+
+
पुस्तक समीक्षा :

‘शब्दशिविर’ को शिविरभित्र चहार्दा

खगराज बराल खगराज बराल
२०८० माघ ६ गते १७:२५

२०६२ सालतिरको कुरा हो, उदीतनारायण झा र दीपानारायण झाको स्वर र आलोकश्रीको संगीत भएको ‘उपहार’ अल्बमको ‘वनमाराले वनै खायो, पीरै पीरले जीउ खायो, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो’ बोलको गीत निकै चर्चामा थियो । म शैक्षिक तालिम केन्द्र, तनहुँमा प्रशिक्षक पदमा कार्यरत थिएँ । त्यसबेला मेरो काम प्रशिक्षण र तालिम परीक्षाको व्यवस्थापन थियो । परीक्षा शाखामा पर्वत घर भएकी र भारतको हरिद्वारमा पठनपाठन गरेकी कम्प्युटर अपरेटर हुनुहुन्थ्यो । उहाँले उपहार अल्बमको सिडी कम्प्युटरमा राखी स्पिकर लगाएर यी गीत पटक-पटक बजाउनुहुन्थ्यो । गीत आफैंमा ज्यादै मीठो र कर्णपि्रय थियो । पटक-पटक यो बोलको गीत सुनेपछि मैले उहाँलाई सोधें, ‘यो वनमारा भनेको के होला ?’

उहाँले हाँस्दै सहज रूपमा उत्तर दिनुभयो, ‘वनमा रूख काट्ने मान्छे ।’ उहाँको जवाफले मलाई पनि हाँस्न बाध्य बनायो । भारतमा पढेको हुनाले उहाँको बोलीमा हिन्दीको लवज आउँथ्यो नै, कतिपय नेपाली शब्दमा उहाँ अलमल पर्नुहुन्थ्यो ।

संगीतको भाषाले कुनै देश, सीमाना, जात, धर्म, रङ, वर्ण, सम्प्रदाय भन्दैन । शब्दको अर्थ नबुझे पनि संगीतको तरंगमा मानिस बहिदिन्छ । ‘वनमारा’ शब्दको अर्थ थाहा नभए पनि उहाँलाई यो गीत निकै मन परेको थियो ।

यस गीतका गायक उदीतनारायण झा तथा दीपानारायण झा र संगीतकार आलोकश्रीको नाम चिरपरिचित थिए । गीतकारको नाम भने अल्बममा पढे पनि गीतकारलाई चिनेको थिइनँ मैले । गीतकारको नाम थियोे, मुकुन्दराज शर्मा ।

२०६९ सालमा म नेपालको एसएलसी परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको नियन्त्रक भएँ । परीक्षाका प्रश्नपत्र निर्माणको चरणमा गणित विषयका विज्ञ मुकुन्दराज शर्मासँग परीक्षा नियन्त्रण कार्यालयमा भेट भयो । उहाँ गणित विषयको विज्ञ हुनुहुन्न्थ्यो र लिटिल एन्जेल्स स्कुलको पि्रन्सिपल पनि । उहाँ कलाकार हरिहर शर्माको सहोदर भाइ हुनुभएको कुरा त्यसबेला थाहा पाएको थिएँ ।

विभिन्न कार्यक्रममा आक्कलझुक्कल भेट भए पनि मुकुन्दराज शर्मासँग सामान्य भलाकुसारी बाहेक फुर्सदले कुराकानी गर्ने अवसर मिलेको थिएन । मलाई बादल प्रधानको निमन्त्रणामा लिटिल एन्जेल्स कलेजका विद्यार्थीको कार्यक्रममा प्रमुख वक्ताका रूपमा जाँदा मुकुन्दराज शर्माले मलाई एउटा पुस्तक उपहार दिनुभयो, ‘शब्दशिविर’ ।

