+
+

सुदूरपश्चिममा माओवादी विवाद उत्कर्षमा, बहुमत सांसदले हटाए दल नेता

जनक विष्ट जनक विष्ट
२०८० माघ १२ गते २०:०८

१२ माघ, धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभाका बहुमत सदस्यहरुले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार ६ जना प्रदेश सदस्यहरुको बैठक बसेर भट्टलाई हटाउँदै प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको छ ।

उपनेता रहेका अक्कलबहादुर रावल, मानबहादुर धामी, ओमविक्रम भाट, शिवसिंह ओली, गीत देवी माल र लक्ष्मी बिकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । दलको नेता फेर्ने निर्णय लिएका रावल, बहुमत सदस्यको भावना पार्टी केन्द्रले सुनवाइ नगरेकाले वाध्यकारी कदम चाल्नु परेको बताए ।

‘उहाँ (खगराज) को कार्यसम्पादन लगायत विषय केन्द्रमा जानकारी दिएका थियौं, तर समयमै सुनवाइ नभएका कारण बहुमत सदस्यले यो निर्णय गरेका हौं’, उनले भने ।

दलको नेताबाट हटाइएका भट्टले भने अस्वाभाविक र अप्रत्यासित निर्णय भएकाले यसको निकास पार्टी केन्द्रले दिनुपर्ने बताए ।

‘यसको गहिराइसम्म पुगेर अध्ययन हुनुपर्छ । सबै विषय प्रक्रियामा हुनुपर्छ’, भट्टले भने, ‘यो सिंगो पार्टीको विषय हो । पाँच/सात जनाले पार्टीको भविष्य निर्धारण गर्न सक्दैनन् । यसको हल पार्टीले नै गर्छ ।’ तर शुक्रबार भएको निर्णय नेता भट्टले भनेजस्तो अप्रत्यासित होइन । यो विवादको लामै घटनाक्रम छ ।

थालनि भने भट्ट प्रदेशसभा झरेपछि भएको हो । २०६४ सालदेखि डडेलधुराबाट प्रतिनिधिसभा (पहिलो र दोस्रो संविधानसभा सहित) चुनाव लड्दै आएका आफैं पनि प्रदेशसभामा जान तयार थिएनन् ।

तर पाँच दलीय गठबन्धनमा डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छोड्नुपर्ने भयो । लगातार देउवासँगै प्रतिस्पर्धा गरिरहेका भट्टलाई प्रदेशसभामा लैजाने क्रममा मुख्यमन्त्रीको आश्वासन दिइयो ।

देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बन्नेगरी प्रदेशसभामा जान भट्टलाई आग्रह गरिएको थियो, जसअनुसार भट्ट डडेलधुरा (क) बाट निर्वाचित भए ।

देउवा र प्रचण्डको वचन बमोजिम स्वभाविक रुपमा भट्ट दलका नेता हुने थिए । मुख्यमन्त्रीकै दाबी नहुँदा पनि भट्ट माओवादी केन्द्रकै शीर्ष नेता भएकाले स्वभाविक दावेदार हुने नै भए । जबकी संसदीय दलको नेतामा ओमविक्रम भाट र अक्कल रावलको पनि दाबी थियो । उनीहरुलाई मुख्यमन्त्री बन्ने गरी भट्ट प्रदेशसभा सदस्य बनेको मन परेको थिएन ।

तर पार्टी केन्द्रको निर्णय लागू भयो । दलको नेता हुँदै भट्ट बिना विभागीय मन्त्री सहित सरकारमा सहभागी भए । त्यसबेला नेकपा एमाले नेता राजेन्द्र रावलको नेतृत्वमा सरकार बनेको थियो । तर एक महिनामै माओवादी केन्द्रले समीकरण बदल्यो ।

‘उहाँसँग हाम्रो सैद्धान्तिक विमती थिए । त्यसको हल गर्न पटकपटक सुझाव दिएका थियौं, तर उहाँ तयार नभएपछि बाध्य भएर संसदीय प्रक्रिया अनुसार निर्णय लिइएको हो’, धामीले भने ।

समीकरण फेरिएपछि आलोपालो मुख्यमन्त्री बन्ने शर्तसहित भट्टले कांग्रेसका नेता कमलबहादुर शाहलाई समर्थन गरे । समीकरण फेरिएपछि प्रदेश सरकार विस्तार गर्दा भाट र रावल दुवैले मन्त्री बन्न चाहेका थिए ।

