+
+

मधेशका मुख्यमन्त्रीले उपलब्धि सुनाउँदा जनमतको नाराबाजी

स्वाभिमान दिवसमा सत्ता गठबन्धनबाटै हल्लिएको सरकार

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० माघ ३ गते २१:०६

३ माघ, जनकपुरधाम । मधेश सरकारले एक वर्ष पूरा भएको अवसरमा बुधबार बिहान ११ बजे उपलब्धि सार्वजनिकीकरण कार्यक्रम राखेको थियो ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभा हलमा झण्डै दुईघण्टा ढिलो कार्यक्रम सुरु भयो । प्रदेश सरकारका सबै मन्त्री उपस्थित मञ्चबाट मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षको उपलब्धिको २२ पृष्ठ लामो फेहरिस्त पढेर सुनाए ।

त्यही बेला मानिसहरुको एक समूह विभिन्न नारा लेखेको प्लेकार्डसहित हलभित्र प्रवेश गरे र नाराबाजी सुरु गरे, ‘साइकल चोरलाई कारबाही गर, भ्रष्टाचारी सरकार मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गर …।’

अचानक नाराबाजी हुन थालेपछि कार्यक्रम नै बिथोलियो । नाराबाजी गर्ने समूह सरकारमै सहभागी दल जनमत पार्टीका नेता कार्यकर्ता थिए । जनमत पार्टीका नेता शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह मञ्चमै थिए ।

प्रदर्शन गर्ने समूहको नेतृत्व जनमतका केन्द्रीय सचिव विपी साहले गरेका थिए । यो समूहले करिब तीन मिनेट नाराबाजी गरेपछि हलबाट बाहिर निस्कियो । अनि मुख्यमन्त्री यादवले ‘साइकल काण्ड हमारे पालामे थोरही न हुवा है’ (साइकल काण्ड हाम्रो पालामा भएको थिएन ।)’

मञ्चबाटै जनमत पार्टीका नेता तथा मन्त्रीमाथि मुख्यमन्त्रीले असन्तुष्टि राखे, ‘सरकार भ्रष्ट छ भने जनमत किन सरकारमा बसेको, छाडे भयो नि ?’

जनमत र जसपाबीचको तिक्तता नयाँ होइन । सरकारको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा जनमतले देखाएको व्यबहारले जसपा थप चिढिएको छ ।

जसपाका नेता तथा अर्थमन्त्री सञ्जयकुमार यादवले जनमतले गैरराजनीतिक र अनुशासनहीन चरित्र देखाएको बताए । ‘जुन विषयसंग अहिलेको सरकारलाई सरोकारै छैन । यो छानबिनको विषय उठाएर जनमतले गर्न खोजेको स्टन्टबाजी विलकुलै गैरराजनीतिक चरित्र हो । उदण्डताको चरम सीमा हो’ उनले भने । यो विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने मन्त्री यादवले बताए ।

जसपा नेतृत्वको अघिल्लो सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत छात्रालाई साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । जनमतले त्यही विषय उटाएर बुधबार प्रदर्शन गरेको थियो ।

जनमतका संसदीय दलका नेता शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव भने मधेश सरकार जसपाको एकलौटी नभएको बताउँछन् । ‘यो गठबन्धनको सरकार हो । कसैको एकलौटी सरकार होइन, जहिले गठबन्धनबाट हट्छौं सरकारमा पनि रहदैनौं’, मन्त्री यादवले भने ।

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा पनि सरकारमै बसेर सरकारको विरोध गरेर जनमत पार्टीले द्वैध चरित्र देखाएको बताउँछन् । ‘सीके राउत जस्तो वौद्धिक व्यक्तिले नेतृत्व गरेको पार्टीमा सुझबुझको अभाव देखियो, जनमतले नागरिकलाई भ्रमित गर्ने प्रयास गरेको छ’, उनले भने ।

सरकार भ्रष्ट भए त्यसको जवाफदेही जनमत पार्टी पनि रहेको विश्लेषक झाले बताए ।

जनमत पार्टीका सचिव साह भने सरकारमा भए पनि गलत कामको विरोध गर्न मिल्ने जिकिर गर्छन् । ‘सरकारमा भएपछि किन विरोध गर्न पाइँदैन ?’, उनले प्रश्न गरे, ‘कुन कानुनमा लेखिएको छ ? कसरी यसलाई दोहरो चरित्र देखायो भन्न मिल्छ ?’