हेम भण्डारीले सञ्चालन गर्ने कान्तिपुर एफएमको प्रत्येक बिहीबारको बिहान ७ः३० बजे प्रचारण हुने साहित्यिक कार्यक्रममा कार्यक्रम सञ्चालकले मुकुन्दराज शर्मासँग अन्तर्वार्ता लिंदै ‘शब्दशिविर’ भित्रका निबन्धहरूको चर्चा गर्नुभयो । क्रमशः दुई हप्ताको बिहीबार प्रसारित मुकुन्द सरको अन्तर्वार्ता सुनेपछि मैले पढ्न बाँकी रहेका ‘शब्दशिविर’ का निबन्धलाई एक-एक गरी पढें । अन्तर्वार्तामा मुकुन्द सरले आफ्नो लेखन गीत र निबन्ध भएको उल्लेख गर्नुभएको थियो । ‘वनमाराले वनै खायो…’ गीतका लेखक मुकुन्द सर भएको थाहा पाएपछि हरेक निबन्ध पढ्दा गीतकार मुकुन्दलाई सम्झिरहें ।

****

२०२२ साल मंसिर १५ मा प्युठानको चौरपानीमा जन्मिएका लेखक मुकुन्दराज शर्माको विद्यार्थी जीवन भारतको आसाम राज्यको डिगबोई, भारतकै पश्चिम बंगाल राज्यको दार्जीलिङ, नेपालको कपिलवस्तु र काठमाडौंमा बित्यो । भारतको आसामको डिगबोईमा कक्षा ९ सम्मको शिक्षा हासिल गरी कपिलवस्तुबाट एसएसली गरेका शर्मा उच्च शिक्षा हासिल गर्न दार्जीलिङको गभर्मेन्ट कलेजमा भर्ना भए । त्यहाँबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक पूरा गरेपछि काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र दर्शनशास्त्रमा आचार्य पूरा गरे । गणित विषयका विद्यार्थी शर्माको निबन्ध लेखन सोखको विषय हो ।

मुकुन्दराज शर्मालाई यहाँ निबन्धकारका रूपमा विशेष चर्चा गर्न खोजिएको छ । हुनतः उनी सिद्धहस्त गीतकार पनि हुन् । उदीतनारायण झा र दीपा नारायण झाको स्वरको ‘वनमाराले वनै खायो…’ बोलको गीत होस् वा यम बरालले गाएको ‘हेर्दा ख्याल ख्यालैमा’ गीत होस् वा रामकृष्ण ढकालको स्वरको ‘हिउँचुलीमा हिउँ बग्यो थाकखोलामा पानी’ गीत होस् ! उनका सबै गीत एक से एक चर्चित छन् । झण्डै डेढ दुई सय जति गीतको सिर्जना गरेका शर्माका दार्जीलिङ र नेपालमा गरी पचासको हाराहारीमा रेकर्ड भएका छन् । गीतबाट लेखनको सुरुवात गरेका शर्माले अरुणा लामाको स्वरमा रेडियो खर्साङमा रेकर्डका लागि सन् १९८४ मा दुईवटा भजन लेखेका थिए । एउटा भजनको बोल थियो- ‘सब हुन् तिम्रा भक्त प्रभु, तिमी हौ भक्तका भक्त ।’ दार्जीजिङ बस्दा थुप्रै गीत र कविता लेखे पनि ती सिर्जनाको संग्रह निकालेका छैनन् ।

वि.सं. २०४० को फागुन (सन् १९८४ फेब्रुअरी) मा ‘दियालो’ पत्रिकाको १००औं ‘वाङ्गमय विशेषांक’ मा ‘दार्जीलिङका पर्यटकीय स्थलहरू’ शीर्षकमा प्रकाशित निबन्ध नै अभिलेखका रूपमा शर्माको पहिलो लेख्य कृति हो । दार्जीलिङबाट प्रकाशित हुने दियालो पत्रिका नेपालबाट प्रकाशित हुने गरिमा, मधुपर्क तथा रूपरेखा को समकक्षी नै थियो । त्यसभन्दा अगाडि शर्माले हिमालचुली दैनिकमा खत्राकखुत्रुक लेखे पनि त्यस्ता लेखको अभिलेख रहेको पाइँदैन । चालीसको दशकदेखि निबन्ध लेखनमा कलम चलाए पनि पुस्तकका रूपमा ‘शब्दशिविर’ नै शर्माको पहिलो कृति हो ।

