+
+

धनुषामा मृत भेटिएका राधेकी श्रीमतीको पनि मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १०:४५

२ माघ, जनकपुरधाम । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।

सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए ।

ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्‍याइदिएका थिए ।

माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । ‘माइतमा अस्मितालाई घाइते अवस्थामा छाडेर साथीहरु भागे । श्रीमान् राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गर्यौं । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।

मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो । तर, दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पुर्‍याएर भागेको पाइएको छ ।
प्रहरीले भागेका तीनैजना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ ।

राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?