+
+

पहिलो त्रैमासमा ३.२ प्रतिशतले जीडीपी विस्तार : खानीमा वृद्धि, व्यापारमा मन्दी

अच्युत पुरी अच्युत पुरी
२०८० पुष २८ गते ८:०४

२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार भएको हो ।

यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ । बहुराष्ट्रिय निकायहरुले भने ४ प्रतिशत हाराहारीमा मात्र वृद्धि हुने प्रक्षेपण गरिरहेका छन् ।

कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार हुने बताएको हो । अघिल्लो आवको चौथो त्रैमासिकको भन्दा भने चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा केही संकुचन आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

तथ्यांक अनुसार यस आवको पहिलो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको कुल मुल्य अभिवृद्धि सबैभन्दा धेरै १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ ।

निर्माण क्षेत्रसँग सम्बन्धित प्रत्यक्ष आधारित रहेको यो क्षेत्रमा बालुवा गिट्टीको प्रभाव बढी देखिन्छ । यस अवधिमा निर्माण क्षेत्रको जीडीपी समेत ११.४ प्रतिशतले विस्तार भएको छ ।

वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दोस्रो स्थानमा छ । यो १३.२ प्रतिशतले विस्तार भएको तथ्यांक कार्यालयले जनाएको छ ।

निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यस क्षेत्रमा सकारात्मक वृद्धि देखिएको हो ।

आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतको विस्तार भएको छ । खुद्रा तथा व्यापार क्षेत्रमा भने १.४ प्रतिशतले संकुचन आएको देखिएको छ ।

समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीले यो क्षेत्रको वृद्धिदरमा प्रभाव परेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

घरजग्गाको कारोबार समेत २.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?