैन ।

आखिर प्रेम, आडम्बर, अहंकार, विवशता, बाध्यता, षड्यन्त्र, कुटिलता, भावुकता, जिम्मेवारी जस्ता शाब्दिक सत्यताकै वरिपरि न घुमेको छ हाम्रो समाज । निर्देशक रामबाबु गुरुङसँग दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ जस्ता कलाकारहरूको ट्युनिङ मिल्ने यही सत्यताभित्रको कथा यात्राको जीवन्ततामा नै हो ।

सामाजिक सत्य खोज्ने, खोस्रने र बटुल्ने क्षमता मात्र छैन रामबाबुको, त्यसलाई काल्पनिक थैलीमा सँगालेर मनोरञ्जनको मुरली बजाउँदै दर्शकमाझ प्रस्तुत गर्ने अद्भुत शक्ति पनि छ । त्यही शक्तिको आडमा ओखलढुंगाको रुम्जाटारलाई पृष्ठभूमि बनाएर ‘डिग्री माइला’ तन्काएका हुन् उनले ।

कुनै पनि विषयमा प्राप्त गरिने डिग्री औपचारिकताको प्रमाणपत्र हो । त्यही प्रमाणपत्रलाई ज्ञानको भण्डार ठानेर समाजमा आडम्बर पस्कन लागेपछि सामाजिक मर्यादाले तिरस्कार गर्छ र त्यसले उपलब्धि दिंदैन । रामबाबुको ‘डिग्री माइला’को मूल सन्देश यही हो । डिल्लीराम भुजेल उर्फ डिग्री माइलाले औपचारिक प्रमाणपत्र त लिए तर सामाजिक परिवेश अनुसारको व्यावहारिक ज्ञान प्राप्त गर्न सकेनन् त्यसैले उनी त्यो समाजमा तिरस्कृत हुनुप¥यो । उनले व्यावहारिक ज्ञान लिएको हुन्थे भने समाजको आवश्यकतालाई आफ्नो डिग्रीको प्रमाणपत्रले पूरा गरिदिन्थे ।

सामाजिक मर्यादा र परिवेश नबुझेका डिग्री माइलालाई त्यतिबेला समाजको आवश्यकताको बोध नै भएन, जतिबेला गाउँको शैक्षिक नाजुकताले उनको अंग्रेजी विषयको डिग्री खोजिरहेको थियो । आफ्नो बौद्धिकताले राजदूतको गन्तव्य पहिल्याउँदै विदेश सयरको सपना सँगालेका डिग्री माइलालाई त्यतिबेला सिजी ग्रुपको चारलाख तलब परित्याग गरेको गुड्डी हाँक्दै फुर्सद थिएन ।

अर्थ आवश्यकता र प्रेमको शर्तले गाउँको गन्तव्य खोजिरहेको बेला भने डिग्री माइलालाई आफ्नै सामाजिक परिवेशले तिरस्कार गरिसकेको थियो । डिग्री माइलाको घमण्ड गाउँका उरन्ठेउला ठिटाहरूको प्रतिष्ठा र विद्रोहको मानक बनिसक्दा स्वयम् डिग्री माइलाको गन्तव्य भने धुमिल बनिसकेको थियो ।

उहिलेका उखान सुनाउँदै घरका ज्येष्ठजनहरू भन्ने गर्थे– फलेको हाँगो नझुकेको कहाँ छ र ! उनीहरूको आशय शिक्षित व्यक्ति सधैं सरल, मिलनसार र सहयोगी हुनुपर्छ भन्ने थियो । तर डिग्री माइलाको स्वभाव विल्कुल पृथक् । उनको डिग्रीको आडम्बरले गाउँको शैक्षिक संरचना भताभुङ्ग हुँदासम्म पनि पटक्कै झुक्न नसक्ने । आफ्नो आडम्बरबाट टसको मस हुन नसक्ने ।

कबड्डीको सिक्वेलबाट उत्साहित रामबाबुलाई कथा तन्काउन कसले सिकाउनुपर्छ होला र ! डिल्लीराम भुजेलको आडम्बरमै ‘डिग्री माइला’को कथा रोकेका रामबाबुले दर्शक माझ ‘डिग्री माइला’को अर्को सिक्वेल थोपर्ने कुरामा कुनै आशङ्का छैन । प्रतीक्षा यति हो ‘डिग्री माइला’को दोस्रो सिक्वेलमा डिल्लीराम भुजेलको डिग्री आडम्बर पुस–माघको बरफ नै रहन्छ कि, वैशाख–जेठको नौनी बन्छ ।

रामबाबुको लेखन र दयाहाङ, विजय, माओत्से, बुद्धि, आँचल, प्रकाश जस्ता धुरन्धर कलाकारको अभिनयमा टिप्पणी गर्ने औकात र हैसियत म आफूमा पाउदिनँ त्यसैले यो लेखन ‘डिग्री माइला’को समीक्षा हैन । कबड्डीमा हेरेको रामबाबु र दयाहाङ, विजय, बुद्धिहरूको जोडीले हलसम्म लतार्दै पु¥याउँदा दर्शकको सिटबाट आफूले गरेको अनुभूति कोर्नु दायित्व ठानेर मात्र शब्दको लयलाई सत्यको डोरीमा तन्काइदिएको हो । त्यो तन्काइमा डिल्लीराम भुजेलको काठमाडौं बसाइँको आधार, प्रेमको धरातल, कलेज भएको गाउँको पृष्ठभूमि जस्ता कुराहरू भने गुजुल्टिन पुगेको आभास भएको छ । दोस्रो सिक्वेलमा त्यस्ता प्रसंगलाई पनि तन्काउने आधार रामबाबुले दिने कुरामा आशावादी बनेको छु ।

जेहोस् ‘डिग्री माइला’मा उल्लिखित प्रसंग अनुसार गाउँको शैक्षिक अवस्था, राजनीतिको गिद्धेनजर, प्रेमको आसक्ति, स्वार्थको पुलिन्दा सबै सबै तथ्य निकट छ । त्यो तथ्यलाई स्थानीय सरकारको प्रतिनिधिले आत्मसात् गर्दै सुधारको प्रयत्न गर्ने कि तासको २१ पत्तीमा गाउँको बौद्धिक जमातलाई अल्झाउने भन्ने प्रश्न पनि छ । र ‘डिग्री माइला’को दोस्रो सिक्वेलमा यसको समाधान आउने प्रतीक्षा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?