+
+

ठेक्का लागेको दुई वर्षपछि सिद्धबाबा सुरुङ खन्न सुरु

अच्युत पुरी अच्युत पुरी
२०८० माघ ४ गते २०:१३

४ माघ, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिकरूपमा सुरु भएको जानकारी गराएका छन् । यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले पाएको छ ।

यहाँ कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७ सय ८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

राजदूत सोङले आयोजनामा काम सुरुवात गरेकोमा कम्पनीलाई बधाइसमेत दिएका छन् । उनले पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि त्यस क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान गर्ने बताएका छन् ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो । सीएससीईसीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडेलमा सुरुङमार्गको ठेक्का पाएको हो । यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो ।

अहिले नारायणगढ–बुटवल सडकखण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्ग बनाउन थालेको हो । यो सडकखण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माण जिम्मेवारी पाएको हो ।

यो निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको कामसमेत गरिदिनुपर्ने सर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार त्यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगा सिधै तल झार्ने छ । यसरी कुल तीन किलोमिटर सडक सुरक्षित गराउने योजना छ ।

सुरुङमार्गका तीन स्थानमा खुला ठाउँ राखिने छ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ । सुरुङमार्ग निर्माण गर्न १६ पुसबाट सिद्धार्थ राजमार्गसमेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साँघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?