+
+
वार्ता : एनपी साउद :

‘प्रधानमन्त्रीको पदावधिबारे लचिलो प्रस्ताव लगेका थियौं, तैपनि कुरो मिलेन’

मूलतः एमाले र माओवादी दुवै पार्टीभित्र वामपन्थी एकताको लागि पहिलेदेखि नै काम गरिरहेका मान्छे थिए । तिनीहरुले अहिले निर्णायक हस्तक्षेप गरेको हुनुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १९:१२

२१ फागुन, काठमाडौं । कांग्रेस–माओवादी केन्द्रबीचको सत्ता समझदारी भत्किंदैछ भन्ने आभास पाएर प्रचण्ड सरकारका परराष्ट्रमन्त्री एनपी साउदले अन्तिम समयमा फिनल्यान्डको भ्रमण रद्द गरे ।

उनले गठबन्धन टुट्नुमा एमाले–माओवादी सहकार्यका लागि पहल गरिराख्ने पक्ष कारक रहेको औंल्याए । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट मानिने नेता साउदसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले गरेको यो कुराकानी :

के कारणले भत्कियो तपाईंहरुको सत्ता गठबन्धन ?

केही कुराहरुमा सुरुदेखि नै असहमति छँदै थिए । तर खासगरी हाम्रो पार्टीको महासमितिका केही निर्णय र मन्त्रिपरिषद पुनर्गठन गर्ने सम्बन्धमा हामीहरुबीचमा फरक मत थियो । यसलाई समयमा सुल्झाउन सकिएन । परिस्थिति अगाडि बढ्दैजाँदा समीकरण बदलिन पुग्यो ।

प्रधानमन्त्री र पार्टी सभापति देउवाबीचमै कुरा मिलेन कि मन्त्रीहरुले मान्नुभएन ?

अन्तिम समयसम्म पनि हामीले राष्ट्रियसभादेखि मन्त्रिपरिषद पुनर्गठनमात्रै नभई प्रधानमन्त्रीको पदावधिसम्मकै कुरामा पनि लचक प्रस्तावहरु राखेका थियौं । तर पनि कुरा मिलेन । त्यसैले अन्ततोगत्वा प्रधानमन्त्रीकै निर्णयमा यो गठबन्धन टुटेको हो ।

यी कुराहरुलाई पार्टीगत सम्बन्धकै आधारमा हेर्नुपर्छ । प्रधानमन्त्रीसँग कुनै मन्त्रीले व्यक्तिगत हैसियतले गरेका कुरा हुन् भन्ने त केही छैन ।

गठबन्धनका दुई पार्टीहरुका बीचको असहमतिका कुरालाई समयमा व्यवस्थापन गर्न सकिएन । त्यसैले गठबन्धन बदलियो ।

तपाईंले विदेश भ्रमण नै रोक्नुभयो । एमाले र माओवादी मिल्दैछन् भन्ने छनक पाएर रोकिनुभएको हो ?

केही दिनदेखि नै परिस्थिति जटिल बन्दै गइरहेको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनावभन्दा पहिले यो जटिल परिस्थितिको व्यवस्थापन हुन्छ कि हुँदैन भन्ने आशंका थियो । हामीलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने नै लागेको थियो ।

मैले प्रधानमन्त्रीज्यूसँग सोधें– ‘गठबन्धनका बारेमा विभिन्न हल्ला चलेका छन्, क्याबिनेटले मलाई विदेश पठाउने निर्णय गरेको छ, म यस्तो बेलामा जानु उपयुक्त छ कि छैन ?’ प्रधानमन्त्रीले एक दुई दिन तपाईं नगए हुन्छ, बरु यहीँ बसेर मिलाउन सहजीकरण गर्नुहोस् भन्नुभयो । त्यसपछि हिजो साँझ भ्रमण रद्द गरेँ ।

सभापतिले प्रधानमन्त्रीबाट हामीलाई धोका भयो भन्नुभएछ । पार्टीको बुझाइ के हो ?

