+
+

बजेट निर्माण गर्न प्रधानमन्त्रीले दिए १६ बुँदे मार्गदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १५:५०

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमलम दहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई जनमुखी र कार्यान्वयनयोग्य बनाउन भन्दै १६ बुँदे मार्गदर्शन दिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिन भनेका छन् ।

बजेटको सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २० माघसम्म सबै मन्त्रालयसँग छलफल गर्नुपर्ने उनको निर्देशनमा उल्लेख छ ।  प्रधानमन्त्री प्रचण्डले मन्त्रालय/निकायगत छलफल सकिएपछि २५ माघभित्र सबै मन्त्रालय/निकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाका बारेमा छलफल गर्ने तालिका बनाउन पनि भनेका छन् ।

हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्न उनको निर्देशन छ ।राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्न र पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्न पनि भनेका छन् ।

प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि मन्त्रालयहरूमा बजेट राखी आर्थिक वर्षको बीचमा मन्त्रालयहरूले सशर्त अनुदानको रूपमा प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति बन्द गर्न पनि प्रधामनन्त्रीले निर्देशन दिएका छन् ।

आयोजना वर्गीकरण मापदण्ड विपरीत हुने गरी संघीय तहमा कार्यक्रम तथा आयोजना नराख्न र बजेट छर्ने परिपाटी पूर्ण रूपमा अन्त्य गर्न पनि प्रधानमन्त्रीले निर्देशित गरेका छन् ।

संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा मन्त्रालय/निकायगत बजेट सिलिङ समेत अनुसूचीमा राख्न,  बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा उठेका विषयहरू र आम नेपालीले दिने सुझाव समेत समावेश गरी बजेट तयार गर्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।

‘राजस्व प्रणालीको पुनःसंरचना गर्ने, जसअन्तर्गतः उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी राजस्व प्रणाली निर्माण गर्ने, राजस्वको दायरा बढाउने, तयारी वस्तुको भन्दा कम हुने गरी कच्चा पदार्थको भन्सार महसूल कायम गर्ने र कर संरचनामा परिमार्जन गर्ने,’ प्रधामन्त्रीको निर्देशनमा उल्लेख छ ।

साधारण खर्चमा मितव्ययिता अपनाउन, विकास खर्च बढाउन, बाह्य तथा आन्तरिक ऋणको उपयोग विकास खर्चका लागि मात्र गर्न, सम्भव भएमा बजेट उपशीर्षकगत स्रोत खुलाउँदा आन्तरिक ऋणको समेत उल्लेख गर्न, आयोजना विशेष बण्ड जारी गर्ने तयारी गर्न, प्राविधिक जनशक्ति उत्पादन र उपयोगका लागि बजेट विनियोजन गर्न, कृषिलाई प्राथमिकता दिन, अनुदानलाई एकीकृत गर्न, उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न, कृषिलाई एउटा मन्त्रालयको रूपमा मात्र होइन, क्षेत्रको रूपमा हेरी सम्बद्ध मन्त्रालयहरू समेतको कार्यक्रमबीच अन्तरसम्बन्ध हुने गरी कार्यक्रम तयार गर्न, औद्योगिकीकरणमा जोड दिन र निजी क्षेत्रलाई अधिकतम सहभागी गराउने कार्यक्रम तय गर्न पनि अर्थ मन्त्रालयलाई भनिएको छ ।

विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण पहुँच दिएर मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिन, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्न समेत प्रधानमन्त्रीको निर्देशन छ ।

अपेक्षित प्रतिफल र उपलब्धीमा असर नपर्ने गरी कानुनबमोजिम कार्यक्रम संशोधन र खर्च शीर्षकगत रकमान्तरको अधिकार मन्त्रालयहरूलाई नै दिन र कार्यक्रम संशोधन र रकमान्तरको एलएमबीआईएस प्रविष्टि गर्ने सुविधा मन्त्रालयहरूलाई उपलब्ध गराउन पनि भनिएके छ ।

एउटा कार्यक्रम वा आयोजनाका लागि एकपटक कार्यविधि÷निर्देशिका निर्माण गरिसकेपछि प्रत्येक वर्ष पुनः निर्माण गर्नु नपर्ने व्यवस्था गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?