+
+

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते ९:४०

९ माघ, काठमाडौं । मेलम्चीमा २०७८ सालको बाढी र पहिरोले एक घरधुरी बराबर करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।

वातावरणविद प्रविणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो ।

सोमबार काठमाडौंमा आयोजित तथ्यांक सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १२० घरधुरी सर्वेक्षण, दुई वटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिनसक्ने व्यक्तिहरुसँग सूचना संकलन गरेर रिपोर्ट तयार पारेको बताए ।

‘मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको तथ्यांक तथा पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी औसतमा ७० लाख रुपैयाँ बराबरको आर्थिक हानि, नोक्सानी भएको पाइएको छ,’ उनले भने । उनका अनुसार अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो ।

गैर आर्थिक हानि नोक्सानी तथ्यांक यसमा समेटिएको छैन । बाढीले प्रत्यक्ष हानि नोक्सानीभन्दा बढी गैरआर्थिक हानि नोक्सानी गरेको उनले बताए । अध्ययनले बाढी पहिरोबाट प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा मनोसामाजिक समस्या पनि देखिएको पराजुलीको भनाइ छ ।

कार्यक्रममा वातावरणविद् प्रविणमान सिंहले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको दाबी गरे । यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको जानकारी पनि उनले दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताए । उहाँले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई लालपूर्जाको आधारमा प्रतिघरधुरी १० हजार रुपैयाँको दरले राहत उपलब्ध गराएको पनि बताए ।

मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?