+
+

परराष्ट्रमन्त्रीले भेटे रुसी सेनामा गएका नेपालीका परिवार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:०६

१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रूपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन् । मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तलाई मंगलबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

‘कानुनी बाटोबाट गएको भए हुन्थ्यो । गैरकानूनी बाटोबाट गएका छन् । जसरी गएका भएपनि उनीहरूका प्रति राज्यको दायित्व छ’, परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु । गरिरहने छु ।’

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले उनीहरूका परिवारलाई जानकारी गराए ।

साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए ।

उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे । घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने साउदको भनाइ थियो ।

रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो ।

परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको समेत जानकारी दिए ।

साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए ।

उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?