केही गुनासो र समस्या भए पनि गठबन्धन तोड्नुपर्ने तहको मतभेद भइसकेको थिएन । नेपाली कांग्रेस गठबन्धनलाई निरन्तरता दिनमै केन्द्रित थियो ।

अन्तिम समयसम्म पनि हामीले राष्ट्रियसभादेखि मन्त्रिपरिषद पुनर्गठनमात्रै नभई प्रधानमन्त्रीको पदावधिसम्मकै कुरामा पनि लचक प्रस्तावहरु राखेका थियौं । तर पनि कुरा मिलेन । त्यसैले अन्ततोगत्वा प्रधानमन्त्रीकै निर्णयमा यो गठबन्धन टुटेको हो । उहाँहरुले एमालेसँग नयाँ गठबन्धन बनाउनुभयो ।

भनेपछि कांग्रेस प्रचण्डलाई दिने भनेको सुरुको दुईवर्षे प्रधानमन्त्रीकाल अझै तन्काउन तयार थियो ?

म यो बेलामा सबै कुरा बाहिर ल्याउन चाहन्नँ । तर कांग्रेसले लचिलो भएर प्रचण्डसामु प्रस्ताव पठाएको थियो । गठबन्धन जोगाउनका लागि गर्न मिल्ने सबै कोशिश भएका थिए ।

तपाईं परराष्ट्रमन्त्री पनि भएकाले सोधुँ, सरकारका पात्रहरु फेरबदलमा भूराजनीतिक रुचि पनि जोडिएको छ भन्ने सुनिन्छ । खासगरी प्रधानमन्त्री चीन गएका बेला बीआरआईमा कुनै पनि प्रगति हुनेगरी कदम नचाल्न अर्को छिमेकीको दबाब थियो, जसबाट प्रधानमन्त्री बिच्किएका थिए भन्ने पनि उच्च स्रोतहरु बताउँछन् । खास कुरा के हो ?

मूलतः घटनाक्रमहरु देशभित्रकै पात्रहरुबाट सम्पादन हुने हुनाले भूराजनीतिलाई यसको निर्णायक कारकका रुपमा व्याख्या गर्नु हुँदैन ।

प्रधानमन्त्रीज्यूको चीन भ्रमणका बेला नेपालले विगतमा नै सैद्धान्तिक सहमति दिइसकेको बीआरआईको कार्यान्वयनका लागि उपयुक्त समयमा छलफल गर्दै उपयुक्त निर्णय गर्दैजाने भन्ने त थियो नै । त्यसैले यसमा नेपाललाई फाइदा हुने कुराको यकिन गर्दै अघि बढ्न कुनै शक्तिले रोक्यो भन्ने मलाई लाग्दैन ।

यति नै कारणले गठबन्धन टुटेको हो भन्ने पनि होइन । मूलतः एमाले र माओवादी दुवै पार्टीभित्र वामपन्थी एकताको लागि पहिलेदेखि नै काम गरिरहेका मान्छे थिए । तिनीहरुले अहिले निर्णायक हस्तक्षेप गरेको हुनुपर्छ ।

अब टीआरसी विधेयकका विषयमा कांग्रेसले सत्ता भित्र र बाहिर हुँदा लिने अडानमा कत्तिको फरक पर्ला ?

टीआरसीमा कांग्रेसले विगतदेखि नै परिपक्व किसिमले निर्णय गर्दै आएको छ । शान्ति प्रक्रियाका हामी सूत्रधार र जिम्मेवार पक्ष पनि हौं । यो समस्याको उपयुक्त किसिमले निराकरण हुनुपर्छ । पीडितमैत्री हुनेगरी अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने किसिमले टीआरसी विधेयक अघि बढ्नुपर्छ । कांग्रेसले यसमा तलमाथि खेल्दैन ।