****

मुकुन्दराज शर्मा मूलतः शिक्षक हुन्, त्यसमा पनि गणित विषयका । भारतको डिगबोईदेखि दार्जीलिङसम्म स्नातक तहसम्मको शिक्षा हासिल गरेका शर्माले सुरुमा विनायक शिक्षा निकेतन -भीएस निकेतन) मा केही महिना अध्यापन गरे पनि -झण्डै पैंतीस वर्ष) लिटिल एन्जेल्स स्कुलमा नै हालसम्म अध्यापनरत छन् । लिटिल एन्जेल्स स्कुलका प्राचार्य समेत रहेका शर्मा कुशल शिक्षक मात्र नभई व्यवस्थापन कुशलता प्रदर्शन गर्न पनि सफल छन् ।

‘शब्दशिविर’ निबन्ध सङ्ग्रह पढेपछि मलाई लागेका विषयको उठान यहाँ गरेको छु । यो पुस्तक समीक्षा भएकाले मैले शिक्षक मुकुन्दराज भन्दा सर्जक मुकुन्दराजलाई हेरेर समीक्षा गरेको छु । शिक्षकप्रति प्रयोग गरिने उच्च आदरार्थी क्रियापद प्रयोग नगरी सर्जकप्रति प्रयोग गरिने सामान्य आदरार्थी क्रियापद प्रयोग गरिएको छ यहाँ ।

****

कामना न्युज पब्लिकेसन प्रा.लि.ले वि.सं.२०७९ मा प्रकाशनमा ल्याएको शब्दशिविर निबन्ध सङ्ग्रहमा २५ वटा निबन्ध छन् । यी २५ वटा निबन्धमा पनि दुई वटालाई लेखकले क्षणिकी भनेर कोष्ठमा नै उल्लेख गरेका छन् । निबन्धहरू ५ देखि १० पृष्ठसम्मका छन् । कुल २१२ पृष्ठको निबन्ध सङ्ग्रहको मुख्य पाठ्यवस्तु पृष्ठ ३१ बाट प्रारम्भ हुन्छ । सामान्यतया पुस्तकको पि्रलिम्सलाई मुख्य पाठ्यवस्तुको अंग मानिंदैन, त्यसैले मुख्य पाठ्यवस्तु पृष्ठ १ बाट सुरु हुन्छ । तर, यो सङ्ग्रह यस पद्धतिभन्दा भिन्न छ । झण्डै १६ पृष्ठ निबन्ध सङ्ग्रहको भूमिकाका लागि खर्च गरिएको छ । यसमा नेपालका चिनिएका साहित्यकार तथा प्राध्यापकहरूको निबन्ध सङ्ग्रहप्रतिको धारणा व्यक्त भएको छ । पुस्तक सम्बन्धी लामा-छोटा धारणा पट्यार लाग्दा छन् ।

कुनै कुनै पाठक त यी भूमिका पढ्दापढ्दै पुस्तक नै पढ्न छाड्न सक्छन् । यति धेरै मानिसका धारणा पुस्तकको सुरुवातीमा नै किन राखिएको होला ? विद्वान्हरूको धारणा पढेपछि पाठकले आफ्नो धारणा पुस्तक पाठ्यवस्तु पढ्नुपूर्व नै बनाउन सक्छः पुस्तक पढ्न अघि बढ्ने कि नबढ्ने भनेर । विद्वान्हरूका धारणा राख्न परेको भए निबन्ध सकिएपछि राख्दा उपयुक्त हुनेथियो । यति हुँदाहुँदै पनि निबन्ध पढ्न सुरु गरेपछि पट्यार लाग्ने निबन्ध एउटा पनि छैन । सर्सर्ती पढ्न सकिन्छ । आस्वादन गर्न सकिन्छ ।

