+
+

पाकिस्तानलाई नेपालले दियो १९८ रनको मध्यम लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १७:३०

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चाैका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । नेपालका कुनै पनि ब्याटरले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका तीव्र गतिका बलर अहमद हसनले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमा आउट गर्दै सुरुवातमा दबाबमा राखेका थिए । अर्जुन बोल्ड र आकाश क्याच आउट हुन पुगेका थिए ।

नेपाल ६.५ ओभरमा ४३–२ को अवस्थामा थियो । कप्तान देव खनाल र विपिनले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै नेपाललाई एउटा राम्रो योगफलको लोभ देखाएका थिए ।

तर देव स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएपछि नेपाल खेलमा फसेको थियो । देवपछि नेपालले लगातार डट र विकेट गुमायो । सिनियर टोलीबाट खेलेका गुलशन झाले ४७ बलमा बिना बाउन्ड्री १८ रन बनाएर आउट भए ।

उनी तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा टप एज लागेर मिडअफमा अरफत मिन्हासबाट क्याच आउट हुन पुगेका थिए । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे २६ रनमा आउट भए । डुम्रेले खेलमा १ छक्का हानेका थिए ।

तल्लोक्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।

पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अली असफन्डले १० ओभरमा मात्रै १५ रन खर्चेर १ विकेट लिए ।

अहमद हसनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उबेद साहले २, खुबैब खलिल र मोहम्मद जिशानले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?