+
+

चन्द्रागिरि-चित्लाङ सडक : सरकारले थापेको धराप

‘बजेट छैन भने यो बाटो क्लोज गरिदिनुस्, हामी नौबिसेबाट घुमेर जान तयार छौं, धराप त थाप्न भएन नि,’ थाहा नगरपालिकाकी जयन्ती रायमाझीले भनिन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ १ गते २१:०५

१ माघ, काठमाडौं । गत शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा एउटा जिप दुर्घटनामा पर्‍यो ।

काठमाडौंबाट मकवानपुर चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।

यो घटना जति दर्दनाक छ, काठमाडौंको चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग त्यति नै डरलाग्दो छ ।

थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरी पहाडसम्म उकालो छ, त्यसपछि ओरालो झरेर मकवानपुरको चित्लाङ पुग्छ । यो सडकको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरि डाँडासम्म छ । त्यसपछि तुलनात्मक रुपमा सजिलो छ ।

‘बाटो त धेरै डरलाग्दो र अत्यासलाग्दो छ, तर सधैं हिँड्नुपर्छ’, यही सडकमा ट्रक चलाएर काठमाडौंबाट चित्लाङ जाँदै गरेका सरोज तामाङ भन्छन्, ‘प्रत्येकचोटि चन्द्रागिरि डाँडामा पुगेपछि भगवानलाई धन्यवाद भनेर हिँड्ने गर्छु ।’

तामाङ यही सडकमा तीन वर्षदेखि गाडी चलाइरहेका छन् । ‘ढुङ्गामाथि उफ्रिँदै आउनुपर्छ, यो सरकारले नहेरेर त यस्तो भएको हो’, आक्रोशित हुँदै तामाङ भन्छन्, ‘यही बाटोमा खलासी भएर ड्राइभर भइसकेँ, अहिलेसम्म बाटो सुधार भएन ।’

सडकका कारण सवारीसाधन टुटफुट हुनु सामान्य भइसकेको छ । गाडीको टायर टिक्दै नटिक्ने अर्को समस्या उनले सुनाए । सडक पहिले भन्दा केही फराकिलो बनाइएको छ, तर कच्ची अवस्थाका कारण हिउँदमा धुलैधुलो र वर्षामा हिलाम्य हुने हुनाले गाडी चलाउन कठिन छ ।

****

मकवानपुर थाहा नगरपालिकाका श्यामबहादुर ब्लोन काठमाडौंबाट मोटरसाइकल लिएर घरतिर जाँदै गरेको भेटिए ।

‘काठमाडौंबाट आउँदा यस्तो डरलाग्दो उकालो छ, यहाँ आएर एकछिन आराम गरेर मात्रै यात्रा गर्न सकिन्छ’, चन्द्रागिरि डाँडामा भेटिएका उनले भने, ‘खुकुरीको धारमा पैताला राखेर हिँडेको जसरी हिँड्नुपर्ने अवस्था छ । खै, कसलाई के भन्ने ? भनेर पनि सुन्ने भए पो !’

उनका अनुसार नागढुंगाबाट नौबिसे हुँदै बाइरोडको बाटो (त्रिभुवन राजपथ) जाँदा उनको घर पुग्न ३ घण्टा लाग्छ । चन्द्रागिरिबाट चित्लाङ हुँदै जाँदा दुई घण्टामा पुगिन्छ, तर सानो एउटा ढुङ्गामा अल्झिएर पनि मोटरसाइकल पल्टिने जोखिम हुन्छ ।

चित्लाङबाट गाडी चलाएर चन्द्रागिरि आइपुगेका काठमाडौं गुर्जुधाराका ट्याक्सी चालक सुमन लामाले चार–पाँच ठाउँमा धुलो माटो धेरै भएर टायर घुमेको घुम्यै हुने र गाडी अगाडि नबढ्ने बताए ।

‘तलैबाट पिकअप लिएर हुत्तिँदा दुर्घटना होला भन्ने डर हुन्छ । उकालो ठाडो छ, अनि फेरि त्यही ठाउँमा खाल्डाखुल्डी भएपछि त धेरै गाह्रो हुने नै भयो नि !,’ लामा भन्छन्, ‘झन् होचो गाडीको टुटफुट धेरै हुन्छ । धुलो उड्दा पनि गाह्रो हुन्छ । थोरै पानी परे पनि गाडी आउँदैन, विजोग नै छ ।’

सडकको अवस्था धेरै जोखिमपूर्ण भए पनि छोटो दूरी हुने भएकाले काठमाडौंबाट मकवानपुरको हेटौंडा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्ला जाने जिपहरु यही सडकबाट चल्छन् ।

वीरगञ्ज–काठमाडौंका सुमो चालक रामेश्वर पासवानले सडकमा धेरै खाल्डो र धुलो हुँदा यात्रा जोखिमपूर्ण रहेको बताए । ‘बिग्रेको बाटोमा यात्रुलाई पनि डर लाग्छ, कतिपय ठाउँमा यात्रुलाई ओराल्दै गाडी लैजानुपर्छ’, पासवान भन्छन् ।

यही सडकमा दुई वर्षदेखि गाडी चलाइरहेका चालक बद्री कार्की अहिलेसम्म यो सडकमा सहज अनुभव गर्न नपाएको बताउँछन् ।

स्कुटर चालक दिवस खत्री यसलाई सडक नभएर नक्सामात्र भएको टिप्पणी गर्छन् । ‘म स्कुटर लिएर हिँड्न थालेदेखि यस्तै छ, उकालोमा ढुंगा, धुलो देख्दा अब के भन्ने ?’, उनले भने, ‘खै, बजेट नै छैन भन्छन् । थानकोटबाट चन्द्रागिरि डाँडासम्म आइपुग्दा ज्यान र हातखुट्टा थिलथिलो हुन्छ ।’

