
‘ऊ फेरि रोइदिन्छे। मेरो मुटु जल्छ। मुटु जल्न आगो चाहिंदैन रहेछ। विना आगो जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले। न कसैसँग बाँड्न मिल्ने! न कसैलाई भन्न नै सकिने! नानीसँगको मेरो यो कस्तो सम्बन्ध हो? सोच्दा पनि अनौठो लाग्छ।’
यो पंक्ति जन्मँदा नै मस्तिष्क पक्षघात भएर जन्मिएकी, ३७ वर्ष काटिसकेकी छोरी, क्षितिजका बारेमा आमा तथा लेखक सरस्वती ज्ञवालीले भर्खरै विमोचित आफ्नो तेस्रो कृति ‘क्षितिज, आमा र धरती’ पुस्तकको १२५ पेजमा लेख्नुभएको छ।
क्षितिजको जन्म त्यस्तो हुनुको कारण लेखक गर्भवती हुँदा भएको दर्दनाक घटना रहेछ। लेखकका पति कम्युनिष्ट कार्यकर्ता, पञ्चायतकालीन समय, घरमा पुलिस खानतलासी लिन आउन लागेको खबरले कागजपत्र लुकाउन गोठको माथिल्लो तलामा गएर तल ओर्लिन लाग्दा, लिस्नोमा दुवै खुट्टा राम्ररी नटेकिएको कारण तल खस्दा सन्तानलाई अकल्पनीय क्षति पुर्याएको रहेछ।
एकातिर छोरी जन्मिएदेखि नै आफू र परिवारले भोग्नुपरेको मानसिक पीडा; अर्कोतिर, कुनै बेला ‘राजा नमानेको कारणले पाप लागेको’ भन्ने आरोप खेप्दै, पापको कारणले यस्ती छोरी जन्मिएकी भन्ने समाजका अन्धविश्वासीहरूको घोचपेच आदिको सामना गर्दै, छोरीले यो उमेरसम्म भोग्नुपरेको अव्यक्त दुःखलाई समेटेर लेखिएको पुस्तक नेपालमा अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवारले भोग्नुपरेको यथार्थ चित्रण हो।
नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा, महिलाहरूले भोगेका कुराहरूलाई महिला आफ्नै तर्फबाट व्यक्तिगत कथाको रूपमा पुस्तक वा लेखमा ल्याउन थालिएको धेरै भएको छैन। त्यस्तो खालको पुस्तक डाक्टर अर्चना थापाले व्यक्तिगत प्रयासमा शुरु गर्नुभएको अक्षर क्रिएसन्स्ले प्रकाशन गरेको पहिलो ‘टेलिङ्ग अ टल’ र दोस्रो ‘स्वअस्तित्वको खोज’ थियो।
ती पुस्तकहरूको प्रकाशन २०६८ सालमा भएको थियो। त्यसपछिका दिनमा सोही प्रकाशन गृहले ‘सत्व’, ‘छोरीहरूले जन्माएका आमाहरू’, लालटिनको उज्यालो’, ‘हजुरआमाका कथा’ आदि थुप्रै भइसके। समाजमा, समाजका सदस्यहरूले भोगेका सांस्कृतिक, पारिवारिक तथा मूल्यमान्यताका कुराहरूलाई जस्ताको तस्तै कथाको माध्यमबाट दस्तावेज गरिएका त्यस्ता पुस्तकहरूलाई, साहित्य क्षेत्रमा आधिपत्य जमाएर बसेका र ‘आफूलाई निर्णायकको भूमिकामा छौं’ भनिठान्ने समूहले साहित्य मान्नै खोज्दैन र त्यसमा पनि महिलाहरूले लेखेका भनेपछि त झनै कामको नै ठान्दैन।
त्यसको बावजूद महिलाहरूले आफ्ना कथा र अरूका कथाहरू समेत समेटेर नेपाली साहित्य, कथा, उपन्यास, कविता र गीतको इतिहासमा थुप्रै इँटा थपिसके।
