+
+

ताइवानको राष्ट्रपति चयनलाई लिएर चीन-अमेरिका वाकयुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १४:३४

१ माघ, काठमाडौं । ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नवनिर्वाचित राष्ट्रपति लाइ चेङ तेलाई बधाइ सन्देश पठाएसँगै बेइजिङले वासिंटनलाई कडा चेतावनी दिएको छ ।

लाइलाई बधाई दिँदै वासिङ्टनले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने प्रतिवद्धताको उल्लंघन गरेको बेइजिङको टिप्पणी छ । वासिङ्टनको बधाई सन्देशप्रति आक्रोशित हुँदै चीनले पोखेको आक्रोशबारे बीबीसीले लेखेको  छ, ‘ताइवानको स्वतन्त्रता माग गर्नेहरुलाई बल पुर्‍याउने गरी बधाई दिँदै वासिङ्टनले गम्भीर गल्तीको संकेत दिएको छ ।’

नवनिर्वाचित राष्ट्रपति लाइ ताइवानको स्वतन्त्रताको प्रखर वकालत गर्ने पात्र हुन् । बेइजिङले नरुचाउने पात्रसँग सहकार्यको सन्देश सहित ब्लिंकेनले बधाई दिएका थिए ।

ब्लिंकेनको बधाई सन्देश उल्लेख गर्दै बीबीसीले लेखेको छ, ‘ताइवानको ठूलो सहयोगीको हैसियतमा यस क्षेत्रमा शान्ति र स्थायित्व स्थापनाका निम्ति हाम्रो सहयोग जारी रहनेछ । हाम्रो साझा हितको रक्षाका निम्ति लाइ र अन्य दलसँग सहकार्यका लागि हामी उत्सुक छौँ । अमेरिकी एक चीन नीतिको आधारमा हाम्रो अनौपचारिक सम्बन्ध लामो समयसम्म कायमै रहनेछ ।’

यस बधाई सन्देशमा अमेरिकाले एक चीन नीति अनुसार ताइवानसँग सहकार्य र सम्बन्ध कायम हुने बताए पनि बेइजिङ वासिङ्टनसँग खुशी छैन । ब्लिंकेनको बधाई सन्देशको बेइजिङमा व्यापक आलोचना भएको छ ।

कुनैपनि बहानामा ताइवानको राजनीतिक दल वा उम्मेदवारलाई समर्थन दिन नहुने चीनको भनाइ छ । यस्ता गतिविधिले त्यस टापुको स्वतन्त्रताको माग गर्ने पृथकतावादी समूहलाई बल पुग्ने बेइजिङको भनाइ छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ताइवानको मामिलामा कुनैपनि बहानामा हस्तक्षेप गर्ने वा औपचारिक संवाद गर्ने गतिविधिलाई चीनले स्वीकार्दैन । अमेरिकाको यस कदम ताइवानसँग सांस्कृतिक र वाणिज्यको अनौपचारिक सम्बन्धको प्रतिवद्धा विपरीत छ ।’

ताइवानको नतिजा आउनुअघि अमेरिकाले अनौपचारिक रुपमा प्रतिनिधिमण्डल पठाउँदै त्यहाँका नेताहरुसँग संवाद गराएसँगै बेइजिङ वासिङ्टनसँग थप रुष्ट छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र विदेश उपमन्त्रीलाई त्यहाँ पठाएका थिए । बाइडेनले समेत ताइवानका नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ दिएका छन् ।

चीनल नरूचाउने राष्ट्रपति चयनसँगै अब के होला ?

ताइवानका राष्ट्रपतिमा निर्वाचित लाइलाई बेइजिङले पृथकतावादी र समस्याको जडका रुपमा लिने गरेको छ । ताइवानलाई आफ्नो भूमिमा गाभ्ने चिनियाँ रणनीति छ ।

यसका निम्ति बेइजिङले प्रयत्न समेत गरिरहेको बखतमा लाइ त्यसका प्रखर विरोधीका रुपमा उभिएका छन् । उनले चुनावी अभियान पनि ताइवानकै स्वतन्त्रताबारे केन्द्रित गरे ।

निर्वाचित भएसँगै दिएको मन्तव्यमा उनले भनेका छन्, ‘ताइवान आफैँमा स्वतन्त्र भएकाले यसलाइ स्वतन्त्र घोषणा गरिरहनैपर्दैन ।’

चीनको महत्वाकांक्षालाई खुलेआम चुनौती दिने लाइलाई बेइजिङले रुचाउने कुरै भएन । निर्वाचित भएसँगै चीनको महत्वकांक्षा विपरीत दिएको अभिव्यक्ति कारण ताइवानमा बेइजिङले थप दबाब र तनाव बढाउने देखिन्छ ।

ताइवान नजिकै चीनले सामरिक गतिविधिहरु निकै बढाएको छ । तत्कालिन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका क्रममा उसले ताइवान केन्द्रित सैन्य गतिविधि बढाएको थियो । चीनले ताइवानविरुद्ध आर्थिक र कुटनीतिक दबाब बढाउन सक्ने विश्लेषकहरु बताउँछन् ।

चीनको यस्तो कदमको अपेक्षा गर्दै लाइले पनि सैन्य मामिलामा लगानी बढाउने बताएका छन् । लाइ ताइवानको स्वतन्त्रताको प्रखर पक्षधर भएकाले उनको कार्यकालमा ताइवान र चीनबीच तनाव बढ्नसक्ने  वासिंटनको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?