+
+

बन्द खामदेखि ४५ वर्षसम्म लेखिएका सरुभक्तका मुक्तकहरु एउटै संग्रहमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ८:४५

पोखरा । २०३५ साल यही बेला पोखरा उद्योग वाणिज्य संघको हलमा नेपालमै नौलो र ऐतिहासिक साहित्यक कार्यक्रमको दैलो उघारिएको थियो, ‘टिकटमा मुक्तक’ । पहिलो पटक टिकट काटेर मुक्तक सुन्ने चलनको जग हालेको कार्यक्रमको प्रमुख मुक्तककार थिए, हरिभक्त कटुवाल ।

सो टिकटमा मुक्तक कार्यक्रम गर्ने आयोजना पोखरेली युवा सांस्कृतिक परिवारका सचिव थिए, सरुभक्त । हरिभक्तलाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यक्रम गरेपछि नै सरुभक्तले पहिलो कृति प्रकाशित गरेका थिए, बन्द खामभित्र मुक्तक संग्रह ।

पहिलो पटकमा मुक्तक कार्यक्रमकै ठाउँमा उही समय ४५ वर्षपछि प्रख्यात साहित्यकार सरुभक्तको पछिल्लो कृति लोकार्पण भएको छ, सरुभक्तका मुक्तकहरु । ३० को दशकबाटै मुक्तक लेख्न थालेका सरुभक्तले पहिलो कृति पनि मुक्तक नै निकालेर साहित्यमा पाइला टेकेका थिए भने पछिल्लो कृति पनि मुक्तककै आएको छ ।

सरुभक्तका अहिलेसम्म प्रकाशित र अप्रकाशित गरी गत सालसम्म लेखिएका सबै मुक्तक एउटै संग्रहमा पाठकले पढ्न पाउने भएका हुन् । ‘आज ४५ वर्षपछि मुक्तकको अर्को शिलान्यास भएको छ,’ सरुभक्तका सहपाठीसमेत रहेका साहित्यकार तीर्थ श्रेष्ठले यो संयोगलाई जोडे, ‘निरन्तर साधकका रुपमा रहनुभएका सरुभक्तको समग्र मुक्तकहरुको एउटै संग्रह प्रकाशित भएको छ । यस ४५वर्षमा महत्वपूर्ण काम भएको छ । ’

‘सरुभक्तका मुक्तकहरु’ वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले आइतबार पोखरामा लोकार्पण गरेका छन् । ३० सालतिरै मुक्तक तथा साहित्यानुरागी भेला हुने, छलफल गर्ने बेलादेखि नै आफू घुलमिल भएको बताउँदै वात्स्यायनले निरन्तरको लगाव र दार्शनिक धरातलले नै सरुभक्तलाई सरुभक्त बनाएको बताए ।

मुक्तकबाट पुस्तक प्रकाशन थाले पनि सरुभक्तले मदन पुरस्कारसमेत प्राप्त गरेको पागलबस्ती र विभिन्न विधाका प्रकाशित कृतिले ख्याति कमाएका छन् । शून्यवादी दर्शनका अभियन्ता सरुभक्तले नेपाली साहित्यमा अलग्गै छाप छोडेका छन् भने निरन्तर मुक्तक लेखन पनि जारी राखेका छन् ।

मुक्तक प्रतिष्ठान र मुक्तक मञ्च पोखराको आयोजनामा आइतबार लोकार्पण भएको सरुभक्तको मुक्तक संग्रह बन्द खामभित्र, हजार बुद्धहरु र प्रेमयात्रा गरी ३ वटा मुक्तक संग्रह प्रकाशित छन् भने जीवन यात्रा र समय यात्रा गरी २ कृति प्रकाशनको तयारीमा थिए । तर, ती सबै र गतसालसम्म लेखिएका मुक्तक समेटेर सरुभक्तका मुक्तकहरु नाम दिएर नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।

मुक्तकलाई विश्वव्यापी बनाउने काम पोखराले नै गरेको र नेपाली मुक्तकको उन्नयनमा पोखराको छुट्टै इतिहास लेखिनुपर्ने मुक्तककार रमेश पौडेलले बताए ।

युवाअवस्थामा पञ्चायतकालमै मुक्तकप्रतिको अनुरागले लेखन र कार्यक्रम गरेका सरुभक्त अहिले आफूले मुक्तक लेख्नुभन्दा पनि मुक्तकले आफूलाई लेखाएको बताउँछन् ।

प्रकाशित सरुभक्तका मुक्तक बिक्रीमार्फत मुक्तक विधामै पुरस्कार र सम्मानका निम्ति अक्षयकोष स्थापना गरिने मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार डा. रुपक श्रेष्ठले बताए ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा खचाखच दर्शक, स्रोताबीच सरुभक्तले मुक्तक लेखनका आरोहअवरोह र विगत स्मरण गर्दै आफ्ना केही मुक्तकसमेत सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?