+
+

अयोध्यामा मोदीका पाँच मन्त्र, पाकिस्तानको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते २०:४१

८ माघ, काठमाडौं । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा आज सकिएको छ । भारतीय जनता पार्टी नेतृत्वको सरकारले आगामी लोकसभा चुनावसमेतलाई लक्षित गर्दै निर्धारित समयभन्दा ११ महिना छिटो आयोजना गरेको विशाल समारोहबारे यति बेला भारतभित्र र बाहिर विभिन्न कोण–प्रतिकोणबाट चर्चा भइरहेको छ ।

सुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा सोमबार राममन्दिर प्राण प्रतिष्ठाक्रममा बोलेका टिप्पणीबाट चर्चा थालौं । उनले अयोध्यामा मुलतः पाँचवटा विषय उठाए । उनले देव से देश, राम से राष्ट्र नाराले भारतलाई विजयतर्फ उन्मुख गराएको बताए । उनले विजयसँगै विनयको भाव पनि जागृत हुनुपर्नेमा जोड दिए । उनका मूख्य भाषण अंशलाई पाँचवटा बुँदामा पढौं :

एक- दासताको मानसिकता अन्त्य भयो : भारत स्वतन्त्र भएको लामो समय भइसके पनि कतिपयमा दासताको भावना अझै थियो । आज राम मन्दिरको प्राणप्रतिष्ठासँगै दासताको मानसिकता अन्त्य भएको छ । भगवान रामको प्राण प्रतिष्ठालाई पुनस्थापना गर्न पाउँदाको आजको मितिलाई हजार वर्षपछि पनि मानिसहरुले याद गरिराख्नेछन् ।

दुई -अदालतलाई धन्यवाद : भारतको संविधानको पहिलो प्रतिमै राम उपस्थित छन् । दशकसम्म चलेको अदालतको बहसमा पनि रामको उपस्थिति याद गरियो । अदालतलाई धन्यवाद, जसले न्यायकै पर्यायस्वरुप रामलाई स्थापित गराउन योगदान दियो ।

तीन –मन्दिर निर्माणका विरोधीलाई सन्देश ः धेरैले राममन्दिर पुनर्स्थापित भयो भने त्यसले द्वेषको बीजारोपण गराउनेछ भनी बोल्दै आएका थिए । उनीहरुले भारतीय समाजको भावना बुझ्न असमर्थ छु भन्ने बुझाए । यो मन्दिर शान्ति, भाइचारा, सद्भाव, धैर्य, सहिष्णुता सबैको प्रतिविम्ब हो ।

चार –राष्ट्रिय चेतनाको मन्दिर : राम मन्दिर भारतको राष्ट्रिय चेतनाको विम्ब बनेर रहनेछ । राम भारतका चेतनामात्रै होइनन्, विश्वास पनि हुन् । राम भारतका विचार, उत्प्रेरणा, स्थिरता, गहिराई, कानुन, स्थायित्व सबै हुन् ।

पाँच –राष्ट्र निर्माणमा युवा : भारतको हजारौं वर्ष पुरानो परम्परा, विश्वासलाई जगाइराख्ने जिम्मा अब युवाहरुको काँधमा आएको छ । तपाईंहरुले भारतको नयाँ पुस्तालाई नयाँ सोचका साथ प्रतिनिधित्व गर्नुहुन्छ । परम्परा र सम्पदाको संरक्षणसँगै सूर्यको नजिकसम्म जाने वैज्ञानिक परीक्षणहरु भारतले गराउँदैछ, जसमा तपाईंहरुको साथ र विश्वास चाहिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले गौरवका रुपमा चित्रित गरको प्राण प्रतिष्ठालाई प्रतिपक्षी कांग्रेस लगायतले विरोध जनाएका छन् । धार्मिक आध्यात्मिक महत्वको समारोहलाई राजनीतिकरण गरिएको भन्दै उनीहरुले आपत्ति पनि जनाए । भारतसँग लामो समयदेखि शत्रुवत सम्बन्धमा रहेको छिमेकी पाकिस्तानले सोमबार वक्तव्य निकालेर प्राण प्रतिष्ठा आयोजनाको विरोध गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य निकाल्दै भनेको छ, ‘भारतमा बढ्दै गएको बहुमतवादको असर अयोध्याको समारोहमा पनि परेको छ ।

भत्काइएको इस्लामिक आस्थाकेन्द्र बाबरी मस्जिदका ठाउँमा मन्दिर बनाएको घटनामा भारतको अदालतले समेत दुर्भाग्यपूर्ण काम गरेको छ । उसले मस्जिद भत्काउनेहरुमाथि न्यायिक कारबाही गरेन, उल्टै मन्दिर बनाउन आदेश दियो ।’

पाकिस्तानले भारतमा बढ्दो हिन्दुत्वले क्षेत्रीय सुरक्षामै खतरा पैदा गरिदिएको आरोप समेत लगाएको छ । उसले भारतका अल्पसंख्यकहरुको साँस्कृतिक अधिकारमाथि समेत खलल पैदा भएको टिप्पणी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?