+
+

भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते ८:४९

११ माघ, काठमाडौं । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आजै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार)मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वर्षाको सम्भावना तत्काल देखिएको छैन ।

तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । ‘माथिल्लो वायुमण्डलमा बादलहरु आउँदाखेरि तल्लो वायुमण्डलमा रहेको हुस्सु कुहिरो लाग्दैन,’ उनले भने, ‘त्यसले हुस्सु कुहिरो चाँडै फाट्न मद्दत गर्छ ।’

उनले आजै पश्चिमी वायुको एउटा प्रणाली भित्रिएकाले मध्य र पूर्वी तराईमाको तुलनामा पश्चिम तराईमा हुस्सु कुहिरो छिटो खुल्ने सम्भावना रहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढी र बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।

उनका अनुसार विराटनगरमा ५०० मिटर, धनगढीमा १५ सय मिटर, भैरहवामा १८ सय मिटर पारदर्शिता छ । दाङको घोराहीमा भने पारदर्शिता ६ हजार मिटर रहेको पुडासैनीले जानकारी दिए ।

नेपालमा हिउँदयाम सकिनै लाग्दा समेत पानी परेको छैन । हाल नेपाल भित्रिएको पश्चिमी वायुको प्रणालीमा पानीको मात्रा कम भएकाले वर्षा नभएको हो ।

आज दिउँसो र राति कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?