+
+

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

पक्राउ पर्नेको संख्या ३ पुगे

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १९:३९

१७ वैशाख, काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

सोमबार मात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ ।

यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । एउटा केशबाट प्रहरीले यो प्रकरणलाई अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भने थुप्रै लाइसेन्सहरु यसैगरी जारी भएको हुनसक्ने देखिएको छ ।

उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका सबै सरकारी कर्मचारी भएकाले उनीहरुले क्षेत्राधिकार बाहिर गएर सीआईबीले पक्राउ गरेको भन्दै म्याद थप गर्न नहुने जिकिर गरेका थिए । स्मार्ट लाइसेन्समा डिजिटल कीर्ते हुने र त्यसबारे कानुनमा समेत प्रष्ट उल्लेख नभएको भन्दै म्याद थप गर्न नहुने तर्क उनीहरुको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १ लाख भन्दा बढी लाइसेन्समाथि छानबिन गरिरहेको छ । सोही छानबिनका लागि भन्दै आईटी इन्जिनियर अर्याललाई काजमा अख्तियारले आफ्नो कार्यालयमा लगेको थियो । अख्तियार स्रोतका अनुसार उनी १ लाख भन्दा बढी नक्कली लाइसेन्स प्रकरणमा समेत जोडिएको र आईटी इन्जिनियर समेत भएकाले अनुसन्धानका लागि सहज हुने भन्दै केही दिनअघि मात्रै अख्तियारमा काज गरिएको हो ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?