निबन्धका विषयहरूमा विविधता छ । गुन्द्रुक भिसा, दुई दुना दुई, बा, म र मेरो काठमाडौं, जिन्दावाद मुर्दावाद, डा. ईश्वर बरालसँगको त्यो क्षण, लाहुरेको रेलिमाई, सपना, ए बुढी भोक लाग्यो जस्ता विविध विषयका निबन्ध समेटिएका छन् यस सङ्ग्रहमा । निबन्ध आत्मपरक शैलीमा लेखिएको र अनुभवजन्य विषयलाई स्थान दिइएको छ । निबन्ध पढ्दै जाँदा कुनै पनि विषयमा पाण्डित्याइँ छाँटिएको पाइँदैन, लेखकले आˆना अनुभव र अनुभूतिलाई सरल शब्दमा पाठकसामु पस्किदिएको अनुभव हुन्छ । कतै कतै त मुकुन्दराज शर्मासँगै बसेर कफी खाँदै आˆना अनुभव सुनाउँदै हुनुहुन्छ कि जस्तो लाग्छ ।

निबन्धकारले उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तह र स्नातक तह दार्जीलिङमा पढेको हुनाले नेपाली साहित्यमा दार्जीलिङको योगदानको स्मरण गराएका छन् । रामलाल अधिकारीः अन्तरंग स्मरण शीर्षकको निबन्धमा दार्जीलिङ र भारतीय प्रवासी नेपाली साहित्यकारको चर्चा पाइन्छ । प्रा. भीमकान्त अधिकारी, हरिभक्त कटुवाल, अग्निबहादुर क्षेत्री, भविलाल लामिछाने, युद्धबहादुर राना, इन्द्रबहादुर राई, शिवकुमार राई, हरिप्रसाद गोर्खा राई, नरबहादुर भण्डारी, भानुभक्त कुमाई, युद्धवीर राना, नरबहादुर रिजाल, गुरुप्रसाद धिताल, एकप्रसाद उपाध्याय, लीलबहादुर क्षेत्री, शरद सिन्हा, पारसमणि प्रधान, मोहन पी. दाहाल, ललिता राई, लक्खीदेवी सुन्दास जस्ता नेपाली भाषाका साहित्यकारको लामै सूची निबन्धहरू पढेपछि निकाल्न सकिन्छ ।

निबन्ध लेखनमा शर्मालाई रामलाल अधिकारीको प्रेरणा मिलेको ठाउँ-ठाउँमा पढ्न पाइन्छ । त्यसो त निबन्धकार शर्माले आˆनो स्नातकसम्मको पढाइ अधिकारीकै अभिभावकत्वमा दार्जीलिङमा सकेका थिए । नेपाली जातिबीचको एकात्मक भावना दर्शाउने आसामको डिगबोई र गुवाहाटी तथा दार्जीलिङमा भानु जयन्ती मनाएका प्रसंग बडो रोचक ढंगले उल्लेख गरेका छन्, लेखक शर्माले ।

निबन्धमा नजानिंदो किसिमले दार्शनिक विचार प्रकट भएका छन् । कतै कतै ऋषिवचन जस्ता लाग्ने वाक्य पनि पाइन्छन् । समग्रमा भन्नुपर्दा शब्दशिविर निबन्ध सङ्ग्रहमा लेखकका वैयक्तिक अनुभव, जीवनमा आफूले आर्जन गरेका ज्ञानको धरातलमा दार्शनिक चिन्तन, पूर्वीय दर्शनप्रतिको आस्था, साङ्ख्य दर्शनको सन्दर्भ, विकासवादमा विश्वास, गुरुकुलीन शिक्षाप्रतिको आस्था, भारतीय उपमहाद्वीपमा थोपरिएको मेकालेको दर्शनमा आधारित शिक्षा पद्धतिप्रति व्यङ्ग्य प्रत्यक्ष तथा परोक्ष रूपमा अभिव्यक्त भएको पाइन्छ ।

*****

निबन्धहरू साना-साना वाक्य र छोटाछोटा अनुच्छेद भएकाले पाठकमैत्री देखिन्छन् । तर, कतै कतै लामा अनुच्छेदले पढाइको गतिमा बाधा पुर्‍याउन सहयोग गरेको पनि भेटिन्छ । रामलाल अधिकारीः अन्तरङ्ग संस्मरणमा (पृ. १५४ मा) २५ हरफको एउटा अनुच्छेद छ, यो अलि लामो जस्तो लाग्छ । पृष्ठ १९२ देखि १९६ सम्म अङ्ग्रेजी भाषामा लेखिएका शब्दहरू फन्ट नमिलेका कारण बुझ्न सकिंदैन । यसमा भाषा सम्पादनको कमजोरी देखिन्छ ।

