+
+

बुद्धि तामाङ निर्देशित नाटक ‘मासिन्या’ बिहीबारदेखि मण्डला थिएटरमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:२६

काठमाडौं । १९१० सालमा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे । त्यसको १७० वर्ष बितिसक्दा पनि यो ऐनको प्रभाव कायमै छ । उक्त ऐनले जातको आधारमा वर्ग विभाजन गर्‍यो ।

ब्राह्मण, क्षेत्री उपल्लो वर्ग बने भने नमासिन्या मतवाली र मासिन्या मतवालीजस्ता जातीय विभेदको सूत्रपात भयो । यसको सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रभावको विषयवस्तुमा नाटक ‘मासिन्या’ तयार भएको छ ।

माघ ११ देखि २८ सम्म मण्डला थिएटरमा यो नाटक मञ्चन हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । ‘हैट’को रुपमा प्रसिद्ध फिल्म अभिनेता बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना र निर्देशन रहेको नाटक सोमबारबाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन हुनेछ ।

बुद्धिले यसअघि पेङ दोर्जे र योजना पार्क जस्ता चर्चित नाटक निर्देशन गरेका छन् । ‘मासिन्या’लाई लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले लेखेका हुन् । ‘मान्छेलाई आफ्नो कथा भन्नको लागि ठूलो हिम्मत चाहिने रहेछ,’ लेखक रुम्बाले भनिन्, ‘हामीभित्र मासिन्या कानुन लामो समयदेखि खिलजस्तै गढेर बसेको छ । हामीले तामाङ समुदायको दृष्टिकोणबाट सीमान्तकृत र बहिष्कृत समाजको कथा भनेका छौं ।’

यो नाटक निर्माणमा ताम्सालिङ संघर्ष समितिले पनि सघाएको छ । प्रेसमिटमा संघर्ष समितिमा पदाधिकारी पनि उपस्थित थिए । उनले गणतन्त्र आइसके पनि व्यावहारिक रुपमा मासिन्या कानुन यथावत् रहेको बताए ।

नाटक लेखक स्याङ्तानले नाटकले जंगबहादुरले मासिन्या कानुन ल्याएपछिको परिस्थितिलाई दर्शाउन खोजिएको बताए । ‘त्यो कथा सुनाउने समय पहिले थिएन । अब भने खुल्ला समाजलाई देखाउन जरुरी छ,’ उनले भने, ‘यो नाटक सिर्जनात्मक हस्तक्षेप हो ।’ फिल्म बनाउने सोच आएपछि नाटक खर्चिलो विधा भएकाले यो माध्यमबाट नाटक तयार भएको उनले बताए ।

‘हामीले विदेशीभन्दा हाम्रै मौलिक र माटोको स्वादको कथा भन्न जरुरी थियो,’ लेखक स्याङ्तानले भने, ‘यो सुन्दर तामाङ बस्ती रित्तिएको कथा हो ।’ तामाङ घेदुङका अध्यक्ष गोले तामाङले यो नाटकले सामाजिक दबाब बढाउन योगदान दिने बताए ।

डेढ घण्टा लामो नाटकको प्रिमियर बुधबार मण्डला थिएटरमा गर्ने तयारी छ । नाटकमा सोनम लामा, रोहनी लामा, रुपेश तामाङ, रमिता मोक्तान, विष्णु मोक्तान लगायतको अभिनय हुनेछ । नाटकमा ६० प्रतिशत तामाङ कलाकार रहेको र संगीतमार्फत पनि प्रस्तुत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?