उनीहरूले काठमाडौं आएर प्रचण्डलाई नै भेटेर मन्त्री बन्ने सुनिश्चितता गरेका थिए । र दलका नेता भट्टले रमेश धामी र झपड साउदलाई मन्त्री बनाए । आफू इतर पक्षमा खुलेकी गीतादेवी माललाई राज्यमन्त्री बनाए ।

आफूले मन्त्रीको दावी गरेको, तर भट्टले राज्यमन्त्री दिएको भनेर असन्तुष्ट बनेकी मालले अहिले संसदीय दलबाट उनलाई हटाउने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

आफू मुख्यमन्त्री बन्ने शर्तमा भट्टले मन्त्री बन्नबाट रोक्न भूमिका खेलेको बुझाइ भाट र रावलको थियो । त्यसपछि भाट र रावल पक्षले भट्टविरुद्ध लागे । उनीहरुले दलको नेताको भूमिका प्रभावकारी नभएको आरोप लगाए ।

भट्टले पनि संसदीय दलभित्रै आफूलाई रहेको सन्देश पार्टी नेतृत्वलाई दिँदै आएका थिए । एकअर्काविरुद्ध लाग्ने क्रममा संसदीय दलका नेता भट्ट र सरकारका मन्त्रीहरुले काम गर्न नसकेको गुनासो सहित सभामुख रहेका भीम भण्डारी सहित ६ सांसद गत गत २१ पुसमा प्रचण्डलाई भेट्न आएका थिए ।

भेटका क्रममा उनीहरूले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने मागपत्र समेत राखे । सँगै, बहुमत प्रदेशसभा सदस्यको भावनाको सम्मान नभए संसदीय परम्परा बमोजिम बढ्ने चेतावनी पनि दिएका थिए । ‘संसदीय दलका बहुमत सदस्यहरूको भावनाअनुसार अगाडि नबढे दलको विधान र संसदीय परम्परा अनुसार अगाडि बढ्ने सम्मानीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष कमरेडलाई जानकारी गराउँछौं’, ज्ञापन पत्रमार्फत् चेतावनी दिएका थिए ।

आफूमाथि लागेको आरोप गलत भएकाले अन्तिम निर्णय पार्टीले लिनुपर्ने भट्ट बताउँछन् । ‘उनीहरूले भनेको एकदमै गलत कुरा हो । पार्टीले प्रक्रिया थालेपछि सबै कुरा बाहिर आउँछ’, भट्टले भने, ‘संसदीय दल आफैंमा सबै चिज होइन । पार्टीले बनाएका माननीय हुन्, पार्टीले नै बनाएको संसदीय दल हो । मन्त्रीहरू पनि पार्टीले बनाएका हुन् ।’

तर शुक्रबार दलको नेतामा चयन भएका मानबहादुर धामीले संसदीय प्रणालीकै प्रक्रियाअनुसार निर्णय लिइएको बताए । ‘उहाँसँग हाम्रो सैद्धान्तिक विमती थिए । त्यसको हल गर्न पटकपटक सुझाव दिएका थियौं, तर उहाँ तयार नभएपछि बाध्य भएर संसदीय प्रक्रिया अनुसार निर्णय लिइएको हो’, धामीले भने ।

भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको निर्णय प्रदेशसभा सचिवालयमा समेत पुगिसकेको छ । अब यो निर्णय कार्यव्यवस्था परामर्श समिति हुँदै प्रदेशसभा बैठकमा सभामुख भण्डारीले जानकारी दिनेछन् ।

प्रदेश सचिवालयमा निर्णय पठाएर भट्ट इतर पक्षको बैठक समेत शुक्रबार नै बसेको छ । धामीको अध्यक्षतामा बैठक राखेर मन्त्रीहरु फेर्ने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

माओवादी सुदूरपश्चिमभित्र देखिएको यो विवादमा पार्टी केन्द्रको गुटगत असर समेत परेको कतिपय नेताहरु बताउँछन् । सुदूरपश्चिममा भट्ट उपमहासचिव जनार्दन शर्मा र भाट–रावलहरु अर्का उपमहासचिव वर्षमान पुन नजिक मानिन्छन् ।

गत पुसमा प्रचण्डलाई ज्ञापनपत्र बुझाउन आएको भट्ट इतर पक्षका नेताहरुले पनि जनार्दन शर्मालाई भेटेका थिएनन् । उनीहरुले प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पुन र सुदूरपश्चिम इन्चार्ज डोरप्रसाद अर्याललाई मात्रै भेटेका थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?