लेखक शर्माले ‘मम्मी ! म स्कुल जान्नँ’ भन्ने शीर्षकको निबन्धमा अङ्ग्रेजी भाषाले नेपाली भाषा एवम् मातृभाषामा जमाएको भाषिक उपनिवेशको धक फुकाएर विरोध जनाएका छन् । उनी एक ठाउँमा भन्छन्ः ‘कस्तो जाति, संस्कृति र भाषाप्रेमी जसले आफ्नी हजुरआमालाई ‘आमा’ र आमालाई ‘मम्मी’ भन्न सिक्यो?’ (पृ. १७७) । आमा र हजुरआमाबीच विभेदको कुरा जानकारी नदिइँदा अबोध बालबालिकाको मस्तिष्कमा पर्ने भ्रम कति कहालीलाग्दो हुन्छ भन्ने कुरालाई शर्माले यसरी उल्लेख गरेका छन्ः ‘बिचरा त्यो अबोध शिशुलाई ‘आमा’ र ‘मम्मी’ बीचको चौडाइ कत्तिको फराकिलो छ, के थाहा ?’

‘आमा’ भनेको ‘पिताजीको श्रीमती’ र ‘हजुरआमा’ भनेको ‘हजुरबाको श्रीमती’ भन्ने शाब्दिक अर्थ त्यो अबोध बालबालिकाले कसरी थाहा पाउन सक्छन् ? आमा’ भनेको ‘आफ्नी आमा’ र ‘हजुरआमा’ भनेको ‘पिताजीको आमा वा माताजीको आमा’ भन्ने शाब्दिक अर्थ त्यो अबोध बालबालिकालाई कसले बुझाइदिने ? बाल मस्तिष्कमा ‘आमा’ र ‘मम्मी’ जस्ता एउटै अर्थ लाग्ने शब्दलाई फरक-फरक नाता र अर्थमा पनि विकृत रूपमा प्रयोग गराइन्छ भने यसमा बालबालिकाको के दोष हुन्छ र !

गाउँघरमा जाँदा तिर्खा लागेको बेला पानीको सट्टा मोही दिने प्रौढ महिलालाई “तपाईं त मेरी आमा जस्तै हुनुहुँदोरहेछ” भन्नुभयो भने थप एक गिलास मोही थपिदिन सक्छिन् । तर, ‘तपाईं त मेरा पिताजीको श्रीमती जस्तै हुनुहुँदोरहेछ’ भन्नुभयो भने चुटाइ खान पनि सक्नुहुन्छ । कुरा त एउटै हो, तर भनाइको प्रस्तुतीकरण भिन्न मात्र हुन जाँदा अर्थको अनर्थ पनि हुन पुग्छ ।

