+
+

काठमाडौंमा सरसफाइको लागि फोहोर टिप्ने दौड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १९:२६

२७ पुस, काठमाडौं । काठमाडौंमा एक हजार युवाको सहभागितामा फोहोर टिप्ने प्रतियोगिता भएको छ । मैनादेवी फाउन्डेसनको आयोजनामा गत वर्ष देखि सुरु भएको ‘काठमाडौं ट्रया्स कलेक्सन रेस’मा यसपटकको ठुलो संख्यामा सहभागी भएका हुन् ।

फोहोर टिप्ने प्रतियोगिताको विजेता विक्रम खड्का र अभिषेक खड्काको जोडी भएको छ । उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै पारस महतो र पप्प कुमार महतोले दोस्रो स्थान हासिल गरेका थिए । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने तेस्रो हुने लक्ष्मी दनाई र वर्षा भण्डारीको जोडीले १५ हजार रुपैयाँ प्राप्त गरे ।

फाउडेसनका अनुसार नक्सालस्थित नारायण चौरबाट सुरु भएको फोहोर खोज्दै, बोक्दै ७५ मिनेटमा ४ किलोमिटरमा दौडनुपर्ने र जसले धेरै फोहोर जम्मा ग¥र्यो उहि विजेता हुने नियम रहेको थियो ।

नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर दौड सकिएको थियो । प्रतियोगितामा २ सय नेपाल प्रहरीबाट सहभागी भएका थिए भने बाँकी नाम टिपाएर आएका सहभागी थिए ।

‘शहर सरसफाई गर्ने उद्देश्यले प्रत्येक वर्ष फोहोर बोकेर दौडने प्रतियोगिता आयोजना गरेका हौं । यहाँ जो पनि सहभागी हुन पाउँछन र यो निःशुल्क हो । यसपटक धेरै आकर्षण देखियो, सडकमा फोहोर नभेटेर केहि साथीहरुले पसल र घरबाट फोहोर समेत माग्दै हिँडेको देखियो,’ फाउन्डेसनका अध्यक्ष रहेका अभियान्ता केपी खनालले अनलाइनखबरसँग भने ।

उनले काठमाडौंमा सरसफाईको स्तर सुधार भएको भन्दै अघिल्ला वर्ष १ हजार केजी फोहोर जम्मा हुँदा यो पटक ३५० केजी मात्रै जम्मा भएको सुनाए ।

‘यो रमाइलोको लागि भन्दा पनि सरसफाईको सन्देशको लागि भएको प्रतियोगिता हो । काठमाडौं महानगर मात्रै नभई देशभरी यो प्रतियोगिता सञ्चालन गर्नुपर्ने हामीले देखेका छौं । सरसफाई गर्ने र फोहोर नगर्ने हाम्रो उद्देश्य हो,’ खनालले भने ।

दौड सञ्चालन गर्न ८ लाख खर्च लागेको भन्दै खनालले नेपाल टेलिकम, काठमाडौं महानगर लगायतको सहयोग रहेको बताए ।

नेपाल प्रहरी महानिरिक्षक वसन्त कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सहितको उपस्थिती रहेको थियो । प्रतियोगितामा ३ सय स्वयंसेवक परिचालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?