+
+

नेपाल कुनै सैन्य संगठनमा सामेल हुँदैन : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १९:५०

३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । युगाण्डाको कामपालामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार नगर्ने बताएका हुन् ।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं र कुनै पनि देशको सुरक्षा सम्झौताको हिस्सा हुन पनि स्वीकार गर्दैनौं,’ बैठकमा सम्बोधन गर्ने क्रममा मन्त्री साउदले भने, ‘हामी सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं ।’

आगामी ५ र ६ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिन युगान्डाको राजधानी कम्पाला पुगेका साउदले विश्वव्यापी समृद्धिका लागि गहिरो साझेदारी हुनुपर्ने बताए । ‘नाम’ एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको भन्दै झण्डै सात दशकको यात्रामा यो संगठन साझा मूल्यहरूको बारेमा सचेत रहेको समेत धारणा राखे ।

असंलग्न आन्दोलन संगठित भएको ७ दशकमा सदस्यराष्ट्रहरू साझा मूल्यप्रति सचेत रहेको भन्दै त्यसैले एकताबद्ध गरेको धारणा साउदले राखे । यस अवधिमा सदस्य राष्ट्रहरूले सधैँ राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, पारस्परिक सम्मान र लाभसाथै अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी गर्को उनको भनाइ थियो ।

रसिया–युक्रेन युद्ध र प्यालेस्टाइन–इजरायल युद्धतर्फ संकेत गर्दै साउदले विश्वले खराब परिस्थितिको सामना गरिरहेको बताए । उनले कोरोना महामारी, जलवायु परिवर्तन, युद्ध, मूल्यवृद्धि, मुद्रास्फीति र आर्थिक ऋण वर्तमान विश्वका लागि चुनौती भएको समेत उल्लेख गरे ।

उनले आगामी दिनमा नामले बहुपक्षीयता प्रवर्द्धन गर्न, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, विवादहरूको शान्तिपूर्ण समाधान खोज्न, विश्वव्यापी वित्तीय संरचना सुधार गर्न, साझा समृद्धिका लागि न्यायपूर्ण विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्न निर्णायक भूमिका खेल्नुपर्ने बताए ।

असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्षता सन् २०२२ देखि युगान्डाले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?