भाषिक कुराको मिहिन विश्लेषण गर्ने निबन्धकार शर्मा भने एक ठाउँमा नराम्रोसँग चिप्लिएका छन् । निबन्ध सङ्ग्रहमा प्रायः सबै निबन्धमा नेपाली झर्रा शब्दको बाढी नै ल्याउने शर्मा ‘कन्फेसन’ शीर्षकको निबन्धमा लेख्छन्ः ‘ग्रान्डी अस्पतालको प्रतीक्षा कक्षमा म र मेरा सुसुराबुबा पालो पर्खेर बसिरहेका थियौं ।’ नेपाली बृहत् शब्दकोशले ‘ससुरा’ शब्दको अर्थमा ‘पत्नीका बाबु, पतिका बाबु’ भनेको छ । हाम्रा परिवेशमा बुबा र बाबुलाई वैकल्पिक प्रयोग गरिन्छ । यहाँ ‘सुसुराबुबा’ शब्द प्रयोग गर्दा दुईवटा ‘बुबा’ शब्द दोहोरिने पक्का देखिन्छ । लेखक शर्मा आफैंमा गणितका शिक्षक हुन् । उनलाई गणितको खण्डीकरण र समीकरण दुवै आउँछ । यहाँ ‘सुसुराबुबा’ को खण्डीकरण गर्दा ‘ससुरा = पत्नीका बुबा X बुबा’ हुन आउँछ । यसको मतलब ‘ग्रान्डी अस्पतालको प्रतीक्षा कक्षमा म र मेरा सुसुराबुबा पालो पर्खेर बसिरहेका थियौं’ भन्दा ‘ग्रान्डी अस्पतालको प्रतीक्षा कक्षमा म र मेरा सुसुराबुबा पालो पर्खेर बसिरहेका थियौं’ भन्ने हुनपुग्छ । लेखक स्वयम् गणितको शिक्षक भएकाले शब्दको खण्डीकरण नगरेको प्रतीत हुन्छ । ‘ससुरा’ शब्द ‘बाबु’ को अर्थ दिन आफैंमा पूर्ण र पर्याप्त हुँदाहुँदै लेखक शर्माले ‘ससुरा’ शब्दको पछाडि ‘बुबा’ किन थपे होलान्, जिज्ञासाको विषय हुन पुगेको छ । ‘आमा’ भन्नु र ‘आमा जस्तै’ भन्नु फरक कुरा हो । ‘बाबु’ भन्नु र ‘बाबु जस्तै’ भन्नु फरक कुरा हो । लेखक शब्द चयन र ती शब्दले बोक्ने अर्थप्रति सतर्क हुन जरूरी छ ।

****

‘शब्दशिविर’ निबन्ध सङ्ग्रहभित्रका २५ वटा निबन्धमा लेखकले थुपै्र नेपाली झर्रा शब्दहरूको प्रयोग गरेका छन् । यस अर्थमा शर्मा झर्रा शब्द खेलाउन माहिर देखिन्छन् । प्युठानको चौरपानीमा जन्मेका र भारतको आसाम राज्यको डिगबोई र पश्चिम बंगालको दार्जीलिङमा विद्यार्थीकालको अधिकांश समय बिताएका शर्माको नेपाली भाषामा यति धेरै पकड छ भन्ने कुरा उनले आफ्ना निबन्धमा प्रयोग गरेका झर्रा शब्दहरू नै यसका लागि पर्याप्त प्रमाण हुन् । यो उनको खुबी पनि हो ।

शब्दशिविर निबन्ध सङ्ग्रहमा प्रयुक्त नेपाली झर्रा शब्दको लामै सूची बन्न सक्छ । केही झर्रा शब्दको अर्थ खोज्न वर्तमानका शहरिया पुस्तालाई हम्मेहम्मे हुनसक्छ निबन्ध पढ्दा । यसका लागि नेपाली शब्दकोशको नै सहारा लिनुपर्ने देखिन्छ ।

निबन्धकार शर्माले आफ्ना निबन्धहरूमा थुप्रै अङ्ग्रेजी शब्दहरू नेपाली शब्द जस्तै गरी प्रयोग गरेका छन् । कुनै कुनै निबन्धमा त अङ्ग्रेजी शब्दको बाढी नै छ । कतिपय अङ्ग्रेजी शब्दहरू प्रचलित भए पनि एकाध शब्दका लागि अङ्ग्रेजी शब्दकोश नै पल्टाउनुपर्ने देखिन्छ ।

निबन्धकार शर्मालेे निबन्ध सङ्ग्रहभित्र विभिन्न विम्ब र प्रतीक प्रयोग गरेका छन् । कतिपय बिम्ब र प्रतीक पौराणिक कथाका छन्, कतिपय लोककथाका । कतिपय विम्ब र प्रतीक वैयक्तिक पनि छन् ।

****

निबन्ध सङ्ग्रह शब्दशिविर पठनीय र सङ्ग्रहणीय पनि छ । निबन्ध लेखनमा लागिरहेका शर्माले निकट भविष्यमा अर्को निबन्ध सङ्ग्रह निकाल्ने तयारीमा छन् । विभिन्न समयमा लेखिएका र रेकर्ड गरिएका गीतहरूको सङ्ग्रह निकाल्ने सोचमा रहेका शर्मालाई सफलता मिलोस् अगि्रम शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?