+
+

भारतमा ‘हनुमान’को आक्रामक कमाइ, नेपालमा शुक्रबार रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १२:०२

काठमाडौं । भारतमा पछिल्लो समय ठूलो अपेक्षा नगरिएका फिल्मले बक्स अफिसमा सुनामी ल्याइरहेका छन् । ‘ट्वेल्थ फेल’पछि पालो ‘हनुमान’को आएको छ ।

तेजा सिज्जा स्टारर सुपरहिरो फिल्मले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइलाई निरन्तरता दिएको छ । फिल्मले चौथो दिनसम्म भारतीय बक्स अफिसमा ५५.१५ करोड नेट भारु कमाएको छ ।

सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मले कमाउने गति रोकिने छाँट छैन । महेश बाबुको तेलुगू फिल्म ‘गुन्तुर कारम’, धनुषको तमिल फिल्म ‘क्याप्टेन मिल्लर’ र कट्रिना क्याफ र विजय सेतुपाती स्टारर ‘मेरी क्रिसमस’सँगै ‘हनुमान’ पनि शुक्रबार रिलिज भएको थियो ।

रिलिजअघि नै बिहीबार फिल्मले ४.१५ करोड नेट भारुको एड्भान्स टिकट बिक्री गरेको थियो । शुक्रबार सबै भाषामा ८.०५ करोड नेट भारु कमायो । शनिबार १२.४५ करोड, आइतबार १६ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रशान्त वर्माद्वारा निर्देशित ‘हनुमान’मा तेजा सज्जासँगै वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राय मुख्य भूमिकामा छन् । कसरी एक साधारण मानिसले अप्रत्यासित रूपमा महाशक्ति हासिल गर्छ र आफूभित्र नयाँ शक्ति पत्ता लगाउँछ भन्ने कथावस्तुमा फिल्म बनेको हो । यो क्षमता उसमा आइसकेपछि उक्त पात्र राम्रो र नराम्रोबीचको लडाइँमा उत्रिन्छ ।

अभिनेता तेजा सज्जाले हालै आफ्नो सुपरहिरो साइ–फाई फिल्म हनुमानको बारेमा कुरा गरेका थिए । समाचार एजेन्सी एएनआईलाई उनले भने, ‘सुपर हिरो फिल्म गर्ने विचार मेरो लागि धेरै रोमाञ्चक छ, यसको सम्पूर्ण प्रक्रिया निकै रोमाञ्चक रह्यो । यस फिल्ममा एक जवान केटाले भगवान हनुमानको कृपाले महाशक्ति प्राप्त गर्छ र त्यसपछि कसरी उसले आफ्नो लागि लड्छ भन्ने दर्शाइएको छ ।’

फिल्ममा बालबालिकाको मनोरञ्जनका लागि सुपरहिरो एक्सन सिक्वेन्स र धेरै कमेडी मिश्रण गरिएको छ । ‘यो हाम्रो इतिहास हो, सुपरहिरो तत्वसँग पनि जोडिएको छ । हामीले हाम्रो भारतीय इतिहासलाई सुपरहिरो कन्सेप्टसँग मिसाउने प्रयास गरेका छौं । त्यसैले यो निकै मनोरञ्जनात्मक फिल्म हो,’ उनले भने ।

नेपालमा शुक्रबार रिलिज हुने

भारतमा निकै चर्चा पाइरहेको र राम्रो व्यापार गरिरहेको यो फिल्म आगामी शुक्रबार नेपालमा समेत प्रदर्शन हुने भएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई रिलिज गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?