+
+

नाटक ‘यौटा सपनाको अवसान’ अब ओटीटीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १२:२०

काठमाडौं । गत वर्ष मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा आउने भएको छ । अनुप बराल निर्देशित यो नाटक महिना दिनसम्म दर्शकले खचाखच थियो ।

दर्शकले अब कान्तिपुर सिनेमाज् ओटीटीमा यसलाई हेर्न पाउने छन् । निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नाटकलाई ओटीटी प्लाटफर्ममा रिलिज गर्ने जनाएका छन् ।

पोस्टरमा नाटकका मुख्य कलाकार दीया मास्के, मेनुका प्रधान, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं अटाएका छन् ।

निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । पहिलोपटक नेपाली नाटक वेब–सिरिजको रुपमा आउन लागेको हो । यो सिरिज कान्तिपुर सिनेमाजमा सात भागमा स्ट्रिमिङ हुनेछ ।

‘नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन, किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहना हुँदाहुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौं,’ निर्माता पराजुलीले भने, ‘उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौं ।’

नाटकले आर्थिक मन्दीमा फसेको परिवारको कथा प्रस्तुत गर्छ । एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको बताइएको नाटकमा न्ह्यू बज्राचार्यको संगीत, विप्लव प्रतीकको ट्रान्सक्रियसन र गीत छन् ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर नयाँ प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटलको रुपमा जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् ।

कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ । सिरिजको वैशाख १ गते प्रिमियर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?