+
+

नेपाल पुनर्बीमाले ढिला निकाल्यो वित्तीय विवरण, नाफा ६१ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:५१

२७ पुस, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण शुक्रबार मात्रै सार्वजनिक गरेको छ । साउन महिनामै चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि कम्पनीले ५ महिना ढिला गरेको हो ।

सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा जीवन र निर्जीवन दुबै व्यवसायबाट १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १७ करोड ३४ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ६१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुवै व्यवसायबाट कम्पनीको खुद नाफा ६७ करोड ३८ लाख रुपैयाँ थियो । जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख र निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको मुख्य बिजनेस भने घटेको छ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा जीवन र निर्जीवन बीमा व्यवसायबाट ७ अर्ब ५२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३० प्रतिशतले कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले दुवै व्यवसायबाट खुद १० अर्ब ७६ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको बीमा र निर्जीवन बीमा दुबै व्यवसायबाट कुल आम्दानी १६ अर्ब १० करोड रुपैयाँ छ जबकि अघिल्लो आर्थिक वर्ष १८ अर्ब १८ करोड थियो । कम्पनीको गत आर्थिक वर्षको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५० पैसा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ४० पैसा छ ।

यस कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछ । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश पुनर्बीमा कम्पनीले बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारी स्वामित्व ४४ प्रतिशत छ भने बाँकी सेयर हिस्सा विभिन्न बैंक तथा बीमा कम्पनी र सर्वसाधारणको छ । नेपालमा यो र अर्को हिमालयन रिइन्स्योरेन्स गरी दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?