+
+

प्रधानमन्त्री कपमा ३ वर्षपछि विनोदको शतक

नमिता दाहाल नमिता दाहाल
२०८० माघ १ गते २१:१०

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सोमबार मधेश प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका छन् । उनको प्रधानमन्त्री कप क्रिकेटमा यो दोस्रो र समग्र घरेलु प्रतियोगितामा चौथो शतक हो ।

एउटा संयोग नै मान्नुपर्छ ३ वर्षअघि जनवरी १५ कै दिन प्रधानमन्त्री कपमा पहिलो शतक हानेका विनोदले यसपटक पनि जनवरी १५ मै शतक बनाए । ‘खास केही होइन, खेल्दै जाँदा बनेको संयोग हो’, उनले पत्रकारहरुलाई जवाफ दिए ।

२०७७ सालको प्रधानमन्त्री कपमा विनोदले गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए ।

घरेलु प्रतियोगितामा उनले पहिलो पटक सन् २०१९ मा भएको मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाएका थिए । त्यतिबेला उनले कर्णाली प्रदेशविरुद्ध ६५ बलमा १०३ रन बनाएका थिए ।

उनले तेस्रो शतक २०२१ को मार्चमा मेयर कप क्रिकेटमा बागमतीविरुद्ध बनाएका थिए । त्यो खेलमा ११९ रन बनाए पनि आर्मी १० रनले पराजित भएको थियो ।

तर यसपालि भने विनोद शतक बनाउँदै टिमलाई १२६ रनको फराकिलो जित दिलाउन सफल भए ।

त्रिवि क्रिकेट मैदानमा बिहानको ओसिलो पिचमा मधेशले टस जितेर आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । आर्मीका ओपनर इमरान शेख र सन्तोष कार्कीले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै राम्रो रन बन्ने आधार तयार गरेका थिए । पावर प्ले सकिए लगत्तैको ओभरमा इमरान व्यक्तिगत २६ रनमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की १८ रन बनाउँदै आउट भएपछि विनोद चौथो नम्बरमा ब्याटिङमा आएका थिए । जतिबेला टिमको स्कोर १६.५ ओभरमा २ विकेटको क्षतिमा ८५ रन थियो ।

पावर प्लेमा विकेट नगएको र ओपनिङमा राम्रो सुरुवात भएपछि विनोद लामो समय क्रिजमा टिक्ने र खेललाई अघि बढाउने योजना अनुसार मैदान छिरेका थिए ।

‘१० ओभरसम्म विकेट नजाओस् भन्ने थियो । शेख (इमरान) र सन्तोषले राम्रो खेलिरहेका थिए’, विनोदले भने, ‘बल फसिरहेको थियो । भित्र जाँदा जति सक्यो धेरै टिक्ने भन्ने थियो ।’

एक दिवसीय क्रिकेटका लागि राष्ट्रिय टिममा पर्ने र बाहिरिने गरिरहे पनि विनोद टी–२० टिममा भने परिरहेका थिए । उनले गत अक्टोबरमा भएको एसियाली खेलकुदमा राष्ट्रिय टिमबाट २० ओभरको क्रिकेट खेलेका थिए ।

त्यस्तै दुई हप्ताअघि मात्रै वीरगञ्जमा भएको टी–२० फर्म्याटकै नेपाल प्रोक्लब च्याम्पियनसिप पनि उनले खेलेका थिए । लगतार टी–२० खेलिरहेकाले एकदिवसीयमा सिफ्ट हुँदा जति सक्यो धेरै समय क्रिजमा टिक्ने लक्ष्य नै आफ्नो रहेको विनोद सुनाउँछन् ।

उनले पाँचौ विकेटका लागि कुशल मल्लसँग १३२ रनको शतकीय साझेदारी गरे । यो साझेदारीले नै आर्मीलाई ३२० को बलियो लक्ष्य तयार गर्न सहज भएको थियो ।

दुई जनाले एक अर्कालाई बुझ्दा साझेदारी गर्न सहज भएको विनोदले बताए । ‘हाम्रो कम्बिनेसन मिल्छ, मेरोबाट डट भए पनि उसको बाट रन आउँछ भन्ने विश्वास एक अर्कामा हुन्छ’, उनी भन्छन् ।

कुशल ३७ रन बनाउँदै आउट भएपछि आएका विवेक यादवसँग २० रनको साझेदारी गरेपछि विनोद व्यक्तिगत ११३ रनमा आउट भए ।

४३.५ ओभर सकिएको त्यतिबेला आर्मीको स्कोरबोर्डमा ६ विकेटको क्षतिमा २५४ रन बनेको थियो । त्यसपछि विवेक व्यक्तिगत ३७ तथा बसिर अहमद १६ रन बनाउँदै आउट भए । खेलको अन्तिम बलमा १० विकेट गुमाउँदा आर्मीले ३२० रन बनाएको थियो ।

एस्ट्रो टर्फको अभ्यासले सुधार

यो प्रतियोगिताका लागि आर्मीले हिमालयन क्रिकेट एकेडेमीको एस्ट्रो टर्फ (कृतिम घाँस) मा अभ्यास गरिरहेको छ । टर्फमा गरेको अभ्यासले नै सबै खेलाडीलाई खेल्न र खुल्न सहज भएको विनोदको ठम्याइ छ ।

‘यो पटक हामीले टर्फमा ट्रेनिङ गर्दा पनि फरक परेको हो,’ उनले भने, ‘सबै खेलाडीलाई खेल्न सहज भएको छ ।’ टर्फको अभ्यासले बलरमा पनि आत्मविश्वास बढेको र नतिजा निस्किएको बताए ।

३२१ रनको लक्ष्य पछ्याएको मधेशलाई आर्मीका बलरले ४८.४ ओभरमा १९४ रनमा अल आउट गरेका थिए । साहब आलम एक्लैले ४ विकेट लिए ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?