हामीले राजीनामा गरेका कारण गठबन्धन टुटेको हो कि प्रधानमन्त्रीले नचाहेर गठबन्धन टुटेको हो भन्ने प्रश्न उठ्छ । त्यसैले गठबन्धन तोड्ने कुराको दायित्व कसमा राख्ने भन्ने कुरा महत्वपूर्ण छ ।

माओवादीसँग गठबन्धन वा सहकार्य नफाप्ने रहेछ भन्ने कांग्रेसको निष्कर्ष हो ? किनभने पार्टीभित्र पनि ठूलो आवाज उठ्यो ।

गठबन्धन फाप्ने वा नफाप्ने भन्दा पनि यो प्रश्नको विभिन्न आयाम छ । अहिलेको संविधानमा एकल पार्टीको सरकार बनाउन निर्वाचन प्रक्रियाले नै केही जटिल बनाइदिएको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै पार्टीले संसदमा ५० प्रतिशत मत ल्याउने कुरा गाह्रो छ ।

त्यसैले जुनसुकै गठबन्धन पनि अस्थिर छन् । एमाले र माओवादीको गठबन्धन दुई तीन महिना मात्रै चल्यो । हाम्रो गठबन्धन पनि आठ दस महिनामा धर्मर भयो ।

तर आज बिहान प्रधानमन्त्रीले सुखानीका शहीद परिवारलाई भेट्दा भनेको कुरा याद गर्नुभयो होला नि – हामी यसलाई गठबन्धनमात्रै होइन, फेरि कम्युनिस्ट एकतातर्फ पुर्‍याएर शहीदका सपना पूरा गर्छौं !

कम्युनिस्टहरुलाई ध्रुवीकरण गर्ने धार एमाले र माओवादीभित्र छ । समय समयमा त्यो पुनर्संगठित भएर आइराख्छ । त्यो कोणबाट पनि यो गठबन्धन बनाउने कोशिश भएको हुन सक्छ ।

अब तपाईंहरु मन्त्रीबाट राजीनामा दिनुहुन्छ कि यत्तिकै रहनुहुन्छ ?

राजीनामा दिने कुरा ठूलो होइन । तर हामीले राजीनामा गरेका कारण गठबन्धन टुटेको हो कि प्रधानमन्त्रीले नचाहेर गठबन्धन टुटेको हो भन्ने प्रश्न उठ्छ । त्यसैले गठबन्धन तोड्ने कुराको दायित्व कसमा राख्ने भन्ने कुरा महत्वपूर्ण छ ।

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो भन्ने कुराका लागि पनि हामी राजीनामा नदिईकन उहाँले मन्त्रिपरिषद पुनर्गठन गरेपछि बाहिरिने भनेर बसेका छौं ।

प्रधानमन्त्रीले कांग्रेसले मलाई प्रधानमन्त्रीका रुपमा सबलतापूर्वक काम गर्न दिएन भनेर भनिसक्नुभयो नि ?

गठबन्धनमा हाम्रो तर्फबाट, सबै पार्टीका तर्फबाट इमानदारीपूर्वक काम गर्ने प्रयत्न भएकै थियो । कसैका काम राम्रो, कसैको कमजोर हुनु मानवोचित गुण हो । समग्रमा राम्रै चलिरहेको महसुस गरेका थियौं ।

नियमकानुनलाई सम्मान गरेर इमानदारीपूर्वक काम गर्दा सरकारलाई लज्जाबोध नै हुनेगरी कांग्रेसका तर्फबाट कुनै काम गरिएको थिएन । अन्डरपर्फर्मेन्स गरियो भन्ने लाग्दैन ।

गठबन्धन फेरिराख्ने प्रचण्ड कस्तो नेता हुनुहुँदो रहेछ त ?

उहाँले नहटाउँदासम्म म अहिले पनि मन्त्री नै छु । मैले उहाँको बारेमा कुनै प्रतिक्रिया दिनु राम्रो होइन । तर उहाँसँग हामीले जेजस्तो भए पनि सहकार्य त गरेकै हौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?