+
+
नेपालगञ्जको वित्तीय सहकारी घोटाला :

कर्जा फाँटका प्रमुख अरुण पाठकलाई २४ करोड ९१ लाख बिगो र ५ वर्ष कैद सजाय

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० पुष २६ गते १९:५३

२६ पुस, काठमाडौं । जिल्ला अदालत बाकेले नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराई ५ वर्ष कैद र ५० हजार जरिवाना गर्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासबाट सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना संलग्न पाठक सहित १९ जनालाई दोषी ठहर गर्दै बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय हुने आदेश भएको अदालतका सुचना अधिकारी हेमन्त भटटराइले बताए ।

बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य, कर्मचारी सहित ४१ जनाका बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बाकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाकेमा दायर गरेको मुद्दा दर्ता गरेको थियो ।

करिब ४ वर्षपछि बाँके ४१ जना प्रतिवादी मध्ये १९ जनामाथि कसुर ठहर गरेको हो । अदालतका सुचना अधिकारी भटटराइका अनुसार कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारीहरु रहेका छन् ।

अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराध संहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ ।

जिल्ला अदालतले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट ४ करोड ४८ लाख ९ सय ५९ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद सजाय गर्न आदेश दिएको छ ।

अदालतले सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट २ करोड ८३ लाख ७३ हजार २ सय ९५ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय गर्ने आदेश गरेको छ ।

लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार ७ सय २५ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद सजाय हुने आदेश दिएको छ । किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार ४५४ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद सजाय हुने आदेश दिएको छ ।

गौरवकुमार श्रेष्ठबाट १ लाख २९ हजार ४ सय ९१ रुपैयाँ बिगो भराउन, ४० हजार जरिवाना गर्न र ४ वर्ष कैद सजाय गर्न आदेश दिएको छ । त्यसैगरी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार २ सय ७४ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद हुने आदेश दिएको छ । बलराम यादवबाट ५३ लाख ६९ हजार ६ सय ५२ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद सजाय गर्न आदेश दिएको छ ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार ६ सय ८१ बिगो भराउन, ५० हजार जरिवाना गर्न र ५ वर्ष कैद सजाय गर्न आदेश दिएको छ ।
सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि वज्राचार्य, सन्धी भन्ने सन्दीप शर्मा र लिला शाहलाई १ वर्ष कैद र ५ हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई २ वर्ष कैद र ५ हजार जरिवाना गर्ने आदेश भएको छ ।

सहकारी संस्थाका पूर्वअध्यक्षहरु सिद्धिकुमार महर्जनलाई २ वर्ष ६ महिना कैद र ५ हजार जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई ५/५ वर्ष कैद र ५०/५० हजार जरिवाना गर्ने आदेश दिएको छ ।

त्यसैगरी सहकारीका उपाध्यक्ष रबिन्द्र थापालाई ३ वर्ष कैद र ५ हजार जरिवाना गर्ने आदेश दिएको छ ।

सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई १ वर्ष कैद र ५ हजार जरिवानाको आदेश भएको छ ।

जिल्ला अदालतले सहकारी संस्थाका संचालक समिति उपर मुद्दा परी अन्तिम भई नसकेकाले संचालक समिति विघटन गर्न आदेश यसअघि नै दिइसकेको छ ।

त्यसैगरी अदालतले सहकारी डिभिजन कार्यालयका प्रमुख, लुम्बिनी प्रदेश सरकारका सहकारी विभागका रजिष्टार, जिल्ला प्रशासन कार्यालय बाँकेका राजपत्रांकित कर्मचारी प्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख, जाहेरवाला ५ जना प्रतिनिधिसमेत रहने गरी तदर्थ समिति गठन गर्ने र विशेष साधारण सभा आह्वान गरी सञ्चालक समिति गठन प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

सञ्चालक समिति गठन भएपछि ऋण लिई ऋण तिर्न बाँकी रहेको ऋणीबाट सावा र ब्याज दाखिल गर्न सूचना जारी गरी दाखिला भएको रकम बैंक खातामा राखी ऋणीको धितो फुकुवा गरिदिन, संस्थाको चल/अचल सम्पत्ति खोजी गर्न, प्रचलित सहकारी ऐन/कानुन बमोजिम सहकारी संस्थाको कोष अभिवृद्धिका लागि सम्बन्धित निकायबाट अनुदान सहयोग प्राप्त गर्नेतर्फ अग्रसर रहन, संस्थामा प्राप्त हुने रकमबाट प्रस्तुत मुद्दाका जाहेरवालाको रकमको सावाँ ब्याज फिर्ता माग्न आएमा निजहरुलाई फिर्ता दिई सो को विवरण अदालतको तहसिल शाखामा दिन राख्न आदेश दिएको छ ।

बचतकर्ताहरुले जम्मा गरेको करिब ३८ करोड हिनामिना भएपछि नेपालगञ्जको सहकारी वित्ती विकास संस्था २०७६ असोजदेखि बन्द छ ।

सहकारी बन्द भएपछि ११ हजार ४ सय ८ जना बचतकर्ताहरु जम्मा गरेको रकम फिर्ताका लागि सडक आन्दोलनदेखि प्रहरी प्रशासन र हुँदै प्रधानमन्त्रीलाई भेटेर आफ्ना गुनासाहरु सुनाएका पनि समस्या समाधान नभए पछि पीडितहरुले जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेका थिए ।

सहकारी घोटालामा संलग्न ४१ जना अभियुक्त जिल्ला अदालत बाँकेको थुनछेक आदेशबाट ठगी गरेको अभियोगमा ७ जना पुर्पक्षका लागि कारागारमा चलान भएका थिए । ।
अदालतको थुनछेक आदेशबाट सहकारीका कर्जा शाखाका प्रमुख गौरव श्रेष्ठ, प्रमुख प्रबन्धक गोपाल भन्डारी, कर्जा सहायक अरुण पाठक , प्रबन्धक गंगाधर सुबेदी, खजुरा शाखाका प्रबन्धक सुरज बिक र सहकारीका कर्मचारीहरु शारदा थापा र बलराम यादब कारागारमा छन ।

सञ्चालक र कर्मचारीहरु मिलेर १० बर्षदेखि नक्कली कागजपत्र बनाएर नेपालगञ्जको सहकारी वित्तीय विकास संस्थाका सञ्चालक, कर्मचारी र लेखा परिक्षक गरी ४१ जनाको मिलेमतोमा बचतकर्ताहरुले जम्मा गरेको रकम अपचलन र ठगी गर्दै आएका थिए ।

अदालतले अभियुक्तहरुबाट तत्कालै बिगो असुल उपरका साथै अभियुक्तहरुले अदालतमा राखेको धरौटी, सहकारीमा राखेको जेथा जमानतबाट समेत पिडित जाहेरीकर्ताहरुलाई भराइदिन आदेश भएको छ ।

लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?