लेखक सरस्वती ज्ञवालीको आत्मपरक कथा समेटिएको ‘लालटिनको उज्यालो’ले पनि आजभन्दा तीन दशक अगाडिको समाजमा आफूले भोगेको यथार्थलाई कलमबद्ध गरेको थियो। अहिलेको पुस्तकमा, अपाङ्गता भएका छोरीलाई स्याहारसुसार गर्नुपर्दाको दैनन्दिन तथा भोग्नुपरेको अप्ठ्याराहरूलाई सविस्तार समेटिएको छ।
ठ्याक्कै भन्नुपर्दा, सो पुस्तकलाई साहित्यिक कृतिको श्रेणीमा राख्न नसकिएला तर, लेखक आफू कवि समेत भएको हुँदा पुस्तकमा प्रयोग गरिएको भाषाको मिठास, सलल बगेको लेखाइलाई साहित्य होइन भन्न पनि सकिन्न।
यहाँनिर एउटा प्रश्न उठाउन मन लाग्छ, महिलाको बारेमा साहित्यिक कृति भनेको केवल पुरुषले वर्णन गरिदिएका ‘भाँचिएको कम्मर, उठेका स्तन, गुलावी ओंठ, लचकदार हिंडाइ’ मात्रै हुन् त ?
आफ्ना पति राजनैतिक कार्यकर्ता, लुकेर बस्नुपर्ने स्थिति, घरमा विरलै केही घन्टाको लागि आउने र अर्कोतिर परिवार तथा समाजका सदस्यहरूबाट ‘बच्चा जन्माइनन्’ भन्ने गुनासो। यस्तै समयमा केही घन्टा भेट्न आएका पतिसँगको उनको आकाङ्क्षा, आफूहरू सन्तानको माता/पिता हुन चाहेको देखिन्छ।
त्यसलाई लेखकका यी भावनात्मक शब्दहरूले स्पष्ट पार्छ— ‘पानी परिरहेकै थियो र मकैका पातहरू सर्सराउँदै नै थिए। मेरो मनभित्र मातृत्वको मूल सलबलाइरहेको थियो। त्यो मूल चाँडै फुटोस् भन्ने तीव्र आकाङ्क्षाले मेरो हृदयको धड्कन बढाइदिएको थियो।’ (पेज ९) एउटी युवतीको प्रणय चाहनालाई रोमाञ्चकताका साथ पस्किन सक्ने यो शाब्दिक वहाव कम साहित्यिक छ त ?
ती जोडीले गर्भाधान नहुँदै, छोरीको कल्पना गरेर नाम समेत, आकाश र धरतीको मिलनविन्दु जोड्ने शब्द ‘क्षितिज’ तय गरिसकेका हुन्छन्। तर ती क्षितिज मागेको र चाहेको खुशीभन्दा पनि पीडा र कष्टको जीवन लिएर धरतीमा आइन्। र, उनको त्यही पीडा र भोग्नुपरेको कष्ट समेटेर एउटी आमाले आफ्नो हृदय पोखेर पुस्तकभरि छताछुल्ल पारिदिइन्।
क्षितिजको कथा एउटी क्षितिजको मात्रै कथा होइन, यो कथा अपाङ्गतामा बाँचिरहेका थुप्रै व्यक्तिहरूको प्रतिनिधि कथा हो; जहाँ न त राज्यले केही सुविधा दिनसकेको छ, न मध्यमवर्गीय परिवारको आर्थिक स्थितिले चौबीसै घन्टा स्याहारसुसार गर्ने मानिसको व्यवस्था गर्ने सहयोगी राख्न सक्छ।
ती सबै कुराको बोझ ती आमाले नै भोग्नुपरेको छ। तथापि, मानिसहरू भन्छन्– लेखकको जीवन अनुत्पादक कुरामा अल्मलिएको छ।
मानिसहरू कति असंवेदनशील हुन्, पुस्तक विमोचनको दिन एक जना वक्ताले पनि त्यसै भन्नुभयो। हालको समयमा, त्यस्तो अवस्थाको व्यक्तिलाई रेखदेख गर्न एउटा नर्स राख्ने हो भने कम्तीमा पनि घन्टाको एक हजार पारिश्रमिक दिनुपर्छ, त्यो हिसाब गर्दा २४ घन्टाको कति हुन्छ ?
