+
+
राष्ट्रिय सभा सदस्य चुनाव :

लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:४१

११ माघ,बुटवल । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।

गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा उनको ठाउँमा संस्थापन पक्षले अर्घाखाँचीकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको थियो तर संस्थापन इतरले चर्को विरोध गरेपछि अन्तिममा सापकोटालाई टिकट दिइएको थियो ।

अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए । भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?