+
+

करिब डेढ खर्ब ऋण लिने नेपाल एयरलाइन्सको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:४०

१० माघ, काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स (वायुसेवा निगम) ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ ।

सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो ।

१ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए ।

यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए ।

नेपाल एअरलायन्सले के गर्न खोज्दै छ ऋण लिएर?

प्रवक्ता पौडेलका अनुसार यो रकम आगामी १० वर्ष भित्र लिइसक्ने योजना छ । त्यसमध्ये कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न ४८ अर्ब ऋण तत्काल लिने र अन्य रकम भने फण्ड सुरक्षित गरी राख्ने योजना छ ।

‘जुन बेला निगमलाई जहाज किन्न पैसा चाहिन्छ, सम्झौता अनुसार सोही कम्पनीबाट ऋण लिने भन्ने योजनासहित अगाडी बढेका हौं,’ उनले भने ।

निगमको १० वर्षे कार्ययोजना कार्यान्वयन गर्न आवश्यक रकमको जोहो गर्न सहुलीयतपूर्ण ऋण खोजिएको भन्दै उनले यसको प्राप्ति १० वर्ष भित्रै हुने र तत्काल यो सबै पैसा नलिइने उनले बताए ।

निगमको कार्ययोजनामा १० वर्ष भित्र १२ वटा जहाज थप्ने योजना छ । नेपाल भित्र मंहगो ब्याजदरको मात्र रकम हुने भएकाले विदेशी कम्पनीबाट यस्तो रकम आउने सक्ने अनुमानसहित अन्तर्राष्ट्रिय आषय पत्र निकालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?