अनि घरायसी कामका लागि सहयोगी राख्दा कति पर्छ ? एउटी छोरीको पूर्णकालीन केयर टेकर, घरको पूर्ण जिम्मेवारी र अझ लेखनमा समेत सक्रिय व्यक्तिलाई समाजले सहजै अनुत्पादक व्यक्तिको रूपमा चित्रण गरिदिन्छ। ती भूमिकाहरूको आर्थिक मूल्यांकनको हिसाब निकालिहेर्नुस् त !
त्यसैले हो, महिलाहरूले आफ्ना कथा आफैं लेख्नुपरेको ताकि, समाजले बुझोस् ! छोरीलाई कतै स्याहार केन्द्रमा दिनभरि भए पनि राख्न सकिन्छ कि भनेर एकदिन छोरीलाई घरमा एक्लै छाडेर हिंड्दा, घर आएपछिको अवस्थाबारे लेखक सरस्वतीको व्याख्या छ— ‘घर आएर हेर्दा नानीको अवस्था हेर्नलायक थिएन ! दिसा गरेर सबैतिर लडिबुडी गरिछ। शरीरभरि दिसा लागेर बिजोग थियो। बरन्डाभरि दिसा सुकिसकेको थियो। कतिलाई लाग्ला, यस्तो कुरा त नलेखेको भए हुने। तर मैले यस्तै समस्या भएकाहरूको बारेमा लेखिरहेकी छु। मेरी छोरीको मात्रै त यो समस्या होइन। अपाङ्गता भएका सन्तानका हरेक आमाबाबुले भोग्नुपरेको समस्या हो यो।’ (पेज ११२)
लेखकको भनाइ शतप्रतिशत ठिक हो, यो अपाङ्गता भएका एक व्यक्ति वा उनको परिवारको कुरा होइन, यो हाम्रो समाजको तीतो सत्य हो। अपाङ्गता भएको व्यक्ति ‘क वर्ग’ लाई महिनाको (रातो- पूर्ण अपाङ्गता) ३९९० रुपैयाँ र ‘ख वर्ग’ (नीलो- अति अशक्त अपाङ्गता) लाई २१२८ रुपैयाँ भत्ता दिएर राज्यको दायित्व सिद्धिन्छ त ?
