+
+

सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १३:२०

१३ माघ, पोखरा । सानै उमेरमा गीत गाएर नाम चम्काएका सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । सरुभक्त केन्द्रले सुप्रिमलाई ५० हजार रुपैयाँ नगद राशीसहित सम्मानपत्र प्रदान गर्ने भएको हो ।

२०६९ सालसम्म ८ जना बालबालिका पुरस्कृत गरिसकेको केन्द्रले ११ वर्षपछि फेरि पुरस्कारलाई निरन्तरता दिन लागेको छ । अगामी माघ ७ गते पोखरामा एक समारोहकाबीच सुप्रिमलाई बालप्रतिभा पुरस्कार प्रदान गरिने केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सहित्यकार सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले सुप्रिमको नाम सिफारिस गरेको हो । ५० हजार रुपैयाँ नगदसहित मल्ललाई पोखरामा सम्मान गरिने श्रेष्ठले जानकारी दिए ।

बलप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्तले बाबु गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष बनाएका छन् । त्यही अक्षयकोषमार्फत बालप्रतिभालाई पुरस्कृत गरिने सरुभक्त केन्द्रले जनाएको छ ।

१६ वर्षमुनिका प्रतिभावान बालबालिकालाई प्रदान गरिने पुरस्कार यसपटक सानै उमेरमा गायन क्षेत्रका प्रतिभा सुप्रिमलाई छनोट गरिको संयोजक सरस्वती प्रतीक्षाले जानकारी दिइन् ।

११ वर्षको उमेरमै गीत गाएर चर्चा बटुलेका सुप्रिमले अहिलेसम्म १९० वटा लोक–अधुनिक गीत गाइसकेका छन् । काठमाडौं महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी गायन सम्बन्धी रियालिटी सो ‘भ्वाइस अफ किड’ को पहिलो सिजनमा फस्ट रनरअप भएका छन् ।

उनले लोक तथा दोहोरी, आधुनिक, चलचित्र, बाल, देशभक्ति गीतसँगै देउडा, सालैजो, ठाडोभाका, गजल, पुर्वेली, लिम्बु, किराँती, मधेसी लगायतका भाषाभाषीका गीतमासमेत स्वर भरेका छन् ।

विभिन्न मेला–महोत्सव र कार्यक्रममा पनि सुप्रिमलाई भ्याइनभ्याइ हुने गरेको छ । विख्यात साहित्यकार सरुभक्तको सम्मानमा स्थापना गरिएको केन्द्रले सुरुमा पोखराकै कुमुदिनी होम्सको सहकार्यमा पुरस्कार प्रदान गर्न थालिएको थियो ।

यो पुरस्कार मूलतः साहित्य, कला, संगीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउने प्रतिभालाई पुरस्कृत गरिने परिकल्पना रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

२०५६ सालमा स्थापित राष्ट्रिय बालप्रतिभा पुरस्कारको अक्षयकोष १ लाख रहेकोमा हाल दश लाख पचास हजार थपेर ११ लाख पचास हजार बनाइएको हो । २०५७ सालदेखि २०६९ सालसम्म यो पुरस्कार निरन्तर प्रदान गरिँदै आएको थियो ।

यसअघि राष्ट्रिय बालप्रतिभा पुरस्कार २०५७ बाट पर्वतारोहण क्षेत्रकी तेम्बाछिरी शेर्पाले पाएका थिए । उनी १६ वर्ष मुनिका पुरुषतर्फ विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही हुन् ।

यस्तै २०५८ मा नृत्य क्षेत्रकी ज्योती थापा, २०६० मा गायनक्षेत्रकी ऋतु लामा, २०६१ मा कलाक्षेत्रकी शिखा कटुवाल, २०६२ मा कलाक्षेत्रकी करुणा गुरुङ, २०६४ मा खेलकुद क्षेत्रकी सिपोरा गुरुङ यस पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

यस्तै २०६५ मा विज्ञान तथा प्रविधि क्षेत्रका कुशल केसी, २०६९ मा पर्वतारोहण क्षेत्रकी निमा छ्याङ्दी शेर्पा सो पुरस्कारबाट सम्मानित भएका थिए । निमा १६ वर्ष मुनिको महिला तर्फकी विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही हुन् ।

२०६९ सालपछि लामो समय स्थगित भएको राष्ट्रिय बालप्रतिभा पुरस्कार अबका दिनहरुमा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारको नाममा वितरण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?