+
+
ब्लग :

कसरी पत्याउँ यो देश बन्छ भनेर !

हामी अझै हाम्रै हजुरबुबाको पालाको देशमा छौं अनि देशका शीर्ष पार्टीमा उही हाम्रै हजुरबुबाका उमेरका नेताहरू छन्। अनि अझै कसरी पत्याउँ म यो देश बन्छ भनेर ?

सुरेश तिमल्सिना सुरेश तिमल्सिना
२०८० माघ १० गते १६:३५

मलाई थाहा छैन मेरो हजुरबुबाको पालामा देश कस्तो थियो, तर मलाई यति थाहा छ कि म अहिले मेरो हजुरबुबाकै पालाको देश र उही परिवेशमा बाँचिरहेको छु।

होला अहिले बाटो बने, सडक बने, खानेपानीमा विकास भयो, शिक्षामा सुधार भयो यस्तै यस्तै विकास त कैयौं भए तर दिगो अझै हुनै सकेन। दिगो भए त केवल पद पाएर देश हाँक्नेहरू किनकि उनीहरूले बारम्बार अवसर पाइरहे तर देश बनाउने हैन आफैं बन्ने। सोही कारण आज देशमा फरक यत्ति भेटियो।

हाम्रा हजुरबुबाहरू जन्मेर यहीं देशमा बाँच्न अनेक संघर्ष गर्नुभयो तर अब हामी बाँच्न कहाँ–कहाँ पुग्नपर्ने हो ? म र म जस्ता कैयौंको लागि आज यो एउटा गम्भीर प्रश्न भएको छ। के गर्ने, कहाँ गर्ने यस्ता यावत् प्रश्न। साँच्चै देश कहाँ छ ? कसको नियन्त्रणमा देश चलिरहेको छ ? खै जवाफ कसलाई सोध्नु। आजभोलि म हजुरबुबा अनि देश सम्झन्छु। हजुरबुबाको बेलाको देश अझै उस्तै छ। कहिलेकाहीं त लाग्छ यो देश बनाउँछु भन्नेहरू पागल हुन्। अझै भनौं महापागल। किनकि यहाँ देश बनाउँछु भन्नेहरू सबै आफू बन्ने हुन् अनि मात्र भन्ने हुन् देश बनाउँछु।

गाउँघरमा एउटा उखानै छ– ´जुन जोगी आए पनि कानै चिरेका`। हो त्यस्तै भइरहेको छ आज देशमा पनि। आशाका किरण बनेर आएकाहरू आँखामा छारो हाल्ने मात्र काम गर्छन्। गाउँघरमा रहेका खेतबारी बाँझो हुनथालिसके, बुढा बुबाआमाले मात्र घर थेग्दै आइरहेका छन्। आजभोलि न गाउँमा खुशी छ न उत्साह, उमंग नै। आजभोलि त मलाई गाउँ जान पनि मन लाग्दैन। गाउँमा आफ्ना उमेरका कोही छैनन्।

पहिला–पहिला दशैं आउँदा कम्ती रमाइलो हुन्थ्यो! घटस्थापनाको दिनदेखि सबै जम्मा भएर पीङ हालिन्थ्यो, खेल्ने पालो नपाएर राति–राति खेल्न जानुपर्थ्यो। तर आज ती पीङ हाल्ने कोही नहुँदा गाउँमा बाँसघारीका बाँस बूढो भएर ढल्न थालेका छन्। तिहारका फूल टिपेर माला लगाउने मान्छे नहुँदा बोटमै सुक्न थालेका छन् सयपत्री र मखमलीका फूलहरू। बिस्तारै हाम्रो सौन्दर्य हराउँदैछन्।

पर्यटकीय हिसाबले विश्वकै उत्कृष्ट मानिएको मेरो देश आज जसरी हिउँ पग्लिएर डाँडा सुख्खा देखिन्छन् त्यसरी नै देश सुख्खा बन्दैछ। यसरी नै अझै देश सुख्खा बन्दैगए हामीले सुख पाउन मुस्किल छ।

म आजभोलि खासै बाहिर हिंडडुल गर्दिनँ। विगत तीन महिनादेखि म जहाँ जान्छु, जो भेट्छु उनीहरूमा निराशा देख्छु। आफू आफैंमा उनीहरूको निराशाले झन् बोझ थपिएको महसुस गर्छु। मलाई लाग्थ्यो, यो देशमा चिन्ताले हर रात निदाउन नसक्ने म मात्रै छु। तर होइन रहेछ, म भ्रममा रहेछु यहाँ हर मानिस भविष्यको चिन्ताले निदाउन नसक्ने भइसकेछन्। केही व्यवसाय गर्नेहरू सटर बन्द गरेर बस्न बाध्य भइसके।

अनि देशमै केही गर्छु भन्नेहरूलाई देशले नचिन्दा पासपोर्ट बनाउने भीडमा मास्क लगाएर लाइन बस्न बाध्य। मंसिर भित्र्याएर खेत खाली भए जस्तै साँच्चै देश खाली हुँदैछ। डरलाग्दो कुरा के हो भने मेरै गाउँमा कोही मर्दापर्दा जसोतसो लास जलाउने त छन् तर किरियापुत्री बस्ने घरमा बिहान, दिउँसो र बेलुकी कुर्ने कोही छैनन्।

न देशमा रोजगार छ न केही गर्छु भन्नेलाई राहत। कृषि गर्छु भन्नेले समयमा बीउ पाउँदैनन्। बल्लतल्ल बीउ पाउँछन् तर मल पाउँदैनन्। जसोतसो उम्रेको बीउमा हाल्ने जल पाउँदैनन्। हामी पीडैपीडामा छौं। देशका कृषक नै पीडामा छन्। चिन्तित छन् उनीहरू उत्पादन नहुँदाको पीरले।

उत्पादन गरेको फलले उचित बजार मूल्य नपाएर बजार धाउँदाधाउँदा थाकिसके कृषकहरू। बाँच्ने आहारा फलाउनेहरू नै यति पीडामा छन् भने हामी कसरी बाँच्न सक्छौं पलपल रोएर। आज देश रोइरहेको छ। यो कसैको निराशा हैन। राज्यले दिएको आश्वासनको परिणाम हो।

विकासको आधारभूत पूर्वाधार मानिने स्वास्थ्य आज आफैं अस्वस्थ छ। अचम्म के छ भने स्वास्थ्य मन्त्रीकै नगरपालिकाको म अझै भनौं हामी सामान्य केही अप्रेसन गर्नुपरे राजधानी धाउनुपर्छ।

त्यहीं पनि पैसा भए बाँच्ने हो नत्र त उपचार नपाएर स्वर्गवास हुनुपर्छ। हामीलाई राज्यले मर्न बाध्य बनाउँदैछ। र मलाई लाग्दैछ हामी अझै देश बन्छ भन्ने ठूलो भ्रममा रहेछौं किनकि यहाँ केही गर्छु भनेर आएका बालेनहरूलाई बाल्न दिंदैनन् आशाको दियो, रविहरूले देखाउन पाउँदैनन् देश बनाउने छवि, हर्कहरू हुन सक्दैनन् हर्षित्। अन्तत: हामी अझै हाम्रै हजुरबुबाको पालाको देशमा छौं अनि देशका शीर्ष पार्टीमा उही हाम्रै हजुरबुबाका उमेरका नेताहरू छन्। अनि अझै कसरी पत्याउँ म यो देश बन्छ भनेर ?

 सिन्धुपाल्चोक, बाह्रबिसे हाल: भक्तपुर, बालकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?