त्यसैले त कामबाट थकित लेखक भन्नुहुन्छ— ‘पुरुष कामबाट घर फर्किन्छ, स्त्री कामबाट काममा फर्किन्छे’। (पृष्ठ–४२) अपवादलाई छाडेर, नेपाली महिलाहरूको हालसम्मको अवस्था यही नै हो।
आफ्नो कामको बोझलाई सम्झँदै लेखकले आफ्नो पतिको बारेमा लेख्नुभएको छ– उनले पनि ‘तिमीलाई धेरै दुःख भयो, एउटा काम गर्ने मान्छे राखौं है सरू’ भनेर कहिल्यै भनेनन्। आखिर उनी पनि कम्युनिष्ट साहित्य पढेर हुर्केका मानिस थिए। कुनै बेला हरेक कम्युनिष्ट कार्यकर्ताले आफूलाई म्याक्सिम गोर्कीको पात्र ‘पामेल’ सम्झिन्थे। (पेज ११०)
हामी बारम्बार भन्ने गर्छौं, ‘साहित्य समाजको ऐना हो।’ यही त हो ऐना, जहाँ एउटी आमाको भावनात्मक, चुनौतीपूर्ण र सामाजिक कथा समेटिएको छ। यो पुस्तकले अपाङ्गताको सामना गरिरहेका व्यक्ति र उनको परिवारको सामाजिक अवस्था बयान गरेको छ।
लेखकले आफ्नो पुस्तक ‘लालटिनको उज्यालो’को विमोचनको दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको लागि राज्यका तर्फबाट केही नीति बनोस् र ती अपाङ्गता भएका व्यक्तिहरूको सुविधाको लागि राज्य अग्रसर होस् भन्ने अपील गर्नुभएको थियो। त्यतिबेला दर्शक तथा श्रोताको दीर्घामा तत्कालीन बहालवाला तीन मन्त्रीहरूको उपस्थिति थियो। त्यो आठ वर्षअगाडिको कुरा थियो। आज आठ वर्षको अन्तरालमा पनि केही खासै प्रगति भएको जस्तो लाग्दैन।
यस पुस्तकले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यलाई जिम्मेवार बनाउन तयार पार्दछ कि भनेर सोच्दा अन्यथा नहोला ! किनकि, यसमा लेखिएका दैनन्दिन घटनाहरू कुनै स्वैरकल्पनाबाट तयार गरिएको साहित्य होइन। न त, अतिरञ्जित बनाइएका कथा नै हुन्।
यो यथार्थ हो र यसले धेरै मानिसको दुःख र कठिन संघर्षलााई उजागर गर्छ। समाजका अन्य उस्तै वेदना भोगेका सदस्यहरूलाई आशा, प्रेरणा र समुदायसँग जोड्ने काम गर्न सक्छ। समाजले अपाङ्गता भएका व्यक्तिहरूमाथि गरेका मन दुखाउने व्यवहारबाट सचेत गराउने प्रयास गर्छ।
मानवीय र भावनात्मक सम्बन्धका साथै, अपाङ्गता भएका व्यक्तिमाथि गरिने असमान सामाजिक व्यवहार र मानसिक हिंसाको फेहरिस्त पनि पुस्तकले राम्रैसँग वर्णन गरेको छ। मानिसले सहानुभूति व्यक्त गर्ने निहुँमा गरेका असंवेदनशील वा निन्दनीय कुराकानी त यो समाजका केही सदस्यहरूको एउटा अमानवीय गुण नै हो, ती कुरालाई पनि पुस्तकमा ठाउँ ठाउँमा स्थान दिइएको छ।
समग्रमा भन्नुपर्दा, पुस्तक एउटा शक्तिशाली आमाको कथा हो जसले, डाक्टरले एक वर्ष नपुग्दै, १२ वर्षमात्रै बाँच्छिन् भनेर भनिदिएको छोरीलाई संघर्ष, माया र स्याहारले ३७ वर्ष पार गराइसक्नुभएको छ। ती छोरीको स्याहारसुसारको लागि आफ्नो राजनैतिक जीवन पूर्णरूपमा त्यागेर आमा, पत्नी र गृहिणीको रूपमा मात्रै जीवनयापन गरेर चित्त बुझाउनु पनि सानो त्याग होइन।
प्रकाशक सांग्रिला मिडिया ग्रुप रहेको १६६ पेजको पुस्तकको मूल्य ३९५ रुपैयाँ राखिएको छ। अनामिका गौतमको आवरण रहेको सो पुस्तक अपाङ्गता भएका व्यक्तिहरूको बारेमा लेखिएको यथर्थपरक कृति हो भने साहित्यको क्षेत्रमा पनि यसले राम्रै स्थान ओगट्ने आशा राख्न सकिन्छ।
अन्त्यमा, लेखककै भनाइले बिट मार्न चाहें— “जीवन संघर्षमय छ। र, त जिउनुको अर्थ छ।”
प्रतिक्रिया 4