‘कहिले घर पुगिएला भनेर कामना गर्नुपर्छ’

गाडी चालक मात्र नभई, यो सडकमा यात्रा गर्दा यात्रु पनि भगवान भरोसामा हुन्छन् । ‘हामी गाडी चलेदेखि नै कहिले घर पुगेर ओर्लिन पाइएला भनेर भगवानसँग कामना गर्दै आउनुपर्छ । परिवार नै हिँड्दा एउटै चिहान नै हुन्छ कि भन्ने डरले थुरथुर हुँदै हिँड्नुपर्छ’, जिपमा यात्रा गरिरहेकी पार्वती विष्ट भन्छिन्, ‘बाटो त बनाउनुपर्‍यो नि, नबनाउने हो भने बन्द गरिदिए जनताले नै विकल्प खोज्छन् ।’

थाहा नगरपालिका–५ शिखरकोटकी जयन्ती रायमाझीलेले यही वर्ष नै दुईवटा ठूला दुर्घटना भइसकेको सुनाइन् । ‘यो बाटो धराप थापेको जस्तो भइसक्यो, यही ८० सालमा दुईवटा एक्सिडेन्ट भइसक्यो, त्यो भन्दा अगाडि ०७७ सालमा हाम्रै देवर पर्ने भाइ बित्नुभयो’ उनले भनिन् ।

रायमाझीले यो सडकलाई सरकारले थापेको धरापको संज्ञा दिइन् । ‘बजेट छैन भने यो बाटो क्लोज गरिदिनुस्, हामी नौबिसेबाट घुमेर जान तयार छौं, धराप त थाप्न भएन नि’ उनले भनिन् ।

अर्का यात्रु अंकित डंगोलले गाडीमा बस्दा धेरै उफारेको भन्दै सरकारप्रति आक्रोश पोखे । ‘यस्तो पनि बाटो हुन्छ ? नेपालमा जे गरे पनि छुट हुन्छ । सरकारमा बस्नेहरू आफू मात्रै सुखमा बस्छन्, एसी भएका राम्रो गाडीमा हिँड्छन्, उनीहरूलाई जनताको कुरा के मतलब ?,’ उनले भने ।

यात्रुले सरकारको उपल्लो तहमा बस्नेलाई चन्द्रागिरिको सार्वजनिक यातायातमा यात्रा गरेर देखाउन चुनौती दिए । ‘प्रधानमन्त्री नै यो बाटोमा हिँड्नुपर्छ, अनि जनताको कुरा थाहा हुन्छ,’ एक यात्रुले अनलाइनखबरसँग रोष व्यक्त गरे, ‘महलमा बस्ने, हेलिकप्टरमा उड्नेलाई के थाहा हाम्रो दुःख ?’

चन्द्रागिरि–चित्लाङ सडक खण्डको मकवानपुरतर्फका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको नियतका कारण जनताले दुःख पाइरहेको बताए । ‘हाम्रा सयौं जनता प्रत्येक दिन सोही सडकबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ, जम्मा ३० करोड रूपैयाँको कुरा हो । तर यहाँ सरकारले आफ्नो नियत देखाइरहेको छ,’ बर्तौलाले भने ।

प्रधानमन्त्री, मन्त्रीको निर्वाचन क्षेत्रमा अर्बाैंको बजेट छुट्ट्याइएको भन्दै उनले सरकारको बेवास्ताको मारमा जनता परेको सुनाए । ‘यस क्षेत्रका प्रतिनिधिसहित अर्थमन्त्री, सचिवलाई भेटेको छु, संसदबाट चिच्याएको पनि छु,’ बर्तौलाले भने, ‘तर, सरकारले नियत नै राखेर बजेट नहालेपछि केही लाग्दैन रहेछ, कोसिस गरिरहेकै छु ।’

सडक कार्यालय भन्छ : बजेट छैन 

यो सडक हेर्ने सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी सरकारले पर्याप्त बजेट नपठाएकाले मर्मत सम्भार गर्न नसकेको बताउँछन् ।

‘सडक हुुनुपर्ने जति विस्तार भएकै छ, प्रत्येक तीन महिनामा हामी हेभी इक्विपमेन्टबाट आफैंले इन्धन हालेर मर्मतसम्भार पनि गरेका छौं, तर त्यो बाटो मर्मत मात्रै गरेर हुँदैन’, भण्डारीले अनलाइनखबरसँग भने ।

उनले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्र नगरेसम्म सधैं दुःख हुने बताए ।

‘चार किलोमिटर सडक मात्रै सुधार्दा पनि धेरै हदसम्म सडक राम्रो हुन्छ । कम्तीमा दुर्घटनाको जोखिम कम हुन्छ तर त्यतिका लागि पनि हामीसँग बजेट छैन’, भण्डारीले भने ।

चालू आर्थिक वर्षमा डिभिजन कार्यालयमा २२ करोड रुपैयाँ माग गरेकामा २ करोड रुपैयाँमात्र पाएको छ । ‘हामीले मागेको बजेटको १० प्रतिशत भन्दा कम आएको छ । अब यति बजेटले कति काम हुन्छ ?,’ भण्डारीले भने ।

उक्त बजेटले थानकोटतर्फको उकालोमा ५ सय मिटर कालोपत्रे गर्न सम्झौता भएको उनले बताए ।

फोटो/भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?