+
+

स्पेनमा फुटबल सिकेका आवासको राष्ट्रिय टिमसम्मको यात्रा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष २९ गते १७:३१

२९ पुस, काठमाडौं । ए डिभिजन लिग खेल्न २०७८ सालमा स्पेनबाट नेपाल आएका आवास लामिछानेले विभागीय टोली एपीएफ क्लबबाट दुई सिजन खेले ।

एपीएफका तत्कालीन प्रशिक्षक कुमार थापासँगको चिनजानका आधारमा उनी २ वर्षअघि लिग खेल्न आएका थिए ।

लिगमा गरेको प्रदर्शनको आधारमा उनी राष्ट्रिय टिममा पनि पर्न सफल भए । नेपालको राष्ट्रिय टिमबाट  ०७९ कात्तिकमा दशरथ रंगशालामा पाकिस्तानविरुद्ध खेले ।

दोस्रो हाफमा सेसेहाङ आङदेम्बेको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरेका उनी नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी छन् । ‘राष्ट्रिय टिमबाट खेल्न पाउनु हरेक फुटबलरका लागि गर्वको विषय हो र म आफूलाई भाग्यमानी ठान्छु र गर्व गर्छु कि मैले मेरो देशलाई रिप्रिजेन्ट गर्ने अवसर पाएँ’, उनले भने ।

राष्ट्रिय टिमबाट खेल्न पाएको समयलाई उनले आफ्नो जीवनै सबैभन्दा उत्कृष्ट क्षण मानेका छन् । ‘प्रशिक्षक प्रवेश कटुवालले जब मलाई पाकिस्तान विरुद्ध डेब्यू गर्ने अवसर दिनुभयो, त्यो मेरो बेस्ट मोमेन्ट’, उनले भने ।

१० वर्षको हुँदा अभिभावकसँग स्पेन गएका आवासले त्यहीँ फुटबल सिके । स्पानिस ला लिगा खेलिरहेको भ्यालेन्सिया, बेनिडोर्म सीएफ, अल्कोबेन्दास सीएफलगायतका क्लबबाट ट्रायलको मौका पाए ।

‘मैले स्कुलमा फुटबल खेल्थेँ । त्यसपछि केही स्काउटहरुले मेरो खेल हेरेका रहेछन्’, आवासले भने, ‘उनीहरुले मलाई विभिन्न क्बलको युथ टिममा ट्रायलको अवसर दिए । त्यहाँबाट खेल्दा धेरै अनुभव लिने अवसर पाए ।’

आवासले खेलेको उच्च प्रतियोगिता त्यहाँको टप यू-१५ लिग हो । जहाँ उनले लेभान्टे, एल्चे जस्ता क्लब विरुद्ध खेल्न पाए । ‘त्यस्तो क्लबहरुबाट खेल्दा व्यवसायिक खेलाडी जस्तै अनुभव हुन्’, आवासले भने ।

गत महिना भएको नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीबाट फुटबल खेलेका उनी स्पेन फर्किसकेका छन् । आइकोनिक प्लेअरको रुपमा झापामा अनुबन्ध भएका उनले एनएसएलमा राम्रो अनुभव भएको बताए । ‘यो एकदमै छोटो समयको राम्रो अनुभव रह्यो । मैले एनएसएलमा एकदमै इन्जोय गरेँ’, उनले भने ।

एनएसएलको अवधि छोटो भए पनि यसको स्तरले नेपाली खेलाडीलाई राम्रो गर्ने आवास बताउँछन् । ‘पैसा र स्तरको आधारमा फ्रेञ्चाइज लिग खेलाडीको लागि राम्रो छ’, उनले भने ।

पछिल्लो समय नेपाली खेलाडीहरु विदेश पलायनको समस्या चर्को छ । तर आवास भने विदेशमा बसेर पनि नेपालका लागि खेल्न आए । तर उनी पनि अब आउने वा नआउने टुंगो छैन ।

नेपालले चैतमा विश्वकप क्वालिफायर खेल्ने तालिका छ । जसमा नेपालले बहराइनसँग होम एण्ड अवे खेल खेल्नेछ । त्यसअघि नेपालको कुनै खेल तालिका छैन ।

अब नेपालको उनी बोलाइन्छन् कि बोलाइँदैनन् टुंगो छैन । बोलाइए पनि समय मिल्ने नमिल्ने निश्चित छैन । ‘हेर्दै जाउँ के हुन्छ ?’, आवास भन्छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?