+
+

कहाँ गए त्रिशूलीमा खसेको गाडीका ड्राइभर ?

प्रहरी भन्छ – दुर्घटनापछि डराएर भागेको जस्तो देखिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते २१:४५

२ माघ, काठमाडौं । मंगलबार बिहान करिब ५ बजेतिर नारायणगढ–मुग्लिन खडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा एउटा गाडी खस्यो ।

स्थानीय बासिन्दाले नदीमा बत्ती बलेको देखेपछि जिल्ला प्रहरी कार्यालय, चितवनमा खबर गरेका थिए । खोजीका लागि खटिएको सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पार्‍यो । यद्यपि, कोही पनि मानिस फेला पार्न सकेन ।

‘मान्छे भएको जस्तो संकेत पनि केही नदेखिएपछि टोली त्यहाँबाट फर्कियो’, सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जना परिचालित थिए ।’

थापाका अनुसार, गाडीमा मान्छे रहेको कुनै संकेत फेला नपरेपछि फर्किएको थियो । त्यसक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनले चालकबारे खोजी र सोधपुछ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीका अनुसार, घटनास्थल नजिक पुग्नुअघि चेक पोइन्टमा गरेको इन्ट्रीको आधारमा गाडीमा एक जना व्यक्ति मात्र भएको पाइएको छ ।

‘त्यो समयमा हिंडेका गाडीका चालकहरुसँग पनि सोधपुछ गरेका थियौं, त्यसक्रममा एउटा गाडीका व्यक्ति ड्राइभरसँग लिफ्ट मागेर गएको देखेको बताएका छन्’, उनले अनलाइनखबरसँग भने, ‘ट्यांकर ड्राइभरले घटना भएका बेला पानीले भिजेर लगलग काम्दै गरेका पातलो मान्छे माथि आएको देखेका रहेछन्, ऊ गाडी चढेर गएको र सकुशल रहेको बयान दिएका छन् ।’

प्रहरीका अनुसार, चेक पोष्टमा बुझाएको विवरणका आधारमा गाडीका चालक भारतीय नागरिक १८ वर्षीय सनी कुमार हुन् ।

‘उनी भारत, बिहारको देवसुरा भन्ने ठाउँका बासिन्दा रहेछन्, उनको परिवारका सदस्यसँग पनि सम्पर्क गरेका छौं’, भण्डारीले भने, ‘दुर्घटना भएपछि डराएर भागेको जस्तो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?