+
+
न्युरोडमा ‘नो पार्किङ’ :

सटर बन्द गरेर व्यवसायी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १२:१६

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरु त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ । यसैगरी नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराएको छ । वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु भने नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?