मधेशमा जसपा र जनमतबीचको सम्बन्ध सरकार निर्माणकै बेलादेखि राम्रो छैन । सरकारको नेतृत्व गरेको जसपाले जनमतलाई सरकार गठन भएदेखि नै अप्ठेरो पार्दै आएको छ ।

जनमतले मागेको सामाजिक विकास मन्त्रालय जसपाले दिएन । जनमतको रोजाइकै भूमि व्यवस्था तथा कृषि मन्त्रालय पनि मुख्यमन्त्री यादवले एकीकृत समाजवादीलाई दिए । सामाजिक विकास मन्त्रालय विभाजन गरी जनमतका महेश प्रसाद यादवलाई शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिए ।

असोज तेस्रो साता सल्लाहबिनै पुनः सो मन्त्रालयलाई विभाजन गरी विना विभागीय मन्त्री रहेकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय दिए । जनमतका मन्त्री यादवले मन्त्रिपरिषदमा छलफल नै नगरी चोर बाटोबाट मन्त्रालय विभाजन गरेको बताएका छन् ।

‘जमतका मन्त्रीले गरिरहेको राम्रो कामबाट जसपा अत्तालिएको छ, त्यही कारण बेलाबेला हामीलाई पेल्ने गरेको छ’, मन्त्री यादव भन्छन् ‘गठबन्धन सरकार भए पनि कुनै सल्लाह नगरी सरकारले मनपरी गरिरहेको छ ।’

जसपाका नेता तथा अर्थमन्त्री यादव भने जनमत पार्टीको आरोप इन्कार गर्छन् । ‘गठबन्धनकै सहमति अनुसार सबैलाई व्यवस्थापन गर्न मन्त्रालय विभाजन र जिम्मेवारी हेरफेर गर्ने गरिएको छ । कुनै एक व्यक्ति वा दलको निर्णयले भएको हैन’, उनले भने ।

जसपा र जनमतबीचको विवाद यतिमै मात्रै सीमित छैन । २०७९ मंसिरमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी २ मा पराजित गरिदिए । त्यसपछि बारा–२ बाट निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादवलाई सत्ता गठबन्धनको सहयोगमा उपराष्ट्रपति बनाएर अध्यक्ष उपेन्द्र यादवले उक्त क्षेत्र आफ्नो लागि खाली गरेका थिए ।

सत्ता गठबन्धनले यादवलाई साझा उम्मेदवार तोके पनि सीके राउतले आफ्नो पार्टीको अलग्गै उम्मेदवार उठाए । जहाँ उपेन्द्रलाई पराजित गर्न आफ्ना उम्मेदवार शिवचन्द्र कुशवाहाको चुनाव प्रचारमा सीके राउत नै खटिए ।

यद्यपि उपेन्द्र प्रतिनिधिसभामा निर्वाचित भए । यी घटनाक्रमले मधेशमा जसपा र जनमतको सम्बन्ध झन् बिग्रिदै गएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पनि सत्ता गठबन्धनको भागवण्डामा मधेशमा जसपाले उम्मेदवार पाएपछि जनमतले छुट्टै उम्मेदवार खडा गरेको छ ।

स्वाभिमान दिवसमा गठबन्धन विभाजित

मधेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रमपछि मनाइएको स्वाभिमान दिवसमा गठबन्धन विभाजित भएको छ । कला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मधेश सरकारले जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । उक्त कार्यक्रममा जसपा, नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रतिनिधि सहभागी भए ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता घटक माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशसभामा छुट्टै कार्यक्रम आयोजना गरे । जसपाले पार्टी केन्द्रित कार्यक्रम गरेकाले आफूहरुले छुट्टै कार्यक्रम राखेको जनमत पार्टीका नेता तथा मन्त्री महेशप्रसाद यादव बताउँछन् ।

३ माघ २०७८ मा तत्कालिन प्रदेश नं. २ को नाम परिवर्तन गरी मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको दिनलाई मधेश सरकारले स्वाभिमान दिवशको रुपमा मनाउँदै आएको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?