+
+

खोटाङमा विदा सुविधा नलिने प्रहरीलाई सोधियो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १६:०६

४ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले किन कुनै किसिमको विदामा नभएको भन्दै खोटाङ प्रहरीले ५ जना जवानलाई स्पष्टीकरण सोधेको हो ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार, सुविधा अनुसार विदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले विदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।

‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, विदा बस्नलाई प्रोत्साहित गर्न खाजेका हौं’, खड्काले भने, ‘घर विदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’

प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् । ‘कतिपय विदा त प्रहरीले लिनै पाउँदैनन्, लामो समयसम्म काममा मात्र भइरहँदा गुणस्तरीय सेवा प्रवाहमा पनि असर गर्नसक्छ । त्यसैले विदा जान प्रात्साहन गर्न खोजेका छौं’, उनले भने ।

स्पष्टीकरणको सम्बन्धित अधिकारीहरुले जवाफ पनि दिइसकेको खड्काले बताए । ‘कतिले लामो विदा जानलाई नलिएको भन्नुभएको छ, कसैले माघमा लिने भन्नुभएको छ, कतिपयले काम नपरेकाले भन्नुभएको छ’, खड्काले भने ।

हेर्नुस् स्पष्टीकरण पत्र :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?